
गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सुविधाको अभावले गर्दा नेपाली गाउँहरू दिनानुदिन रित्तिँदै गएका छन् । युवा पुस्ता शिक्षित भएपछि शहर वा विदेशतर्फ लम्किने क्रम जारी छ । तर यही प्रवृत्तिलाई तोड्दै मिनप्रसाद चौलागाई जस्ता केही युवाले गाउँमै बसेर कृषि व्यवसायबाट आत्मनिर्भर जीवन निर्माण गरिरहनुभएको छ ।
चौरीदेउराली गाउँपालिका वडा नं ४, मजुवा निवासी चौलागाई अहिले एक सफल व्यवसायिक किसानको रूपमा स्थापित हुनुहुन्छ । कक्षा १२ सम्मको अध्ययनपछि चौलागाई पनि अन्य युवाजस्तै काठमाडौं पस्नुभएको थियो । त्यहाँ करिब १२–१३ वर्ष बिताएपछि उहाँले बाउबाजेको खालि रहेको जग्गा सदुपयोग गर्दै गाउँमै केही गर्न सकिन्छ भन्ने अठोट लिएर फर्किनुभयो । शुरुवातमा गाउँ फर्किने निर्णय सजिलो थिएन । परिवारका अन्य सदस्य (बुबा, आमा, भाइ, बुहारी) सबै काठमाडौंमै थिए । तर श्रीमतीसँग सहकार्य गर्दै उहाँले व्यवसायिक कृषि सुरु गर्नुभयो । सुरुको संघर्ष पछाडि आज उहाँको मजुवा चौलागाई कृषि फर्म सफलताको उत्कृष्ट उदाहरण बन्न पुगेको छ ।
हाल चौलागाईको खेतमा धान, मकै, कोदो, गहुँ, फापर जस्ता अन्नबालीसँगै कोर्सानी, प्याज, लसुन, धनिया, साग लगायत तरकारी खेती समेत फस्टाएको छ । वर्षमा दुई पटक बाली लगाइन्छ भने तरकारी उत्पादन बढी हुने उहाँ बताउनुहुन्छ । बर्खामा सिँचाइको समस्या नरहे पनि हिउँदमा केही सिँचाइको कठिनाइ हुने गर्छ । यद्यपि, उहाँले कृषिमा ठूलो चुनौती नभेटिएको अनुभव बताउनुहुन्छ ।
चौलागाई अहिले मौरी पालनमा पनि निकै सक्रिय हुनुहुन्छ । अहिले उहाँकोमा १० घार मौरी पालिएको छ । पहिले थोरै मात्रामा मात्र मौरी पाल्ने गर्नुभएको चौलागाईले सम्भाब्यताको मध्यनजर गर्दै अहिले व्यवसायिक रुपमा नै मौरी पालन गर्न थालिएको उहाँ बताउनुहुन्छ । कम लगानीमा नै राम्रो आम्दानी गर्न सकिने भएकाले यो कामप्रती आफ्नो चासो बढेको उहाँ बताउनुहुन्छ । आगामी दिनमा पनि आफ्नो नियमित कामसँगै यो कामलाई पनि निरन्तरता दिने उहाको योजना रहेको छ । यसमा आफ्नो घर परिवारले पनि साथ दिईरहेकाले निकै सहज भएको उहाँको भनाई छ ।

चौलागाईको मान्यता अनुसार सबैले कृषि गर्नुपर्छ भन्ने होइन । आफ्नो क्षमता र रुचिअनुसार जुनसुकै क्षेत्रमा मेहनत गरे पनि देशमै बसेर सफलता सम्भव छ । उहाँको यही सोच आज धेरै युवाका लागि प्रेरणाको स्रोत बन्न पुगेको छ । खेतीसँगै चौलागाईले ५१ वटा जमुनापारी क्रस जातका बाख्रा र २ वटा स्थानिय जातका भैंसी पालन गर्दै आउनुभएको छ । बाख्रामध्ये केहीमा बोयर जातसँग क्रस गरिएको छ । हाल २ वटै भैसीं व्याउने छ । नत्र दैनिक १०–१२ लिटर दूध उत्पादन भइरहेको हुन्छ । दूध बेच्नुको सट्टा त्यसबाट घ्यु उत्पादन गरेर स्थानीय र बाह्य बजारमा बिक्री गर्नु उहाँको रणनीति हो । घ्युमा नाफा बढी हुने भएकाले यही उपायलाई निरन्तरता दिइएको छ ।
पशुचारेका लागि १६ रोपनी जमिनमा घाँस उत्पादन गरिएकाले उहाँलाई चारोको समस्या छैन । बाउबाजेकै जमिन भएकोले सुरुमा जग्गाको झन्झट पनि भएन । हाल चौलागाईको कृषि फर्ममा करिब ६० लाख रुपैयाँ बराबरको लगानी भइसकेको छ । कृषिको सम्पूर्ण जिम्मेवारी श्रीमान–श्रीमती मिलेर सम्हालिरहनु भएको छ । उहाँ बताउनुहुन्छ, “गाउँ आएर जीवनमा सकारात्मक परिवर्तन आएको छ, गाउँ छोडेर जानेहरूलाई पनि अहिले मिठो खाना गाउँमै पाइन्छ भन्ने सन्देश दिन सकेको छु ।” चौलागाईले अहिलेसम्म कुनै संघ, संस्था वा सरकारी निकायबाट सहयोग नपाएको स्पष्ट रूपमा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुनिन्छ– कार्यकर्तालाई मात्र सहयोग पाइन्छ रे ! म त बिहानदेखि बेलुकासम्म गोठमै हुन्छु, राजनीति गर्न फुर्सद छैन ।” जे जति सहयोग पाईन्छ त्यसैमा आफु सन्तुष्ट रहेको उहाँको भनाई छ ।
८ वर्षअघि दर्ता गरिएको ‘मजुवा चौलागाई कृषि फर्म’ अहिले गाउँकै नमूना फर्मका रूपमा चिनिन्छ । कृषिसँगै चौलागाईले लोकल कुखुरा पालन पनि सुरु गर्नुभएको छ । उहाँको खोरमा करिब ६० वटा कुखुरा राखिएको छ । पहिलो उहाँकोमा ब्रोईलर कुखुरा थिए । उहाँ भन्नुहुन्छ, “कुखुरा पालन मेरो पुख्र्यौली पेसा होइन, तर यसले पनि राम्रै आम्दानी दिइरहेको छ ।” अहिले चौलागाई परिवारको मात्र होइन, गाउँकै प्रेरणादायी नमूना बनेको छ । कृषि मात्र होइन, जे सकिन्छ त्यही गर्नुपर्छ । उहाँको अनुभवमा, सबैले कृषि नै गर्नुपर्छ भन्ने होइन । “जो जसमा सक्षम छ, सीप छ, त्यसैमा लागे राम्रो हुन्छ,” चौलागाई सुझाउनुहुन्छ। गाउँमै बसेर पनि इज्जतका साथ बाँच्न सकिन्छ भन्ने उदाहरण चौलागाई आफैं हुनुहुन्छ । मिनप्रसाद चौलागाई जस्ता व्यक्तिहरूले देखाएको बाटो अहिलेको पुस्ताका लागि मात्र होइन, आउँदा पुस्ताका लागि पनि उदाहरणीय छ । गाउँ छोड्ने होडबीच गाउँ फर्केर सपना साकार पार्नेहरू अझै बाँकी छन्, त्यसका प्रतिनिधि पात्र हुन् चौलागाई ।
मिनप्रसाद चौलागाईले देखाएको साहस, दृष्टिकोण र मेहनत आजको पुस्ताका लागि मात्र होइन, गाउँ र देशको समग्र विकासका लागि प्रेरणादायी छ । देशमै बसेर पनि सम्भावनाको खेती गर्न सकिन्छ भन्ने उज्यालो सन्देश उहाँले आफ्नै अनुभवबाट दिँदै आउनुभएको छ ।