मनिष ढकाल आधुनिक जीवनशैलीभन्दा फरक बाटो रोज्दै आफ्नै ठाउँमै बसेर कृषि तथा कुखुरा पालन व्यवसायमा जुटिरनु भएको छ । हाल उहाँ ‘ढकाल कृषि तथा पशुपालन फर्म’ को सञ्चालक हुनुहुन्छ, जुन १० रोपनी क्षेत्रफलमा फैलिएको छ । आईटी विषयमा अध्ययनरत मनिषले अध्ययनसँगै कृषि क्षेत्रमा केही गर्ने सपना देख्नुभएको थियोे । परम्परागत पेशा पनि कृषि नै भएकाले उहाँलाई थप सहज भयो । पारिवारिक आर्थिक सम्हाल्नको लागि मात्र खेती गर्ने उहाँको परिवारले छोरा मनिषको साथमा मिलेर अहिले व्यावसायिक कृषि तथा कुखुरापालन गरिरहनु भएको छ । बनेपा ५ चण्डेशवरीका ढकाल सुरुवातमा उहाँ आफैं खेतमा मकै र आलु रोप्न थाल्नुभयो । खेतीमा नयाँ प्रविधि र प्रयोगले उत्पादन राम्रो भयो । खेतीमा सफल भएपछि ढकालले ब्रोइलर कुखुरा पालन सुरु गर्नुभयो । सुरुमा सानो संख्याबाट सुरुवात गरे पनि, आफ्नो लगनशीलता र सही व्यवस्थापनका कारण अहिले फर्ममा कुखुराको संख्या तीव्र रूपमा बढिरहेको छ ।
उहाँकोमा ब्रोइलर कुखुरा मात्र पाल्ने गरिन्छ । खोरहरू पनि निकै व्यवस्थित बनाइएको छ । उहाँको खोर २ हजार कुखुरा अट्ने क्षमताको छ । कुखुरापालन व्यवसाय ढकालको परिवारको लागि नयाँ व्यवसाय होइन । विगत २५ वर्षदेखि उहाँको परिवार यही पेशामा लागिरहेको छ । खोर नबनाइकन सानो सङ्ख्यामा घरमा नै पाँचसय÷एकहजारका दरले हरेक लटमा कुखुरा हाल्ने गरिन्थ्यो । पछिल्लो समय भने आधुनिक तौरतरिका समेत अपनाएर उहाँ कुखुरा पालनमा लाग्नुभएको छ । यसको नतिजा पनि राम्रो छ । लगानीअनुसारको आम्दानी पनि राम्रो भइरहेकाले ढकाल सन्तुष्ट नै हुनुहुन्छ । पढाइसँगै कामलाई पनि निरन्तरता दिइरहनुभएका ढकालको सोचलाई परिवारको निकै ठूलो सहयोग रहेको छ ।

‘पढेलेखेको मान्छेले त झन् कृषि जस्ता कुरामा बुझेर लाग्नुपर्ने आजको आवश्यकता हो । आफूले पढेकै विषयमा मात्र काम गर्नुपर्छ भन्ने छैन । पढेलेखेका व्यक्तिले वर्तमान परिस्थिति र समयको माग बुझ्न सक्छन्, र त्यसअनुसार आफूलाई ढाल्न सक्नुलाई नै वास्तविक शैक्षिक उपलब्धि मानिन्छ’, उहाँ भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कृषक भनेको त भगवान नै हो । नेपालको सन्दर्भमा कृषकलाई निकै तल्लो दर्जामा राखेर हेर्ने गरिन्छ । मेरो बुझाइमा यो त पाप नै हो । जसले हरेक हरेक चुलो बाल्छ । उसलाई नै यस्तो नराम्रो सोच्नु अथवा भन्नु हुँदैन । त्यसैले पनि पढेलेखेका मानिस कृषिमा आउन अझै जरुरत छ ।’
उहाँकै व्यवायिक यात्रामा धेरै चुनौती पनि आए । सबभन्दा ठूलो चुनौती थियो बजारको अस्थिर मूल्य र बिचौलियाको प्रभाव । कहिले उत्पादन राम्रोहुँदा पनि उचित मूल्य नपाइने, कहिले बजारमै सामान लैजान समस्या हुने । यस्तै समस्याले उहाँलाई सिकायो कि कृषिमा आत्मनिर्भरता मात्र हैन, नीति र बजार पहुँच पनि आवश्यक छ । अझै पनि यो स्थिति रहिरह्यो भने नेपालमै केही गर्छु भन्ने सोच बनाएका युवाहरु पनि केही समयमा सबै विदेश पलान हुनेछन् ।
ढकालले आफ्नो फर्ममा कुखुराको संख्या दोब्बर बनाउने योजना बनाइरहनुभएको छ । उहाँ प्राविधिक ज्ञानको उपयोग गर्दै व्यवस्थित फार्म सञ्चालन गर्न चाहानुहुन्छ । अरु कुखुरा पालनमा समय लाग्ने भएकाले ढकालको रोजाई ब्रोलरमा नै छ । पहिलेदेखि नै आफ्नो अनुभव ब्रोइलर कुखुरामा नै भएकाले यसलाई नै निरन्तरता दिने उहाँको योजना छ । एक÷दुई हप्ता भयो, ढकालको खोर खाली छ । पछिल्लो लट सकाएपछि अलि समय सही समय कुरिरहनुभएको ढकालले अब एक दुई दिनमा नै कुखुराका चल्ला ल्याउने योजना बनाउनुभएको छ । अब चाहिँ जाडो महिनालाई लक्षित गरेर २ हजार चल्ला आउन लागेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय १८ सय मात्र कुखुरा हालिएको थियो ।
खेतबारीमा भने मकैमात्र लगाइएको छ । मकैको समय सकिएपछि आलु लगाउने गरिएको छ । पहिले मौसमअनुसारका तरकारी पनि लगाउने गरिएको थियो । तर काम गर्ने जनशक्तिको अभावमा अहिले भने मकै र आलु खेती मात्र गर्ने गरिन्छ । अहिले बुबाआमाको साथमा उहाँले आफ्नो कृषि तथा कुखुरा पालन व्यवसायलाई अगाडि बढाइरहनुभएको छ । यदि जनशक्तिको अभाव भयो भने दैनिक ज्यालादारीमा खेताला लगाउने गरिएको उहाँ बताउनुहुन्छ ।
मनिषको माग स्पष्ट छ, ‘सरकारले कृषिमा लागेका युवालाई वित्तीय सहयोग, तालिम र बजार सुनिश्चितता दिनुपर्छ ।’ पहिलेकोभन्दा यी कुराहरुमा निकै सुधार भएपनि अझै धेरै यसमा सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउन जरुरत रहेको उहाँ बताउनुहुन्छ । रणनीतिक योजनाहरू तयार पार्नुपर्ने उहाँ बताउनुहुन्छ । जोखिम नलिइकन सफलता सम्भव छैन। पढाइसँगै केही फरक सोचेमा कृषि भविष्य हुने उहाँको भनाई छ । उहाँको यो सोच, लगन र कर्मशीलता आज धेरै युवाहरूका लागि प्रेरणा बनेको छ ।
सरकारले कृषिमा लागेका युवालाई सहयोग र प्रोत्साहन गर्नुपर्ने उहाँको माग छ । ‘मनिष ढकाल जस्ता युवाहरूले देखाएको मार्गले प्रमाणित गर्छ । सपना देख्न गाउँ जानुपर्छ, विदेश होइन ।’ ढकाल भन्नुहुन् । ब्यबसायमा चुनौती पनि छ । अबस्थित र अस्थिर बजार मूल्यको कारण ढकाललाई पनि कहिलेकाहीँ विदेश जाउँ जस्तो लाग्छ । नेपालमै बस्न मन भएपनि परिस्थितिले कहिलेकाहीँ यस्तो सोच चाहिँ आइरहने उहाँ बताउनुहुन्छ ।