कृषि कर्मबाट केही गर्ने अठोट ट्राउट हाउस तथा मिनी रिसोर्ट चलाउँदै विजय

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ जेष्ठ २०, मंगलबार (१ महिना अघि)
  • ५३२ पटक पढिएको

कृषि कर्मबाट केही गर्ने अठोट ट्राउट हाउस तथा मिनी रिसोर्ट चलाउँदै विजय

एक युवा जसको आफ्नै ठाउँमा बसेर जानेको काम गर्दै जिवनयापन गर्ने सपना थियो । जुन, सपना साकार गर्न करिब २ वर्ष अगाडी ट्राउट माछा पालन सुरु गर्नुभएको थियो । व्यवस्थापनमा स्नातक गर्नुभएका उहाँलाई न त कहिले विदेशीने सोच आयो न त अरुकोमा जागिर नै गर्नुपर्छ भन्ने मानसिकता रह्यो । अहिलेको उहाँको सपनाले सार्थकता पाएको छ । उहाँको नाम हो विजय के.सी. ।
पनौती नगपालिका वडा नं. १२ रोशीमा उहाँको स्थायी घर छ । घरबाट ३ किलोमिटरको दुरीमा उहाँको खाली रहेको जग्गा थियो । पुख्र्यौली पेशा कृषि, आफुले सानोमा बुबा आमाले त्यही काम गर्दै गरेको देखेर हुर्किएकाले कृषि गरेर जिवनयापन गर्न सकिन्छ भन्ने मानसपलटमा बसेको थियो । आफुले पनि यसमा नयाँ तौर तरिका अपनाएर काम गरियो भने आयआर्जनको लागि अन्त जानुपर्दैन भन्ने लाग्यो । सोहीअनुरुप पञ्चकन्या कृषि फर्मको यात्रा अगाडी बढ्यो । यसलाई वृहत बनाउने उद्देश्यका साथ लामाले मिनी रिसोर्ट पनि खोल्ने योजना बनाउनुभयो । यसमा सहकार्यको लागि अरु २ जना साथीलाई पनि बोलाउनुभयो र थालनी भयो, अनि नाम रह्यो “पञ्चकन्या ट्राउट हाउस एण्ड मिनी रिसोर्ट ।”


पञ्चकन्या ट्राउट हाउस एण्ड मिनी रिसोर्टमा लगानी २ करोड पुगिसक्यो । रिसोर्टमा एक रातमा २५ जनासम्म राख्न मिल्ने क्षमता छ । दिनमा ६० जनासम्म बस्न सकिन्छ । पहाडी क्षेत्र भएकाले हावापानी निकै राम्रो छ । मूलबाट बग्ने सफा पानी र त्यही पानीमा गरिएको माछा पालनले उहाँको व्यवसायलाई बढावा दिएको छ । एग्रो टुरिजमलाई अगाडी बढाउनुपर्छ भन्ने उद्देश्यका साथ उहाँको व्यवसायिक यात्रा अगाडी बढेको थियो । यसलाई बढाउँदै लैजान विभिन्न योजनाका साथ के.सी. आगामी यात्राको लागि तयार हुनुहुन्छ ।
व्यवसायको थालनी गरेदेखि नै के.सी.ले कहिल्यै घाटा खानु परेन । स्थानीय उत्पादनलाई प्राथमिकता दिएकाले बाहिरी खर्च निकै कम हुन्थ्यो । त्यसैले आम्दानी कुनै दिन कम भयो भने पनि मन खिन्न कहिल्यै गर्नुपरेन । साथीहरुसँग घुम्न जाने क्रममा उहाँले माछा पालन गरेर मनग्य आम्दानी गरेकाहरु धेरै देख्नुहुन्थ्यो । वातावारण सुहाँउदो व्यवसाय गर्न सकियो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उहाँलाई लागेको थियो । यसो हुँदा उहाँलाई आफ्नै ठाउँको मुलको चिसो सफा कञ्चन पानी, बाँझो बसेका प्रशस्त जमिन झल्झली याद आउँथ्यो । आफ्नै ठाउँमा केही गर्ने उद्देश्यका साथ उहाँले यो व्यवसायको सुरुवात गर्नुभएको थियो । अहिले आफु केही हदसम्म सफल भएको के.सी. बताउनुहुन्छ ।
प्रख्यात रोशीको पञ्चकन्या झरनाको नजिकै उहाँको फर्म रहेकाले मानिसको आवत जावत राम्रो हुन्छ । यसले उहाँको व्यसायलाई थप मद्यत पुगेको छ । पनौतीबाट ७ किलोमिटरमा पञ्चकन्या ट्राउट हाउस एण्ड मिनी रिसोर्ट छ । केही व्यक्तिलाई जागिर पनि दिन सकिएकोमा आफुलाई खुसी लाग्ने गरेको उहाँ बताउनुहुन्छ । ह्याचरी सहितको माछा फर्म गर्ने उहाँको योजना छ । स्थानीय स्तरमा पाईने सिमाली, पहा लगायतका जडिबुटिलाई प्रवद्र्धन गर्ने उहाँको लक्ष्य छ । लोकल जातका माछा राख्ने, कालिज फर्म, बँदेल पालन, मौरी पालन गर्ने लगायतका उहाँको तयारी छ । के.सी. भन्नुहुन्छ, ‘वागमती प्रदेशद्वारा ट्राउट माछा प्रवद्र्धनको लागि भनेर १० लाख रुपैंया सहयोग आएको थियो । त्यो बाहेक अरु कुनै सहयोग आएको छैन । यसको लागि हाम्रो तर्फबाट पहल चाहीं गरिरहेका छौं ।’


३५ वर्षीय के.सी.ले लामो समय मेडिकल व्यवसायसँगै कन्सट्रक्सनको काम पनि गर्नुभयो । तर आफ्नो नाम चिनाउने काम चाहीं यही फर्मले गरेकोमा आफुलाई खुसी नै लाग्ने उहाँ बताउनुुहुन्छ । फर्मलाई वृहत बनाउने के.सी.को तयारी छ । यसको लागि केही ठाउँमा जमिनको अवलोकनको काम भईरहेको छ । अहिले आन्तरिक पर्यटकले मात्र फर्म भिजिट गरिरहेका छन् । पूर्वाधारको दायरा बढाएर बाह्य पर्यटक पनि भित्राउने उहाँको योजना छ । यसका साथै स्थानीय स्तरमा पाईने माछा पालनमा पनि उहाँको रुचि छ । उहाँलाई मेडिकल क्षेत्रमा पनि रुचि भएकाले सि.एम.ए. गर्नुभएको छ । हातमा सीप भयो भने अरुको भरमा बस्नुपर्दैन भन्ने के.सी. लाई लाग्थ्यो सोही अनुसार उहाँले ईलेक्ट्रिक र प्लम्बिङको तालिम समेत लिनुभएको छ ।
सुरुमा ३ वटा पोखरीबाट व्यवसायको सुरुवात भएको थियो । अहिले वार्षिक ७ हजार किलो माछा राख्ने क्षमता सहति ७ वटा पोखरी छ । २ वटामा माछाका भुरा राख्ने बेला भएको छ । यसलाई वृहत बनाउने के.सी.को तयारी छ । ‘गत असोजमा गएको बाढी पहिरोले सडकहरु बिग्रिएकाले व्यवसायलाई पनि केही धक्का पुगेको छ’ के.सी. भन्नुहुन्छ, ‘काम रोक्किएको छैन तर अलि सुस्त गतिमा गईरहेको छ ।’ पछिल्लो समय सडकको लागि चाहीं निकै समस्या भईरहेको उहाँ बताउनुहुन्छ । आफ्नै खर्चमा ३÷४ किलोमिटर सडक विस्तार गरिएको थियो तर गत असोजको बाढी पहिरोले सडकहरु क्षतविक्षत बनाईदिँदा आफ्नो व्यवसायमा निकै मर्का परेको उहाँ बताउनुहुन्छ ।
‘काम भनेको सानो ठुलो हुँदैन’ के.सी. थप्नुहुन्छ, ‘हामीलाई सानैदेखि समाजले केहि कामलाई सानो र केहि कामलाई ठूलो भनेर सिकाएको हुन्छ । यसले गर्दा हामी कामको महत्वलाई बुझ्न सक्दैनौं । हाम्रो सोच र दृष्टिकोणले कामको महत्व निर्धारण गर्छ । यदि हामी कुनै कामलाई महत्वपूर्ण ठान्छौं भने, त्यो काम ठूलो हुन्छ । मेरो पृष्ठभूमि कृषि भएकाले मलाई सानैदेखी यसमा रुचि पनि थियो । त्यसैले मैले यही पेशा अङ्गालें । अहिले मलाई यसैले पहिचान दिलाएको छ ।’ नेपालमा रोजगारका अवसर र व्यवसायिक सम्भावनाहरू प्रचुर मात्रामा उपलब्ध छन् । उद्यमशीलता, सीप विकास, र प्रविधिको प्रयोग गरेर आफ्नै व्यवसाय सुरु गर्न र आर्थिक स्वतन्त्रता हासिल गर्न युवाहरूलाई उहाँको सुझाव छ । सुरुवात गर्ने वित्तिकै कुनै पनि व्यवसायले सफलता पाउँदैन । प्रतिक्षा गर्न सक्यो भने फल मिठो हुने उहाँ बताउनुहुन्छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस