पर्दामा पौरख

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ कार्तिक ५, बुधबार (१ महिना अघि)
  • १५८ पटक पढिएको

पर्दामा पौरख

निरन जोशी
बनेपा नगरपालिका वडा नं. ६, बुडोल
सर्प पनि मर्ने लाठी पनि नभाचिने । व्यवसायमा यही भनाईलाई चरितार्थ गर्न कोशिस गर्दै हुनुहुन्थ्यो निरन जोशी । तर भने जस्ता कहाँ हुन्छ र ! थोरै लगानीमा धेरै आम्दानी कसरी पो सजह हुथ्यो । लामो समयको कोशिसपछी जोशी सबै कुरामा हार मानेर विदेश जाने सोचमा पुग्नुभयो । हातमा पासपार्ट पनि आयो । स्नातक तहको प्रमाणपत्र साईड लगाएर मेनपावरको चक्कर लगाएको दिन उहाँको दिमागमा अझैँ घुमिरहन्छ ।
भगवान्ले ‘तिमी आँट म पुर्याउछु’ भन्नुहुन्छ रे ! यस्तै भयो जोशीलाई । विदेश जाने बाटो रोकिएर पर्दा पसलमा काम मिल्योे । जुन अहिलेको समयमा उहाँलाई त्यो बरदान जस्तो लाग्छ । काठमाडौँको न्युरोडमा करिब ४ बर्ष अरुको पसलमा काम गरेपछी २०७३ साल बैसाख ३ गते बनेपा आउनुभयो । काठमाडौँबाट आउँदा गोजिमा १० हजार रुपैँया ऋण थियो । त्यही ऋण लगानी गरी सुरु भएको व्यवसायमा विहान ५ बजेदेखी बेलुका ११÷१२ बजेसम्म मिहेनत गर्नुभयो । सफलताको लागि जोशीको जोडी निकै मिहेनतका साथ लागि परेको थियो । आफ्नो उद्देश्य पेटको लागि भोक, तिर्दा, थकाई केही नभनी दिन रात खटिनुभयो । जसको प्रतिफल अहिले पाईरहेको उहाँ बताउनुहुन्छ ।
बनेपामा नै पर्दा पसल थालनी गरेको पनि अहिले ८ बर्ष भइसक्यो । बनेपाको गोदामचोकमा निकै सानो लगानीबाट व्यवसायको सुरुवात भएको थियो । सुरुमा काम सिक्दा पनि सिकेको ठाउँमा निकै राम्रो सिकाईएको थियो । धेरै लगानी पनि नपर्ने र आम्दानी भने निकै राम्रो हुने देखेपछी उहाँले आफु पनि यही पेशा अपनाउने सोच बनाउनुभयो ।
अरुको घरमा कोठाभाडा तिरेर बस्दादेखी आफ्नै घर बनाउँदासम्मको यात्रा जोशीको लागि सहज थिएन । अरुको घरको झ्यालको लागि पर्दा तयार पार्दापार्दै भएको आम्दानीले सामान्य जिवन गुजार गर्ने जोशी अहिले आफ्नै घर बनाउनुभएको छ । निकै मिहेनती र लगनशील बनेपा नगरपालिका वडा नं ६ बुडोलका जोशीको अहिले आफ्नै कारखाना छ । यसमा साथ दिनुहुन्छ उहाँको श्रीमती सोनु श्रेष्ठ जोशी । जोशीको जोडी अहिले उही होलसेल तथा खुद्रा पसलमा व्यस्त छ ।
आफ्नोमा आउँने ग्राहक निकै सन्तुष्ट भएर जाने गरेको उहाँको भनाई छ । होलसेल पनि बिक्रि गर्ने भएकाले पुराना ग्राहकहरु अझैँ निरन्तर रुपमा आईरहेको उहाँ बताउनुहुन्छ । अरुलाई धेरै मर्का नै पर्नेगरी मुनाफा राख्नेभन्दा पनि आफु पनि घाटामा नजाने र अरुलाई पनि सहज हुने भाउमा बिक्रि गर्ने जोशीको विषेशता हो । जसकारण उहाँकोमा ग्राहकको संख्या राम्रो मात्रामा रहेका छन् । अहिले आफ्नै घर बुडोलमा उहाँको पसल सरेको छ । जहाँ सोफा कभर बाहेक सबै खालका कभर तयार हुन्छ । अहिले तत्काल सोफा कभर नबनाए पनि पछी बनाउँदै जाने उहाँको योजना छ । अरु पसलमाभन्दा सस्तो र गुणस्तर पनि हुने भएकाले ग्राहकलाई पनि खुसी नै बनाउन सकिएको उहाँ बताउनुहुन्छ ।
जोशिले पसलमा ११ जनासम्म कर्मचारी राखेर काम गर्नुभएको थियो । अहिले पनि २ जना कर्मचारी नियमित रुपमा खटिइरहनुभएको छ । केही पुराना कर्मचारी जसलाई आफैँले सिकाउनुभएको थियो, अहिले उहाँहरुले आफ्नै पसल गरिरनुभएको छ । त्यसमा आफुलाई निकै खुसी लाग्ने गरेको अनुभव जोशी सुनाउनुहुन्छ । आफ्नो पेशामा निकै गर्व लाग्ने उहाँको भनाई छ । आफ्नो काममा उहाँ निकै सन्तुष्ट पनि देखिनुहुन्छ ।
सुरुमा ५० हजारको लगानीबाट व्यवसायको सुरुवात भएको थियो । अहिले पनि धेरै लगानी छैन तर आम्दानी भने मासिक कम्तीमा पनि डेढ लाखसम्म हुने गरेको छ । २ जना छोरा सहितको जोशी परिवार निकै खुसीका साथ यस पेशामा रमेको छ । ३२ बर्षिय जोशीको आफ्नो पेशालाई लिएर कारखाना बाहेक हाईवेय साईडमा एउटा अर्को पसल पनि राख्ने योजना छ । सफलताको लागि धेरै ठाउँमा ठक्कर खाएको कारण जोशीलाई अहिले दुःखसँग डर लाग्दैन । २०६३ सालमा एसएलसीसम्मको अध्ययनपछी २०६४ सालमा भविष्यको खोजीमा उहाँ काठमाडौँ प्रवेश गर्नुभएको थियो । सेनामा भर्ती भएर देशको सेवा गर्ने जोशीको ठुलो सपना थियो । आफ्नो सपनाको लागि उहाँले प्रयास पनि गर्नुभएको थियो । तर ‘सपना र मिहेनत मात्र काम नलाग्दो रहेछ ।’ जोशी भन्नुहुन्छ, सपना पुरा गर्न व्याक सपोर्टले ठुलो भूमिका खेल्दो रहेछ ।’ अहिले गरेको कामले सफलता मिल्दैगएपछी आफुले देखेको सपना पुरा नभएको र जिवनमा पाएको दुःखले खासै पिडा नहुँने उहाँ बताउनुहुन्छ । जिवनमा जति उतारचढाब आए पनि त्यसको लागि आफु सदैब तयार नै रहेको उहाँको भनाई छ ।
पहिलेकोभन्दा अहिले व्यवसायमा लगानी गर्ने वातावरण नभएको उहाँ बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ, ‘कुनै व्यक्ति खराब भएरभन्दा पनि अहिलेको समय लगानी गर्न त्यक्ति उपयुक्त छैन । त्यसकारण लगानी डुब्ने सम्भावना धेरै हुन्छ । जोशीले आफ्नो व्यवसाय दर्ता गरेर आधिरिक रुपमा नै काम गरिरहनुभएको छ । अहिलेको युवापिढीलाई जोशी नआत्तिनको लागि सुझाब पनि दिनुहुन्छ । आफुले जे कामको थालनी गरेको छ त्यसलाई निरन्तरता दिएमा मात्र सफलता पाईने उहाँको भनाई छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस