कृषिले पाएको प्राथमिकता र कृषकले पाएको सफलता देखेर आफुले पशुपालन शुरु गरेका राजकुमार

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ जेष्ठ २७, मंगलबार (१ महिना अघि)
  • १२१ पटक पढिएको

कृषिले पाएको प्राथमिकता र कृषकले पाएको सफलता देखेर आफुले पशुपालन शुरु गरेका राजकुमार

गत असोजमा गएको बाढी पहिरोले पनौती–१२, मुलखोलाका राजकुमार तिमल्सिनाको फर्ममा निकै क्षती पु¥यायो । तर पनि हिम्मत नहारी अहोरात्र आफ्नो कर्ममा खटिइरहनुभएको तिमल्सिना । ‘प्रगती कृषि फर्म ।’ नाम जस्तै काममा पनि प्रगती भइरहेको छ, तिमल्सिनाको । २०७२ सालमा आएको भुकम्प लगत्तै व्यवसायिक रुपमा भैंसी पालन सुरु गर्नुभएका तिमल्सिनाको अहिले भैंसीको करिब ४० वटा छ । फर्ममा अहिले करोडौंको लगानी भएको छ । दैनिक २ सय लिटरसम्म दुध उत्पादन भइरहेको छ । ६ वटा भैंसीमा १५ लाख लगानी गरी काम गर्न सुरु गर्नु भएको तिमल्सिना भैंसी पालनमा निकै जम्न सफल हुनुभएको छ ।


पनौती ८ नं वडामा उहाँले कृषि फर्मको नयाँ शाखा खोल्नु भएको छ । अहिले फर्ममा गोलभेडा, काँक्रो लगायतका तरकारी लगाईएको छ । १२ रोपनी जग्गा भाडामा लिएर अहिले व्यवसाय सञ्चालन भइरहेको छ । जसमा ४० वटा टनेल बनेको छ । वार्षिक २ लाख लिजको रकम तिर्ने उहाँ बताउनुहुन्छ । २०५७ सालमा नै प्लस टु सम्मको अध्ययन सक्नुभएको ४२ वर्षिया तिमल्सिनाले आइ.टी. सम्वन्धी नै प्रशिक्षण गराउनको लागि विभिन्न देशहरु समेत भ्रमण गरिसक्नु भएको छ । भ्रमणको क्रममा पनि अहिलेको समयमा कृषिले पाएको प्राथमिकता र कृषकले पाएको सफलता देखेर आफुले पनि पशुपालन शुरु गरेको उहाँको भनाई छ । उहाँको निशान ट्रक पनि छ । गाई भैंसीलाई चाहिने पराल, बजारसम्म दुध उहाँ आफैं आफ्नै गाडी चलाएर पु¥याउने गर्नुहुन्छ । १० वर्ष आइ.टी. टेक्निसियनमा काम गरिसकेपछि उहाँले भैंसी पालन सुरु गर्नुभएको हो । ‘साथीहरुले भन्छन्, आधुनिक प्रविधि चलाएर हजारौं कमाउने हातले गोबर चलाउँछ ।’ उहाँ जवाफमा भन्नुहुन्छ, ‘जागिर खानु वा विदेश जानुभन्दा तिमीहरु पनि आउ सँगै मिलेर खेती गरौं । हजारौं हैन महिनामा लाखौं आम्दानी गर्न सकिन्छ ।’ तिमल्सिनाको यो जवाफमा कोही हाँस्छन् त कोही सन्तृष्ट हुन्छन् । जागिर भनेको सिमित हुने र व्यवसाय भनेको दिर्घ हुने भएकाले पशुपालन सुरु गरेको तिमल्सिनाको भनाई छ । नेपालको परिवेशमा व्यवसाय नै उत्तम हुने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘परनिर्भरताको बाटो छोडेर आत्मनिर्भरताको बाटो अपनाउने हो भने पशुलापन रोज्नु पर्छ । कृषि तथा पशुपालन गर्ने हो भने नेपाल पनि आत्मनिर्भर हुन सक्छ ।’


तिमल्सिनाले भैंसी पालन मात्र होइन सुन्तला खेती पनि गरिरहनुभएको छ गत असोजको बाढी पहिरोले उहाँको सुन्तला खेतीमा केही असर पुगेको थियो । जसले गर्दा उहाँलाई निकै घाटा पनि व्यहोर्नु प¥यो । अहिले भने परिस्थिती सामान्य भईसक्यो । थप हौसलाका साथ उहाँ आफ्नो काममा होमिनु भएको छ । अघिल्ला वर्षहरुको तुलनामा अलि धेरै रोग लागेकाले सोचेको जस्तो कारोबार भएन तर भएको आम्दानीको भने उहाँ खुसी नै हुनुहुन्छ । अझै धेरै जग्गा लिजमा लिएर सुन्तला खेती बढाउदै जाने उहाँको योजना छ । सुन्तलासँगै उहाँले कागती पनि लगाउनुभएको छ । उहाँले कागती र सुन्तलासँगै अरु पनि धेरै थरिका फलफुल लगाउनु भएको छ । फलफुल खेतीबाट राम्रो गर्न सकियो भने वार्षिक ३ लाख सम्म आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।
अरु पेशामा जस्तो पशुपालनमा खासै रिश्क नहुने उहाँ बताउनुहुन्छ । सानैदेखी आइ.टी विषयमा रुचि भएकाले आइ.टी सम्बन्धी नै पढाई पछि आम्दानी गर्नको लागि पशुपालन उत्तम लागेकाले यो पेशा गरिरहेको उहाँको भनाई छ । उहाँका अनुसार पशुपालन गर्दा ग्रामिण भेगका मानिसहरुलाई समेत रोजगारी दिन सकिन्छ । ‘विदेशमा जाँदा राम्रा देशमा जाँदा पनि बढीमा एक लाखसम्म मात्र कमाउन सकिन्छ । नेपालमा नै बसेर नी मैले महिनाकै लाखै आम्दानी गरिरहेको छु ।’ उहाँले भन्नुभयो । सबै काम परिवारका आमा, बुवा र श्रीमती गरिरहनुभएको छ । मासिक एक डेढ लाख आम्दानी पनि भइरहेको उहाँको भनाई छ ।


तिमल्सिनाले लोकप्रिय मुर्रा जातको पाल्नुभएको छ । निली, रभी भन्ने भैंसीका जातहरु पनि प्रचलित छन् । स्थानीय भैंसीलाई मुर्रा राँगोसँग क्रस गराई वर्णशंकर भैंसी गाउँ–घरको लागि राम्रो मानिन्छ । तर दुध उत्पादन रामो हुने भएकाले यही जातको भैंसी पालेको उहाँको भनाई छ । दुधजन्य पदार्थ उत्पादन गरेर बेच्ने उहाँको योजना पनि छ । यसमा स्थानीय सरकारले सहयोग गरिदिए झनै सहज हुने उहाँको भनाई छ । स्थानीय तहसँग तिमल्सिनाले भने विभिन्न सल्लाह लिएर काम गरिरहनुभएको छ । उहाँले अहिले विभिन्न जातका घाँस खेती पनि गरिरहनु भएको छ । यसले काम गर्दा दोहोरो फाईदा हुने उहाँको अनुभव छ । भैंसी पालनमा अरु पशु पालन भन्दा राम्रो आम्दानी हुने तिमल्सिनाको अनुभव छ । भैंसीको दुधको माग पनि बजारमा राम्रो नै भएकाले पनि यो व्यवसायिक हिसाबमा पनि निकै राम्रो भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘गाई पालनमा दुधको कुरामा बजार खासै छैन । भाउ पनि केही कम आउँछ । दुधका अरु परिकार बनाउने हो भने त फरक कुरा नत्र दुध नै बेच्नको लागि त भैंसी नै ठिक छ ।’
तिमल्सिनाले पशुपालनमा उन्नत जातको पाडापाडी हुर्काएर मनग्य आम्दानी गर्ने योजना बनाउनुभएको छ । अरुको देशमा परिवार छोडेर महिनामा ३०÷३५ हजार कमाउन भन्दा आफ्नो परिवारको साथमा जति सकिन्छ त्यती आम्दानी गर्नुमा धेरै फरक भएको र नेपालमा नै बसेर काम गर्नको लागि उहाँले सल्लाह सुझाव पनि दिनुभएको छ । गोबर चलाएको गनाएको हातमा पनि आफुलाई सन्तुष्टि मिल्ने गरेको उहाँ बताउनुहुन्छ । तिमल्सिना भन्नुहुन्छ, ‘मैले अहिले आधुनिक प्रविधिको गोठहरु बनाएको छु । पहिले भन्दा फर्ममा धेरै कुराहरु सुधार गर्दै गइरहेको छु । लगानी बढ्दै जाँदा सोचे जस्तै.आम्दानी पनि भइरहेको छ, जसले गर्दा मलाई पथि थप हौसला मिल्दै आएको छ ।’ भइरहेको कामलाई निरन्तरता दिने उहाँको योजना छ । अर्गानिक खेतीलाई प्राथकिता दिने उहाँ बताउनुहुन्छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस