बनेपा नगरपालिका वडा नं ६ बुडोलका बुद्ध लामा १४ बर्षको उमेरदेखी मुर्तिकलाबाट सबैलाई मोहित पार्दै आउनुभएको छ । लामालाई मुर्तिकला सम्बन्धी कुनै औपचारिक ज्ञान र सीपको बारेमा थाह छैन । न त कुनै प्रविधि न त साधनहरु । सानैदेखी अरुको काम गरेको देखेको आधारमा नै उहाँको सीप विकास भयो । अहिले त्यही सीप जिवन गुजाराको माद्यम भएको छ । आगमी पुरै जिवन यसैमा समर्पित गर्न सक्ने बाटो बनेको छ । यो काममा लामाको आत्मविस्वास बढेको छ ।
कक्षा ८ सम्मको औपचारिक शिक्षा पनि पूरा नगर्दै लामाको ध्यान पढाइभन्दा कामतिर तानिन थाल्यो । शैक्षिक गतिविधिमा खासै रुचि नभएका कारण, उहाँ फुपुको छोरासँगै राजधानी काठमाडौँ पसेर जीवनका नयाँ अध्याय सुरु गर्नुभयो । त्यहाँ उहाँले मूर्तिकला सम्बन्धी सानो काममा हात हाल्नुभयो—अन्य कसैले जे गर्दै थिए, त्यही पछ्याउँदै । दिनहरू बित्दै जाँदा, मूर्तिकला भन्ने साधना प्रति लामाको आकर्षण गहिरिंदै गयो । माटो र धातुमा जीवनको स्पन्दन भरिदिने त्यो सीपले उहाँको मन जित्यो । करिब १७ वर्षसम्म निरन्तर अरुको लागि काम गर्दै सीप र अनुभव बटुल्नुभयो । अनि अन्ततः, तीन वर्षअघि, उहाँले आफ्नो सपना साकार पार्दै आफ्नै मूर्तिकलाको कारखाना स्थापना गर्नुभएको छ ।
अब उहाँका हातबाट सिर्जना हुने मूर्तिहरू न केवल कलात्मक छन्, तर जीवन्तता बोकेको अनुभव पनि। कलाको कदर गर्ने जो–कोहीले उहाँको सिर्जनालाई नमन नगरी रहन सक्दैनन् । जीवनले सिकाएको पाठ, समयले दिएको अनुभव, अनि मनले रोजेको सीपको सम्मिलन आज लामालाई मूर्तिकला क्षेत्रमा एक प्रतिष्ठित र सिर्जनशील व्यक्तिका रूपमा चिनाउन सफल भएको छ । यसमा लामा निकै खुसी हुनुहुन्छ । लामो अनुभवकै कारण उहाँले तयार पार्नुभएका निकै सुन्दर र कलात्मक मुर्तिहरु देखेर सर्वसाधारण दंग पर्ने गरेका छन् । यसले लामामा हरेक दिन थप आत्मविश्वासको सिढी थप्दै गइरहेको छ ।
केही बर्ष कतारमा कामको लागि पनि जानुभएको थियो । तर त्यहाँको दःखअनुसारको आम्दानी नभएपछी लामा पुनः नेपाल नै फर्किनुभयो । नेपाल फर्किएपछी जानेको काम त्यही मूर्ती सम्बन्धि मात्र थियो । त्यसकारण उहाँले यसैलाई निरन्तरता दिने योजना बनाउनुभयो । अहिले आफ्नै कारखाना मार्फत उहाँ व्यवसायिक रुपमा यो कामलाई निरन्तरता दिईरहनुभएको छ ।
मुर्तीको लागि आवश्यक ढुङ्गाहरु पनौती रोशिबाट ल्याउने गरिएको छ । बाँकी सामानहरु काठमाडौँबाट नै ल्याउने गरिएको छ । १२ ईन्चको मुर्ती पुरा तयार हुन ५ दिनसम्म लाग्ने उहाँको भनाई छ । मुर्तीको माग स्थानीय बजारले नै अहिलेसम्म धानिरहेकाले अन्त जानुनपरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘काठमाडौँ, बनेपा, सिन्धुपाल्चोक लगायतका ठाउँबाट अर्डर आउने गरेको छ । अर्डरअनुसारको नै सामानहरु बनाउने भएकाले हामीलाई कुनै समस्या पनि छैन । आएका अर्डर सबै एड्भान्स पेमेन्ट हुने भएकाले क्यान्सिल हुने सम्भावना पनि कमै हुने गरेको छ ।’
मानिसको शालिकदेखी भगवानका चित्र कुद्ने काममा नै उहाँको दिनचर्या बित्नेगरेको छ । एउटा मूर्तीको साईजअनुसार कम्तिमा ७ हजारसम्म पर्ने गरेको छ । मिहेनत धेरै लाग्ने भएकाले पैसा पनि त्यहिअनुसारको हुने गरेको उहाँ बताउनुहुन्छ । आफ्नो अघि कुनै देवी देवता, भगवान, जनावर या मान्छेको फोटो राखेर दुरुस्तै मुर्ति बनाउने लामाको कलाले उहाँको जविकोपार्जन सहज भएको उहाँको भनाई छ । सानैदेखि चित्रकला र मुर्तिकलामा निकै रुची भएका लामा अहिले अब्बल मुर्तिकारको रुपमा परिचित हुँदै जानुभएको छ ।
विभिन्न देवी देवताहरु, भगवान, सहिदहरु र जनावरहरुको दुरुस्तै आकर्षक आकृति झल्किने मुर्ति वनाउने क्षमता भएका ३२ वर्षिय लामाले आगामी दिनमा पनि यहि कामलाई निरन्तरता दिने योजना बनाउनुभएको छ । ढुङ्गाको साईजअनुसार समय र मुल्य तोकिने भएकाले पहिल्यै नै वार्षिक कमाई तोक्न नसकिने लामा बताउनुहुन्छ । कसैले अर्डर गरे मात्र मुर्ति बनाउने गर्नुभएका लामाले गतिलो अवसर र आर्थिक सहयोग पाए व्यावसायिक रुपमै मुर्ति निर्माण उद्योग सुरु गर्ने इच्छा रहेको बताउनुभयो । लामाले विभिन्न मन्दिरहरुका लागि, शालिकगरि भिन्नन दर्जन बढी मुर्तिहरु निर्माण गरिसक्नुभएको छ । अर्डर व्यापक भयो भने अरु १÷२ जना मानिस पनि राखेर काम गर्ने गरेको उहाँ बताउनुहुन्छ । घरेलु श्रोत र साधनको प्रयोग गर्दै निकै सस्तोमा मुर्ति बनाउने लामा राम्रो अवसर पाए आफूभित्रको ज्ञानलाई दुनियाँको अघि फैलाउने र वेरोजगारि भएर विदेशीने युवाहरुलाइ स्वदेशमै रोजगारीको सिर्जना गर्न निःशुल्क सिप सिकाउने धोको रहेको बताउनुहुन्छ । यसको लागि कारखानालाई बृहत बनाउने उहाँको तयारी छ ।
ढुङ्गाहरु भने जस्तो नपाईने समस्याले भने बेलाबेला समस्या निम्त्याउने गरेको छ । त्यो बाहेक काममा खासै ठुलो समस्या आएको छैन । एउटा मुर्ति बनाउन मुर्तीको आकार हेरी ५ देखि १५ दिनसम्म लाग्ने भएकाले एउटै कामको लागि धेरै समय खटिनुपरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,’जति मेहनत गरे पनि दुःखअनुसारको पारिश्रमिक पाउन गाह्रो हुन्छ । आफनो दुःख अनुसार यो रकम निकै कम रहेकोमा चाहि गुनासो हुन्छ तर कहाँ गएर भन्ने ।’ नेपालामा मुर्तिकलामा निकै सम्भावना छ । नेपालको मूर्तिकलाको इतिहास प्राचीन कालदेखि नै समृद्ध छ । हिन्दु र बौद्ध धर्ममा मूर्तिपूजा अत्यन्त महत्वपूर्ण छ । लामाकाअनुसार नेपालमा यी दुई धर्मको गहिरो प्रभाव रहेकोले मूर्ति बनाउने र त्यसलाई धार्मिक रूपमा प्रयोग गर्ने चलन अझै पनि जीवित छ । यसले मूर्तिकलालाई निरन्तर मागमा राख्छ । मूर्तिकला सिर्जनात्मक अभिव्यक्तिको माध्यम मात्र नभई रोजगारीको पनि स्रोत बन्न सक्छ । दक्ष मूर्तिकारहरूले आफ्नो व्यवसाय स्थापना गर्न सक्छन् वा स्थानीय उद्योगहरूमा काम गर्न सक्छन् ।
उहाँ भन्नुहुन्छ, ‘नेपालमा धार्मिक, सांस्कृतिक, ऐतिहासिक र आर्थिक पक्षले मूर्तिकलाको विकासका लागि बलियो आधार बनाएको छ । यदि सरकार, शैक्षिक संस्था, र निजी क्षेत्रले मूर्तिकला प्रवद्र्धनमा लगानी गरे भने यो क्षेत्रले देशको सांस्कृतिक पहिचानसँगै आर्थिक प्रगति पनि दिलाउन सक्छ ।’