कुनै बेलाका कुशल शिक्षक अहिलेका सफल किसानको रुपमा परिचित हुनुहुन्छ काशिनाथ न्यौपाने। हुँदाखादाको सरकारी जागिर छोडेर बाउबाजेको पालादेखी गरिदैआएको कृषिलाई रोज्नुभएको उहाँको मिहेनत कम छैन । पढेलेखेकाले हिलो माटोको काम गर्नुहुँदैन भन्ने समाजको भनाईलाई उहाँले उल्ट्याईदिनुभएको छ । यसमा न्यौपाने निकै सन्तुष्ट पनि हुनुहुन्छ । विहानभरी गोठ र दिनभरी खेतमा वित्छ न्यौपानेको दैनिकी । दैनिक ८० लिटर दुध बजारमा लिएर जाँदादेखी साँझ खेतबारीमा काम गरेर फर्किदासम्म स–परिवार साथैमा हुन्छ । छोराछोरी हुर्काएर, पढाएर, बढाएर अनि पारिवारिक व्यवहार चलाउँदासम्म पनि न्यौपानेलाई जिवन गुजार चलाउन अरुको भर पर्नुपर्छ जस्तो लागेन । परिवार सबै मिलेर काम गरेकाले पनि कृषिमा सफलता पाएको उहाँको अनुभव छ ।
उहाँको गोठमा हाल ५ वटा भैसीं र ५ वटा गाई छ । किसानलाई साँझ र बिहान खेती नगरे आम्दानी गर्न गारो हुन्छ । आम्दानी नभए परिवार पाल्न मुस्किल पर्छ । फेरी जे जति भएको खेतबारीमा मिहेनत अनुसारको फल मिल्दा सानो परिवार पाल्न मुस्किल पनि पर्दैन । जसको ज्वलन्त उदाहरण न्यौपाने हुनुहुन्छ । खेतिपातीमा व्यस्त न्यौपानेलाई कामबाट रत्तिभर फुर्सद छैन । हात खालि भएर बस्नुपरेको पनि छैन ।
मण्डनदेउपुर ११ जैशिथोकका न्यौपानेले करिब २० रोपनी जनिमा खेती गर्नुभएको छ । कामअनुसार आवश्यकताको आधारमा ज्याला लगाउने गरिएको छ । बाँकी परिवार मिलेर नै काम सम्हालिरहनुभएको छ । अहिले टनेलामा लटरम्म गोलभेडा, खुल्लामा बोडी, काक्रो, करेल लगायताका फलेका छन् । आफ्नो उमेर छदा काम गर्नुपरेन । न्यौपाने भन्नुहुन्छ, ‘पढाई पनि भएकाले धेरै थोरै सकेको समयमा बुबा आमालाई सघाउथे । पछि बुबाकै सिको गरे । नजिकैको विद्यालय चण्डेनी माबिमा लेखा शाखा हेर्ने र पढाउने काम गर्न थाले । त्यो काम राम्रो नै भइरहेको थियो । फेरी पछी कृषिको काम नै ठिक हुन्छ भन्ने लागेर कृषिमा नै लागे । बुबाले कृषिमा राम्रो गर्नुभएको थियो । त्यसको अगाडी जागिरबाट चलेको जिवशैली खल्लो लाग्यो अनि कृषिमा नै फर्किए ।’ न्यौपानेले २०६० सालमा नै स्नातक तहसम्मको अध्ययन सक्किसनुभएको थियो । त्यसकारण जागिरको खाचो थिएन । उहातँलाई विदेश जाने रहर थिएन । जागिर पनि खान मन थिएन । बुबाले कृषिमा गर्नुभएको आम्दानी लगायतका कुरालाई हेरेर भइरहेको खेतीपातीलाई व्यवस्थित बनाउँदै आधुनिकताको साथ खेती गर्ने योजना बनाउनुभयो । सोही अनुसार बजार, औजार, उन्नत जातका बीउ लगायतका कुरामा परिर्वतन गर्दै व्यवसायिक कृषिको थालनी गर्नुभयो ।
न्यौपानेको बीउ विजन, विषाधी सम्बन्धि एउटा पसल पनि छ । जहाँ बिहानको समय दिनुहुन्छ । दिनको समयमा भने खेतमा व्यस्त रहनुहुन्छ । न्यौपानेले खेतीसँगै पशुपालन पनि गरिरहनुभएको छ । न्यौपानेले खुल्ला खेतीसँगै टनेलामा पनि खेती गरिरहुनएभएको छ । कृषि ज्ञान केन्द्रबाट ५० प्रतिशत सहुलियतमा आधुनिक प्रविधीको ग्रिन हाउस परेको थियो । ६ बर्ष भयो अहिले बेमौसमी तरकारी निकाल्नको लागि धेरै सहज भएको उहाँ बताउनुहुन्छ । विषेशगरी बर्खाको समयमा काम गर्नको लागि निकै सहज भइरहेको उहाँको भनाई छ । टनेला २०÷२० मिटर लामो छ । जम्मा १० वटा टनेलामा खेती गरिएको उहाँको भनाई छ । टनेलामा खेती गर्दा करिब १० महिनासम्म आम्दानी लिइरहन सकिने भएकाले खुल्ला खेतीको तुलनामा निकै राम्रो आम्दानी पनि गर्न सकिने उहाँको अनुभव छ ।
खेतीमा अरु पेशामाभन्दा अलि बढी नै मिहेनत पर्छ । मिहेनत परेपनी पछी मिहेनतले रंग ल्याउने उहाँ बताउनुहुन्छ । जागिरमा जस्तो कर लागि नहुँने भएकाले काम गर्न पनि सहज हुने उहाँको अनुभ छ । आफ्नो काम भएपनि मर्जि पनि आफ्नै हुन्छ । त्यसकारण काममा धेरै नै सहज भएको उहाँको अनुभव छ । पछिल्लो समय विदेशिनेको संख्या बढिरहेको छ । नेपालमा नै केही गर्नुपर्छ या गर्न सकिन्छ भन्ने कुरा युवाले बुझ्नुपर्ने र सरकारले पनि नयाँ रणनीति बनाउनु जरुरी रहेको न्यौपानेको भनाई छ ।
न्यौपानेको खेतमा सिजनअनुसारका तरकारी पनि लगाईन्छ । खेती अनुसार फरक लगानी हुन्छ । अहिले गोलभेडा र काउलीमा गरेर करिब ५ लाख रुपैँया जति लगानी भएको छ । आम्दानी पनि तरकारीको उक्त समयको बजारको स्थितीअनुसार नै हुने उहाँ बताउनुहुन्छ । सामान्यतय काउली लगायर मात्र बर्षभरीमा २० लाख रुपैँयासम्म आम्दानी हुने गरेको उहाँ सुनाउनुहुन्छ । मंसिरदेखी फागुनसम्म खेतमा लटलट मिलाएर खेती गरिन्छ । त्यसमा काउलीबाट मात्र पनि निकै राम्रो आम्दानी हुने उहाँको अनुभव छ । न्यौपानेकाअनुसार त्यो बाहेक काउली, गोलभेडा, भण्टा, बोडी, करेला लगायत सबै तरकारीबाट राम्रो बजार भाउ बस्दा बर्खाको समयमा पनि १५÷२० लाख नाफ बस्छ जसमा लगानी ७÷८ लाख भएको हुन्छ ।
सिंचाई, बजार र मूल्य जस्ता कुरामा सरकार न्यौपानेको माग छ । स्थानिय सरकारले पनि यसमा थप काम गर्न सके अझ व्यवस्थित भएर किसानलाई सहज हुने उहाँ बताउनुहुन्छ । रसायनिक मलको लागि पनि घण्टौ लाईन बस्न पर्ने समस्या पनि राज्यको नजरमा पर्न जरुरी रहेको उहाँ बताउनुहुन्छ । बजारमा बेला बेला मल नपाईने, बीउ बिजन लगायतका समस्या देखा परिरहेको हुन्छ । जसले गर्दा किसानहरुलाई निकै मर्का पर्ने उहाँ बताउनुहुन्छ । फेरी बल्लबल्ल भएको उत्पादन पनि बिचौलियको हातमा निकै कम मूल्यमा तरकारी सुम्पिनुपर्ने समस्या पनि किसानहरुलाई छ । यसमा सरकारको ध्यान जानूपर्ने उहाँको अनुभव छ ।
न्यौपानेले ‘न्यु उमादेबी कृषि फर्म’ भनेर दर्ता पनि गर्नुभएको छ । दर्ता गरेको कारण, टनेला, थोपा सिंचाई लगायतका कुरामा सरकारी सहयोग पनि पाईएको उहाँ बताउनुहुन्छ । अहिले भइरहेको व्यवसायलाई नयाँ तरिकाले व्यवस्थित बनाउँदै जाने उहाँको योजना छ । टनेलाको संख्या पनि बढाउँदै जाने उहाँको तयार छ ।