पाँचखाल/कुनै समयमा विषादीको कारण बदनाम भएको पाँचखालको तरकारीको अवस्था विस्तारै सुधार हुन थालेको छ । विषादी धेरै भएको प्रचारका कारण तरकारी नबिकेर सडकमै फाल्नुपर्ने र कुहिने अवस्था केही समयदेखि पाँचखालमा नदेखिएको नगरपालिकाको दाबी छ । हालैमात्रै विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ कालीमाटीका प्राविधिकहरुले कृषकका खेतबारीमै पुगेर परीक्षण गरेको प्रतिवेदनले पनि पाँचखालको तरकारी ढुक्कले खान सकिने प्रमाणित भएको छ । प्राविधिकहरुद्वारा सङ्कलित विभिन्न १५ जातका तरकारी परीक्षण गर्दा विषादीको मात्रा प्रतिशत निकै कम देखिएको हो । पाँचखालको तरकारी तरकारी ‘सुरक्षित र खानयोग्य’ रहेको परीक्षणले देखाएको प्राविधिकले बताएका छन । भण्टा, घिरौला, गालेभेंडा, बुलेट खुर्सानी, बन्दा, हरियो फर्सी, भेंडे खुर्सानी, रायोको साग, लौका, तुनेबोडी, काँक्रो, हरियो धनियाँ, भिण्डी, तितेकरेला, सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा न्युन विषादी प्रयोग भएको पुष्टि भएको हो । नगरलाई विषदीरहित तरकारी उत्पादनको लागि पाँचखाल नगर प्रमुख महेश खरेलले पहिलो कार्याकल देखिनै कार्ययोजना बनाएर पाँचखालमा विषादीरहित ताजा तरकारी उत्पादन र स्वच्छ पिउने पानीलाई पहिलो प्राथमिकता राखेको बताउँदै आउनुभएको छ । आगामी कार्य भनेको पाँचखालमा उत्पादन भएको तरकारीको पाँचखालमै नियमित रुपमा परिक्षण गरि ग्रेडिङ्ग‚ लेवलिङ र प्याकेजिङ गरि बजारमा र्पुयाउने कार्यलाई अगाडि बढाउनु रहेको नगरप्रमुख खरेलको भनाइ छ । विषादीमुक्त पाँचखाल बनाउने अभियान अन्तर्गत नगरपालिका र लवग्रिन नेपालले विद्यालय तहदेखिनै विषादीबारे जानकारी, प्रयोग तथा असरबारे जानकारी गराउँदा निकट भविष्यमा विषादी न्यूनीकरणमा ठूलो मद्दत पुग्ने अपेक्षासहित पाँचखाल नगरका १३ सामुदायिक तथा सात निजी माध्यमिक विद्यालयका विद्यार्थीलाईसमेत सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।विद्यार्थीलाई कक्षामै अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य, कृषि पर्यायवरण प्रणाली तथा वातावरणमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट सचेतना गराउँदै आएको लवग्रिन नेपालका निर्देशक नारायण ज्ञवालीले जानकारी दिनुभयो । नगरपालिकाले विगत ३३ वर्ष देखि पाँचखाललाई केन्द्र बनाएर विकास निर्माण साथै हरियाली विस्तार कार्यमा निरन्तर रुपमा कार्य गर्दै आएको लव ग्रीन नेपाल नामक संस्थासँग सहकार्य गरेर पाँचखाल नगरमा उत्पादन हुने ताजा तरकारीमा विषादीरहित बनाउने अभियान अघि बढाइरहेको छ । नगर प्रमुख खरेलले कृषकलाई जैविक विषादी निर्माणार्थ नियमित तालिम, तरकारी तथा अन्य बालीमा जैविक विषादीको प्रयोग र विद्यालयस्तरदेखिनै विषादीविरुद्धको चेतनामुलक कार्यक्रम, नगरले माटो परीक्षण, माटोको क्षमता सुधारका लागि चुन वितरण लगायतका कार्यक्रमले गर्दा पाँचखाल नगर क्षेत्रमा रासायनिक मल तथा विषादीको प्रयोग न्यून बन्दै गएको जानकारी दिनुभयो । पाँचखालको विभिन्न स्थानमा दर्जनौं कृषक पाठशालाको व्यवस्था गरी कृषकहरूलाई आईपीएम तरिकाबाट खेती गराउदा अवस्थामा सुधार आएको नगरको भनाइ छ । हालसम्म नगरका एक हजार दुई सय अगुवा कृषकले विभिन्न चरणमा उक्त कृषक पाठशालामा अध्ययन गरिसकेका छन् ।