
ढुंखर्क/काभ्रेको बेथानचोक गाउँपालिका वडा नं २ का लक्ष्मण वाईबा एक कर्मशिल किसान हुन । ढुंखर्कका अधिकांश बारीहरूमा यतिबेला मकैले धानचमरा हाल्ने तरखर गरिरहेको छ , तर वाईबाको बारीमा फलेको स्याउले भने बजार कुरिरहेको छ ।
हरिया पातबीच राताम्य स्याउका दाना, हाँगा नै झुक्ने गरी लटरम्म फलेका ती स्याउहरूलाई देख्दा यहाँ पुग्ने जो कोहीको मुख रसाउने गर्दछ । बेथानचोकको एउटा पाखोमा फलेका ती राताम्य स्याउले आज एउटा सन्देश दिइरहेका छ।
लकडाउनको समयमा करिब ६ रोपनी पाखो जमिनमा स्याउका बिरुवा रोप्नुभएको थियो। आज त्यही बगैंचामा ‘डेलिसियस’ र ‘गाला’ जातका स्याउ लटरम्म फलेका छन्। चार वर्षकै बोटमा हाँगा भाँचिने गरी फल लाग्दा उहाँको अनुहारमा सन्तुष्टिको मुस्कान झल्किन्छ।
यो सफलताको पछाडि कुनै ठूलो लगानी छैन। उहाँ र उहाँकी श्रीमतीको निरन्तर श्रम, धैर्य र लगावले उजाड पाखोलाई फलफूलको बगैंचामा रूपान्तरण गरेको हो। अहिले त्यही बगैंचा परिवारको आम्दानीको स्रोत मात्र होइन, स्थानीय किसानका लागि प्रेरणाको केन्द्रसमेत बनेको छ।
वाईबाको कथा केवल स्याउ उत्पादनको सफलता होइन। यो चुनौतीसँग जुध्ने साहस, आफ्नै माटोप्रतिको विश्वास र श्रमको सम्मानको कथा हो। उहाँको बगैंचामा फलेका प्रत्येक स्याउले सम्भावनाको स्वाद चखाइरहेका छन् भने उहाँका शब्दहरूले स्वदेशमै भविष्य खोज्न सकिने आशा जगाइरहेका छन्।
आफ्नै बगैंचाको रसिलो स्याउ हातमा समातेर युवापुस्ताप्रति लक्षित गर्दै वाईबाले भने “हामी नेपालीहरू सुनको कचौरा बोकेर भीख मागिरहेका छौं। आफ्नै देशमा अथाह सम्भावना छ। यही माटोमा सुन फलाउन सकिन्छ। विदेशमा बगाउने पसिना आफ्नै खेतबारीमा बगाउन सके जीवन बदलिन धेरै समय लाग्दैन।”
व्यावसायिक कृषिमा लागेका किसानले राज्यबाट अपेक्षित सहयोग नपाएको गुनासो उहाँको छ। सरकारले कृषिमा अनुदानको व्यवस्था गरेको बताइए पनि वास्तविक किसानसम्म त्यसको पहुँच नपुगेको उहाँको अनुभव छ। अनुदानको धेरै चर्चा हुन्छ, तर माटोसँग जीवन जोडेर काम गर्ने किसानसम्म त्यो सहज रूपमा पुग्दैन। पहुँच हुनेले अवसरले मात्र राज्यबाट कृषि अनुदान पाउनाले वास्तविक किसान अन्यायमा परेको उनले गुनासो गरे ।