विदेशको विकल्प

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ श्रावण २७, मंगलबार (५ महिना अघि)
  • २४४ पटक पढिएको

विदेशको विकल्प
“बिदेश” यी तीन अक्षरमा थुप्रिन्छ नेपालीहरूको उज्जवल भविष्यको कल्पना । राम्रो जीवन, सुरक्षित आम्दानी र स्वाभिमानका रंगीन तस्वीर यस शब्दले लिएर आउँछ । यद्यपि वास्तविकता त्यतिकै सरल र सप्तरंगी भने हुन्न । पाँचखाल नगरपालिकाका वडा नं. १२ नागबेली निवासी राजकुमार कुँवर पनि यही आशाको किरणका साथ विदेशी भूमिमा पाइलाको कल्पना गर्दै दुबई पुग्नुभएको थियो । तर उहाँको विदेश यात्रा एक महिनाभन्दा लामो भएन । उहाँले काम गरी कमाएको ८ सय ५० रुपैयाँ मात्र लिएर विदेश पाइला टेकेपनि, एक महिनामै नेपाल फर्किनुभयो । पाँचखाल फर्केर उहाँले आफूमात्र होइन, परिवारसँगै गाउँकै मान्यतालाई पनि सम्झिनुभयो, “बिदेश जानु जीवनको एकमात्र विकल्प होइन” भन्ने चाहना सहित आफुले जानेको कामको सुरुवात भयो ।
     नेपाल फर्कियपछि अब के गर्न ? काम छैन, हातमा सीप छैन भन्ने जस्ता प्रश्नले उहाँलाई घेरेन । केहि नभए गरिरहेको कृषिको कामलाई अगाडी बढाउछु र यसैमा जिन्दगी बिताउन सक्छु भन्ने आत्मविश्वासको कारण कुवरलाई धेरै सोच्नै परेन । बिदेश जानु अघि पनि कृषिमै व्यथित समयलाई नेपाल फर्किएर निरन्तरता दिन थाल्नुभयो । गाईभैसीं पालन र तरकारी खेतीमा व्यवसायिक रुपमा लागेपछी आम्दानी पनि निकै राम्रो हुँदै गयो । विस्तारै तरकारी संकलनको कामलाई पनि निरन्तरता दिन थाल्नुभयो । अहिलले कुँवर विहान दिउँसो खेतबारी र गोठको काममा अनि बेलुका ४ बजेदेखी झम्के साँझसम्म तरकारी संकलनको काममा व्यवस्त रहनुहुन्
     गाउँमा उत्पादन भएको तरकारी उहाँकाडमाडौँ लगेर आफैँ बेच्नुहुन्छ । यसकाले आफुलाई काममा सहज भइरहेको उहाँ बताउनुहुन्छ । कँुवरले खेतमा धान, आलु, काउली लगायतका तरकारी लगाउनुभएको छ । अरु तरकारीहरु पनि लगाईन्छ तर प्रमुख बालीको रुपमा यी नै खेती गर्ने गरेको उहाँ बताउनुहुन्छ । अहिले भने खेतीमा धान काटेर कालु लाउने समय भएको छ । त्यसकारण उहाँको यसैको तयारीमा जुट्नुभएको छ । आफुले काम नभ्याएको समयमा खेताला लाउने गरिएको छ । साथमा परिवारका सदस्य मिलेर काम गर्ने भएकाले काममा खासै ठुलो समस्या अहिले नपरेको उहाँ बताउनुहुन्छ । प्रविधिहरु प्रयोग गरेर काम गर्ने भएकाले पहिलेको जस्तो कृषिमा ठुलो मिहेनत पनि नपर्ने उहाँको अनुभब छ ।
     कुँवरको खेतमा करिब १२ रोपनीमा काउली लगाइएको छ । केही जमिनमा तरकारी र बाँकीमा धान र आलु लगाईएको छ । आफैँले तरकारी संकलन गर्ने भएकाले आफुले उत्पादन गरेको तरकारी कहाँ लगेर बेच्ने भन्ने समस्या छैन । उत्पादन भएको तरकारी र संकलन गरेको तरकारी उहाँले सिधै काठमाण्डौँ कालिमाटी पुर्याउनुहुन्छ । सबै किसानको तरकारी संकलन गर्दा व्यापारीको नाताले भन्दा पनि किसानको नाताले काम गर्ने गरेको उहाँको भनाई छ । बजारमूल्य अनुसार किसानलाई सकेसम्म घाटा नपर्नेगरी आफुले व्यापारलाई पनि अगाडी बढाईरहेको कुँवर बताउनुहुन्छ ।
कुँवरले अहिले ३ वटा गाई पाल्नुभएको छ । पहिले गाईभैसींको संख्या निकै थियो । दुधको भाउ घटेको र लम्पि स्किनको समस्या धेरै देखिएकाले पशुको संख्या घटाइएको उहाँ बताउनुुहुन्छ । अहिले २ वटै गाई दुहुनो छ । दैकिन २१ लिटर दुध उत्पादन भइरहेको छ । दुधको भाउ अलि राम्रो हुनेवितिकै अर्को पनि गाई थप्ने उहाँको योजना रहेको छ । गाई पालनमा अहिलेको लागि कुनै समस्या छैन तर तरकारी खेतीमा भने बेला बेला विभिन्न खालको समस्या आईरहने उहाँ बताउनुहुन्छ । यसको लागि कुनै दिर्घकालिन समाधान भए हुन्थ्यो भन्ने उहाँको भनाई छ । नेपाल फर्किएर जीवनका तिनै कुराहरू अझ स्पष्ट भएः भाषा, संस्कार, परिवार र आत्मीयता । खाडीमा काम गर्नुभन्दा नेपाली परिवेशमा बस्नु सुखद लाग्छ, भनेर आफूलाई सम्झाउनुुभयो । पाँच–सात सय काम गर्ने, महिनौ घर देखिन नसक्ने जीवन होइन, माया र ओतप्रोत परिचित परिवेश हो जहाँ दुख–सुख साट्न सहज हुन्छ । गोल्डन सपना बोकेर खाडी र अन्य देशमा जाने नेपालीहरू धेरैले भोग्ने समस्याहरूमा अनुभव केवल राजकुमारजस्तै होइन, जति धेरै पूर्व–कर्मचारीले आफ्ना अनुभव साझा गरेका छन् ।
     “जेनिश जेनिशा कृषि तथा पशुपक्षिं फर्म” नाम दिएर ३ बर्ष अगाडी घरेलु र प्यानमा दर्ता भएको उहाँको फर्ममा अहिले भएको उत्पादन आफुलाई चित्त बुझ्दो नै रहेको उहाँको भनाई छ । आफुले जानेदेखी नै कृषिमा नै आबद्ध भएकाले अरु नयाँ काममा खासै रुचि नभएको उहाँ बताउनुहुन्छ । कुवँर भन्नुहुन्छ, ‘कसैको कसैको करकापमा बस्नुपर्ने भएकाले मलाई सानो भएपनि आफ्नै काम गर्न मन पर्छ । त्यसको लागि कृषिभन्दा उत्तम अरु के होलार ! मैले जानेको काम पनि भएकाले म यसमा खुसी छु । आफ्नो हिसाबले जति मन लाग्छ जसरी मन लाग्छ त्यसरी गर्दा हुन्छ । बजार भाउ नपाउने कारण अलि समस्या हुन्छ नत्र अहिलेसम्म कुनै समस्या छैन ।’ स्थानिय तहहरुले अझ यसमा अलि ध्यान दियो भने किसानहलाई काम गर्न सहज वातावरण सिर्जना हुने उहाँको भनाई छ । मल, बीउ बिजन लगायतका कुरामा स्थानिय तहले सहजिकरण गरिदिने हो भने किसानलाई काममा पनि प्रोत्साहन मिल्ने उहाँको भनाई छ ।
कृषिमा भित्रिएको आधुनिक प्रविधिले धेरै सहज बनाएको उहाँ बताउनुहुन्छ । आफुले पनि जोत्नको लागि ट्रयाक्टर, स्प्रो, हाते पम्पहरु प्रयोग गरिरहेकाले काममा सहसज भएको उहाँ बताउनुहुन्छ । खेती गर्दा आलुमा अलि धेरै लगानी हुने र बाँकीमा ठुलो लगानी नलाग्ने उहाँको भनाई छ । आम्दानीको कुरामा भने बजार भाउ अनुसार हुने कुँवर बताउनुहुन्छ ।
३६ बर्षिय कुवँरले कक्षा १२ सम्मको अध्ययन गर्नुभएको छ । आम्दानीको लागि विदेशभन्दा पनि नेपालमा नै सहज हुने उहाँको भनाई छ । कमाईको हिसाबले मात्र नभएर आफ्नो भूमिमा नै बसेर परिवारको साथमा काम गर्न पाईने र त्यसमा खुसी पनि ज्यादा मिल्ने भएकाले नेपालमा कृषि एकदमै उत्तम भएको उहाँ बताउनुहुन्छ । आगामी दिनमा अहिले गरिरहेको कृषिलाई नै निरन्तरता दिने उहाँको योजना पनि रहेको छ ।
नेपाल फर्किएर राजकुमारले बुझ्नुभयो—परिवार, भोजन, भाषा, मौसम मात्र होइन, आत्मीय सम्बन्ध नै जीवनको श्रोत हो । विदेशमा पाइला अगाडि बढ्छन्, तर धेरैले माया, आस्था, आत्मनिर्भरता जस्ता प्रेमिल आयाम गुमाउँछन् । ‘एउटा महिना, आठ सय पचास रुपैयाँ, र एउटा निर्णय जुन निर्णय आफैंलाई र आफ्ना परिवारलाई बढी मूल्यवान र घनिष्ठ लाग्ने बनायो ।’ उहाँले भन्नुभयो ।
विदेश राम्रो हो, तर सबैका लागि होइन । सुख भौगोलिक दूरीमा होइन, आत्मीयता र जीवनशैलीमा हुन्छ । पारिवारिक सम्बन्ध, सामाजिक सानुभूति र आत्मसम्मान धेरै पटक पैसा र अवसरभन्दा बढी मूल्यवान हुन सक्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस