“फूल र मेहेनत” सँगसँगै फूलाउँदै घिमिरे

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ आश्विन ३१, शुक्रबार (१ महिना अघि)
  • २२२ पटक पढिएको

“फूल र मेहेनत” सँगसँगै फूलाउँदै घिमिरे
टाढैबाट हेर्दा ढकमक्क फूलेका रङ्गीचङ्गी फूलहरू मन लोभ्याउने गरी मुस्कुराइरहेका हुन्छन् । यस्तो दृश्य जो–कोहीलाई पनि मोहित पार्छ । बनेपा नगरपालिका–१२, बाँसडोलका कृषक माधव घिमिरेको फूल फार्ममा अहिले यही दृश्य दिनहुँ देख्न सकिन्छ । रंग, सुवास र मेहनतले भरिएको त्यो खेतमा फूल मात्र होइन, पसिनाबाट उम्रिएको सफलताको फुलिरहेको छ ।
माधव घिमिरेले तीन वर्षअघि व्यावसायिक रूपमा फूल खेती सुरु गर्नुभएको हो । परम्परागत खेती प्रणालीबाट केही फरक गर्न चाहनु भएका घिमिरेले सुरुमा सानो क्षेत्रफलमै सयपत्री फूल रोपेर प्रयोग गर्नुभयो । मेहनतले साथ दिएपछि उहाँले क्रमशः क्षेत्र विस्तार गर्दै अहिले करिब २० रोपनी जमिनमा सयपत्री फूलको खेती गरिरहनुभएको छ । सुरुमा त धेरैले भने, ‘फूलले पेट पालिन्न’, घिमिरे सम्झनुहुन्छ, ‘तर मलाई विश्वास थियो की सही मेहनत, लगन र सोच भए कृषि नै समृद्धिको बाटो हो ।’ उहाँको यो विश्वास आज सत्य सावित भएको छ ।
सयपत्री फूल विशेषतः तिहार लगायतका चाडपर्वमा अत्यधिक प्रयोग हुने भएकाले बजारको माग उच्च रहने गर्छ । यसले गर्दा उहाँलाई हरेक वर्ष मनग्य आम्दानी हुने गरेको छ । स्थानीय बजार मात्र होइन, काठमाडौं, भक्तपुर, पनौती, धुलिखेल लगायतका सहरहरूमा समेत उहाँको फूल पठाइन्छ । फूल उत्पादनसँगै उहाँले केही स्थानीय महिलालाई समेत रोजगारी दिनुभएको छ । “अहिले मेरो फार्ममा स्थायी र अस्थायी गरी ११ जनाले काम पाइरहेका छन्, ‘उहाँ बताउनुहुन्छ, “फूल फूलाउँदा मन मात्र होइन, गाउँको जीवनस्तर पनि फुल्छ ।’ गतवर्षको तुलनामा यो वर्ष फूलको मात्रा बढाइएको छ । उहाँकोमा बाह्रै महिना फूल रोप्ने गरिएको छ । जाडो महिना विशेषगरी मंसिर, पुस र माघ महिनामा फूल खासै उत्पादन हुँदैन । फागुनदेखि भने पुनः उत्पादन गर्न सुरु गरिन्छ ।
२० बर्ष वैदेशिक रोजगारीमा समय व्यतीत गरेपछि अहिले उहाँ आफ्नै व्यवसायमा मग्न हुनुहुन्छ । इजरायल र साउदी अरबमा बिताएको त्यो समय नेपालमै यही व्यवसाय गर्न पाएको भए राम्रो हुन्थ्यो भन्ने उहाँको मनमा परिरहन्छ ।  विदेशमा पनि कृषिसम्बन्धी नै काम गरेकाले अहिले नेपालमा काम गर्न थप सहज भएको उहाँ बताउनुहुन्छ । सन्तुष्टि भन्ने कुरा बजारमा किन्न नपाइने कुरा हो । उहाँ थप्नुहुन्छ, ‘महिनाभर अरूको काम गरेर तलब थाप्नु र आफ्नै व्यवसाय गरेर अरुलाई जागिर दिनमा धेरै फरक हुने रहेछ । आफूले उत्पादन गरेर आफ्नै नेपाली दाजुभाइ दिदीबहिनी समक्ष आफ्नो उत्पादन पुर्याउन पाउँदा सन्तुष्ट छु । सम्बन्धित निकायले यस सम्बन्धमा विशेष ध्यान दिने हो भने धेरै राम्रो छ । वास्तविक किसानले सरकारी तहबाट पनि खासै राहत तथा अनुदान पाएको देखिँदैन । यसले गर्छु भन्ने किसानहरुलाई हतोत्साहित गर्न सक्छ ।
५८ वर्षे घिमिरे काम गर्नुपर्ने युवा अवस्थाको सबै उमेर अरुको देशमा बिताउनु परेको कुरामा कहिलेकाहीँ नराम्रो पनि लाग्छ तर ढिलै भएपनि अरुलाई स्वरोजगार बनाउन पाएकोमा उहाँ बताउनुहुन्छ । भइरहेको कामलाई निरन्तरता दिने उहाँको योजना छ । व्यवसायमा नयाँ प्रविधिको प्रयोग गरेर रूपान्तरण गर्न सक्यो भने निकै राम्रो हुने उहाँ बताउनुहुन्छ । थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिने भएकाले उहाँले सयपत्री फूलखेती गर्न थाल्नुभएको हो ।  नेपालमा सयपत्री फूलको बजार एकदमै राम्रो रहेको उहाँ बताउनुहुन्छ । ‘मैले बाह्रै महिना फूलखेती गर्छु । आफूले खेती गर्नेदेखि अरु किसानलाई फूल लगाउन सिकाउने पनि गरेको छु । तिहारलक्षित मात्र फूल खेती गर्ने होइन, अरु समयमा पनि उत्तिकै फूल उत्पादन हुन्छ। छन्’, उहाँले भन्नुभयो ।
अहिले फूल लगाइएको ठाउँमा पहिले अरु नै तरकारी लगाइन्थ्यो । फर्सीको सिजन सकिएपछि बर्खामा अरु कुनै बाली लगाइँदैन । व्यावसायिक कृषि गर्नेहरूको लागि धान मकै मात्र लगाएर फाइदा पनि नहुने भएकाले पहिलो वर्ष घिमिरेले फूल रोप्नुभयो । पहिलो वर्षको उत्पादन निकै राम्रो भएपछि पछिल्ला वर्षहरूमा व्यवसायिक रुपमा नै गर्ने उहाँले अठोट लिनुभयो । सयपत्री फूलको बीउ किन्दा चनाखो हुनुपर्ने उहाँ बताउनुहुन्छ । ‘बीउ राम्रो परेन भने घाटा हुन्छ । त्यसकारण किसानले अलि गुणस्तरको बीउ ल्याउनुपर्छ’, उहाँले भन्नुभयो । तिहारका बेला सरकारले भारतीय फूलमा प्रतिबन्ध लगाउनु राम्रो कुरा भएको उहाँ बताउनुहुन्छ । फूलखेतीमा पनि सिंचाइ, मल र औषधिको मात्रा मिल्नुपर्ने उहाँ बताउनुहुन्छ । उहाँले एघार जनालाई स्थायीरुपमा रोजगारी दिनुभएको छ   काम गर्ने कर्मचारीले न्यूनतम १२ देखि २० हजारसम्म तलब बुझ्छन् । यसरी अरुलाई जागिर दिन पाउँदा आफूलाई पनि खुसी लाग्ने उहाँको भनाइ छ ।
फूल खेती गर्नको लागि पनि प्राविधिक ज्ञान हुनुपर्ने उहाँको भनाइ छ । यदि प्राविधिक ज्ञान बिना फूल उत्पादन गर्न सुरु गरियो भने त्यसले राम्रो लाभ दिन सक्दैन । बिउ छनोटदेखि उत्पादनसम्म र बजार लाँदासम्म विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ । बीउ, मल, खनजोत, कामदार, सिंचाइ र औषधिमा खर्च लाग्ने उहाँ बताउनुहुन्छ । किताबी ज्ञानभन्दा पनि प्रयोगात्मक अभ्यास हुनुपर्ने उहाँ बताउनुहुन्छ ।
कालिमाटी पशुपति लगायतका क्षेत्र उहाँको मुख्य बजार हुन् । फूलसँगै तरकारी खेती पनि उत्पादन हुने भएकाले तरकारीको लागि मुख्य बजार चाहिँ बल्खु हो । तरकारीमा गोलभेडा र फर्सी मात्र लगाइएको छ, जुन ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सिजनको बेलामा काँक्रो पनि लगाउने गरिएको छ । १ सय ७० वटा टनेलमा तरकारी खेती उत्पादन हुने गरेको छ । पशुपतिमा नियमित फूल लैजानुपर्ने भएकाले २० वटा टनेल लामा चाहिँ फूल उत्पादन टुट्दैन । टनेला बाहिरको फूल चाहिँ तुसारो नलागुन्जेसम्म फलाइन्छ ।
घिमिरेले स्नातकसम्म अध्ययन गर्नुभएको छ । आम्दानीको अन्तिम केन्द्रबिन्दु विदेश नै हो भन्ने अधिकांश युवाको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘विदेशमा गएर निकै तल्लो लेभलको काम गर्न सक्ने नेपाली नेपालमा सानो र ठूलो काम भनेर काममा विभेद गरिन्छ । यसैले नेपालमा काम छैन भन्नेहरुको जमात बढेको हो ।’ घिमिरेले वार्षिक ५० देखि ६० लाख आम्दानी गर्नुहुन्छ । यति नै आम्दानी निकै ठूलो देशमा जानेहरूले पनि निकै कमले मात्र कमाएका हुन्छन् । यसको अर्थ नेपालमा केही गर्न सकिँदैन भन्ने होइन । अरुको देशको दुःखभन्दा आफ्नो देशको थोरै कमाएको सुखले निकै आनन्द दिने उहाँ बताउनुहुन्छ ।
सुरुमा पाँच रोपनि गोलभेडाबाट उहाँको फार्म सुरु भएको थियो । अहिले ५२ रोपनीमा उहाँले फूल तथा तरकारी खेती गर्नुहुन्छ । यसलाई विस्तार गर्दै तराईतर्फ पनि उन्मुख हुने उहाँको तयारी छ । दुई छोराको साथमा उहाँले आफ्नो फार्मलाई अगाडि बढाउनुभएको छ । फूल खेतीबाट आत्मनिर्भर बन्न सफल घिमिरेजस्ता किसानहरूले देखाएको बाटो अहिले धेरै युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ । वैदेशिक रोजगारीको विकल्पस्वरूप मुलुकमै बसेर गर्न सकिने सम्भावनाहरूको खोजीमा रहेका युवाहरूका लागि घिमिरेको कथा एउटा सन्देश हो “सफलता यहीँ छ, आफ्नै माटोमा ।”
फूलले मात्र होइन, सोचले पनि संसार सजिन्छ । यो भनाइले उहाँको जीवन दर्शन प्रतिबिम्बित गर्छ । नेपालमा कृषि क्षेत्रको सम्भावनालाई मूर्तरूप दिन चाहने जो–कोहीका लागि माधव घिमिरेको यो व्यवसाय साँच्चिकै प्रेरणादायी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस