पाँचखाल/ आत्मनिर्भर बहुउदेश्यीय सहकारी संस्था लि. ले ५० प्रतिशत अनुदानमा कृषकहरूलाई कृषि यान्त्रीकरण तथा सामाग्री वितरण गरेको छ ।
कृषि विकास कार्यलय काभ्रेपलाञ्चोक र सहकारी संस्थाको साझेदारीमा किसानहरूको कृषि उत्पादनमा वृद्धि तथा आधुनिकरण गर्नका लागि कृषि यान्त्रीकरण र सामग्री वितरण गरेको हो ।
आधुनिक कृषि यान्त्रीकरणको प्रयोगबाट कृषि उत्पादन र उत्पादकत्व वृद्धि पुग्ने अपेक्षा सहित स्थानीय किसानहरूलाई ५ सय ५० केजी धान, ११ थान मिनी टिलर, २ थान थ्रेसर, १२ धान सुकाउने त्रिपाल लगायतका उपकरणहरू वितरण गरिएको छ ।वितरण गरिएको कृषि औजारले उत्पादकत्वमा वृद्धिसँगै उत्पादनमा गुणात्मक सुधार ल्याउने हुनाले यस कार्यक्रमले क्षेत्रमा कृषिमा यान्त्रीकरण र सहकारीको प्रभावशाली भूमिका देखाएको छ।
सामाग्री हस्तान्तरण गर्दै पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आधुनिक कृषि उपकरणहरूको प्रयोगले कृषकहरूको उत्पादन वृद्धि हुने भएकाले अनुदानमा पाएको उपकरणलाई दुरुपयोग नगरी उचित प्रयोग गर्नु बताउनुभयो ।
सहकारीमार्फत किसानहरूको क्षमता अभिवृद्धि , आधुनिक कृषि उपकरणको प्रयोग र आत्मनिर्भरता प्रवद्र्धन गर्न निरन्तर काम भइरहेको आत्मनिर्भर बहुउदेश्यीय सहकारी संस्था लि. का
अध्यक्ष केदार प्रसाद सापकोटाले जानकारी दिनुभयो । कृषकहरुको माग र आवश्यकताको आधारमा यान्त्रीकरण तथा अन्य सामाग्रीहरु वितरण गरिएको उहाँले जानकारी दिनु भयो ।
कार्यक्रममा कृषि विकास कार्यालय धुलिखेलका प्रमुख कुलप्रसाद दवाडी, पशुसेवा कार्यालय धुलिखेलका प्रमुख सृजा वाग्ले, पाँचखाल नगरपालिका प्रवक्ता संजय तामाङ, संस्थाका सहसचिव अप्सरा अधिकारी लगायतको सहभागिता रहेको थियो ।