पनौती /मनसुन अघि नै आएको बाढि पहिरोवाट काभ्रेका किसान मारमा परेका छन । किसानले लगाएको आलु गोलभेडा लगायतको बाली बाढि पहिरोले नष्ट गरेको हो । पनौती ८ को शान्तिमार्ग र काफलमार्गमा मात्र ५ सय भन्दा बढी टनेल र त्यसमा लगाइएको तरकारी खेतीमा वैशाखकै बाढिले क्षति गरेको छ । जेठ पहिलो साताको बर्षाले थप क्षति गराएको छ । गत असोजको बाढीले बगाएर ल्याएको ढुंगामाटोका कारण स्थानीय लिलावती खोलाको सतह बढेको तर त्यसलाई खार्न ध्यान नदिँदा वैशाख २९ को बाढी आसपासको खेतवारीमा पसेर क्षति भएको हो । २०८१ साल असोज १० गतेदेखि १२ गतेसम्म भएको वर्षा, बाढी र पहिरोले काभ्रेको कृषि क्षेत्रमा मात्रै करोडौंको क्षति भएकोमा यो बर्ष पुरानै घटना दोहोरिएको हो । कृषि विकास कार्यालयका अनुसार बैशाख २९ गतेको बर्षा र बाढीले ७ सय रोपनी जग्गामा लगाइएका आलु र तरकारी तथा ३–४ सय रोपनी जग्गामा लगाएर भर्खर उम्रिएका मकै नष्ट भएको छ । कृषि विकास कार्यालय काभ्रेको तथ्यांक जिल्लाका १३ स्थानीय तहमा एक हजार ७८४ हेक्टर क्षेत्रफलमा लगाइएको ८ हजार ९८६ मेट्रिकटन धान, मकै, तरकारीलगायत बालीनाली नष्ट हुँदा ५६ करोड ६१ लाख रुपैयाँ बराबरको नोक्सान भएको छ । त्यतिवेला सबैभन्दा धेरै तरकारी बालीमा ४५ करोड दुई लाख, धान बालीमा ७ करोड ३८ लाख र मकै बालीमा तीन करोड ४३ लाख मूल्य बराबरको क्षति भएको थियो ।