च्याउको स्वाद थाहा पाएका घिमिरे

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ श्रावण २७, मंगलबार (५ महिना अघि)
  • २५६ पटक पढिएको

च्याउको स्वाद थाहा पाएका घिमिरे
पनौती नगरपालिका वडा नम्बर ५ धनेश्वरका रमेश घिमिरे(नारायण)को दैनिकी करिब ३० वर्षदेखि डल्ले च्याउ र सागसब्जी उब्जाउ गरेर बितिरहेको छ । बनेपा भैसेपाटीमा उहाँको एसएस मसरूम फार्म छ । फार्ममा हिउँदको समयमा डल्ले च्याउ उत्पादन हुन्छ भने बर्खाको समयमा विभिन्न जातका सागपात धनिया उत्पादन हुने गरेको छ । असोज÷कार्तिक महिना लगत्तै च्याउ उत्पादन सहित दैनिक कार्य सुरु हुन्छ । त्यो क्रम जेठको अन्तिमसम्म चलिरहन्छ त्यसपछि भने बर्खा पनि सुरु हुन्छ । र विभिन्न जातका साग सब्जी लगाउनमा उहाँ व्यस्त रहनुहुन्छ । बाँसको टनेला भित्र उहाँका उत्पादन उब्जाउ हुने गरेको छ ।
हिउँदको समयमा कालाम्मे देखिने उहाँको टनेला बर्खा लागेसँगै सेताम्मे हुन्छ । टनेलाको कभरहरू परिवर्तन गर्नुपर्ने भएकाले यस्तो हुने गरेको उहाँको भनाइ छ । डल्ले च्याउ होस् अथवा तरकारी उहाँले बेच्नको लागि न त बिचौलिया खोज्नुपर्छ, न त आफ्नो क्षेत्र छोड्नुपर्छ । बनेपा बजारमा नै उहाँका उत्पादन खपत हुने गरेको छ । कहिलेकाहीँ माग ज्यादा भएर बाहिरबाट समेत मगाउनुपर्ने स्थिति आउने गरेको उहाँ बताउनुहुन्छ ।
आफूलाई च्याउ खेती सिकाउने आफ्नै काका भएकाले अन्त पैसा तिरेर काम सिक्नु परेन । छोराछोरीलाई पनि यही पेशामा लगाउने उहाँको इच्छा थियो । तर उहाँहरूको इच्छा पढाइलाई नै निरन्तरता दिने भएकाले आफूले फोर्स नगरेको उहाँको भनाई छ । आफ्नो दैनिकी गुजार्न छोराछोरी पढाउन र विभिन्न आइपर्ने सामाजिक कार्यमा सहभागी हुनको लागि अझ भनौँ जीविकोपार्जन गर्नको लागि यही पेशाले आफूलाई धेरै सहयोग गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,  ‘मैले अहिलेसम्म यो कामको थालनी गरेपछि अरुकोमा सामु हात फैलाउनु परेको छैन । मेरो दैनिकी यसैले गुजार्दै आएको छु । मलाई कुनै समस्या आइपरिहाल्यो भने पनि अरुकोमा धाई रहनुपर्ने स्थिति छैन । त्यसैले म यो कामप्रति सतप्रतिशत सन्तुष्ट छु र यसैलाई नै निरन्तरता दिनेछु । मलाई कहिले अरुकोमा काम गर्ने वा विदेश जाने भन्ने जस्तो मन भएन त्यसैले पनि होला । यही कामलाई मैले हतियार बनाएर आफ्नो जीवन चलाइरहे जसमा म सफल पनि भए ।’
सिजनको बेलामा बाहिरबाट मानिसहरू बोलाएर काम लगाउनुपर्छ । सामान्य दिनमा उहाँका श्रीमती सुभद्रा घिमिरेको साथमा उहाँ टनेलामा आफ्नो व्यवसायिक दैनिकी बिताउनुहुन्छ । काम गर्न लगानीभन्दा पनि अनुभव चाहिने उहाँको भनाइ छ । आफ्नो कामलाई यति लामो समयसम्म चलाउनमा आफ्नो अनुभव नै सबैभन्दा ठूलो हतियार रहेको उहाँ सुनाउनुहुन्छ । आफ्नो हातमा सिप छैन वा काममा अनुभव छैन भनेदेखि जुनसुकै ठाउँमा गएर पनि आफूले भनेजस्तो काम गर्न अथवा आम्दानी गर्न नसकिने उहाँ बताउनुहुन्छ । दैनिक रूपमा धेरैथोर आम्दानी भइरहने भएकाले पनि यो काममा अलि सजिलै भएको उहाँ बताउनुहुन्छ ।
जुनसुकै काममा पनि सानातिना समस्या आइरहन्छ । घिमिरे भन्नुहुन्छ, ‘अरुको काम गर्दा मासिक कति पैसा दिन्छन् भनेर कुरेर बस्नुपर्छ । फेरि गाली हेपाई सहनुपर्ने कुरा त छँदै नै छ । काममा कहिलेकाहीँ तलमाथि त भइहाल्छ । कहिले बजार भाउ राम्रो हुँदैन, कहिले मलको समस्या हुन्छ । झन् किसानलाई त यस्ता समस्याहरुले बेलाबखतमा सताइरहन्छ तर पनि दुःखमा आत्तिहाल्नु हुँदैन । समस्या छ भने त्यसको समाधान पनि मिल्छ हतार चाहिँ गर्नु हुँदैन ।’
आवश्यक पर्ने सबै औजार उपकरण पनि आफैसँग भएकाले आफ्नो दैनिकी अझै सहज भएको उहाँ बताउनुहुन्छ । ट्रर्याक्टर लगायतका सामानहरू आफैसँग भएकाले पनि काम छिटो भइरहेको घिमिरेको भनाइ छ । च्याउको सिजनमा चाहिँ अलि धेरै जनशक्ति आवश्यक पर्ने भएकाले बाहिरबाट मगाउने गरेको गरिएको छ । नत्र भने श्रीमान श्रीमती मिलेर नै कामको सम्पूर्ण काम भ्याइरहेको उहाँ बताउनुहुन्छ । लगानी अनुसारको आम्दानी पनि भइरहेकोले घिमिरे सन्तुष्ट नै हुनुहुन्छ । सामान्यतय टनेलाको कभर फेर्ने बेलामा केही खर्च हुन्छ । त्यसपछि भने सामान्य खर्च नै हुने गरेको छ । च्याउको सिजनमा भने एक लटमा आठ÷दश लाख खर्च हुन्छ । सोहीअनुसार आम्दानी पनि राम्रै हुने उहाँ बताउनुहुन्छ । फार्मलाई वृहत बनाउनेभन्दा पनि अहिले जे जति चलिरहेको छ त्यसलाई नै निरन्तरता दिने उहाँले योजना बनाउनुभएको छ । स्वास्थ्यले राम्रो हुन्जेल यो कामले निरन्तरता पाइरहने घिमिरे बताउनुहुन्छ ।
फार्म दर्ता गरेर नै काम गरिरहेकाले अन्य कुराहरूमा पनि सहज नै भएको घिमिरेको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘नेपालीहरूलाई काममा तुरुन्तै प्रतिफल चाहिन्छ । छोटो समयमा धेरै मुनाफा आउने काम उहाँहरु खोजी गर्नुहुन्छ । त्यो त अलि नेपाल जस्तो ठाउँमा असम्भव नै हुन्छ । हामीले हाम्रो अनुभवले एउटा ठाउँ बनाउनुपर्छ । आफूले गर्न लागेको कामको बजार पनि आफैले खोज्नुपर्छ  । आफ्नो उत्पादनको लागि राम्रो बजारीकरण कसरी गर्न सकिन्छ भन्ने कुरा एउटा व्यवसायीलाई थाहा हुनुपर्छ । उत्पादन गर्न जाने र मात्रै पनि हुँदैन । त्यसले सही ठाउँ पाउन सकेन भने उत्पादन बेकार रहने स्थिति पनि आउन सक्छ । त्यसैले उत्पादन भएका कुराहरूलाई प्रत्यक्षरूपमा आफैंले उपभोक्तासम्म पुर्याउन सक्नेसम्म बन्नुपर्छ ।’
उत्पादन भएका सामग्रीहरू सकेसम्म बिचौलियाको हातमा नपर्ने गरी काम गर्न सकियो भने उत्पादनले पनि मूल्य पाउने उहाँ बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ, ‘पाँच हजार उत्पादन गर्नको लागि आफूले कति महिनौ समय लगाउनुपर्छ तर बिचौलियाले त्यो छोटो समयमा नै आम्दानी गरिदिन्छ ।’ यो भनेको उपभोक्ता र उत्पादनकर्ताबीचको दूरी कति छ भनेर बुझ्न सकिने माध्यम भएको उहाँको भनाइ छ । घिमिरे भन्नुहुन्छ, ‘राज्यले पनि सामानको मूल्याङ्कन गर्न जान्नुपर्छ र किसानलाई उहाँहरुले सघाउन जरुरी छ । अनुदानकै कार्यक्रमहरू मात्रै ल्याइरहनुपर्छ भन्ने हुँदैन । विभिन्न माध्यमहरू छन् । किसानलाई प्रेरणा दिनको लागि किसानलाई हतोत्साहित गर्ने काम चाहिँ गर्नुभएन ।’

ताजा अपडेट

खोजी गर्नुहोस