१० वर्षको उमेरमा नै कृषि तथा पशुपालनको बारेमा राम्रो ज्ञान लिईसक्नुभएका पुरुषोत्तम खुलाल अहिले सफल कृषि तथा पशुपालन व्यवसायी हुनुभएको छ । बनेपा नगरपालिका ९ ठकुरी गाउँका खुलालको अहिले न त गोठ खाली छ, न त खेतबारी । विगत २०÷२२ वर्षदेखि यही पेशामा उहाँले आफूलाई समर्पित गर्नुभएको छ । सम्पूर्ण परिवार यही पेशामा आबद्ध भएकाले पनि आफूलाई सानै उमेरबाट यो काम जान्न र बुझ्नको लागि सहज भयो । व्यवसायीक खेती गरेको लामो समय भएपनि पाँच वर्ष अगाडिदेखि मात्रै दर्तासहित काम गरिरहनुभएको छ । आफूलाई चाहिने सामान्यभन्दा सामान्य खर्च जुटाउन अहिले कहीँ कतै जान नपरेकोमा उहाँ सन्तुष्ट पनि हुनुहुन्छ ।
खुलालको गोठमा अहिले नौवटा भैँसी र तीनवटा गाई छन् । साना बाछाबाछी र पाडापाडी पनि छन् । सिजनको समयमा सय लिटरभन्दा माथि र बेसीजनमा पनि कम्तीमा ४० लिटर दुध उहाँको गोठबाट नियमित उत्पादन हुने गरेको छ । अहिले प्राय गाई भैंसी ब्याउने भएकाले दुध कमै उत्पादन भइरहेको छ । केही समयमा दुधको मात्र बढ्ने उहाँ बताउनुहुन्छ । खुलाल पहिले डेरी व्यवसाय पनि हुनुहुन्थ्यो । अहिले भने काम गर्ने जनशक्तिको अभावमा उहाँले यही कामलाई मात्रै निरन्तरता दिइरहनु भएको छ । जनशक्ति कै अभावमा उहाँले तरकारी खेती पनि कम नै गर्दै आउनुभएको छ । तर मकै र आलु भने नियमित रुपमा लगाउनुहुन्छ ।
खुलालको स–परिवार यही पेशामा आबद्ध भएकाले पनि काम गर्न अझ धेरै सहज भइरहेको उहाँको अनुभव छ । माध्यमिक तहसम्मको अध्ययन लगत्तै पारिवारिक व्यवसायलाई आफूले पनि जिम्मेवार भएर यसप्रति आफ्नो लगाब ढाल्दै जानुभएको थियो । सानैदेखि बुबाआमाले पनि यही काम गरेको देखेर उहाँले आफ्नो परिवारमा काम गर्न हात बढाउन सहयोग गर्न थाल्नुभएको थियो । अहिले खुलाल उमेरले ३० वर्षको हुनुभयो । हाल फार्मको सम्पूर्ण जिम्मेवारी उहाँले नै निर्वाह गर्दै आउनुभएको छ ।
अरुको जागिर खाएर तलबको भरमा बस्नुभन्दा सानो भएपनि आफैले काम गर्नु उहाँलाई उचित लागेकाले नै कृषि पेसामा आबद्ध भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यदि जागिर नै खान जाने हो भने पनि सरकारले तोकेको बमोजिम तलब हुँदैन । समयमा तलब नआउने, काम गरेको पैसा नै नआउने धेरै साथीहरूको समस्या हामीले देखेका पनि छौँ । यति हुँदाहुँदै फेरि जागिर खान जाने भन्ने त आँटै आउँदैन् । आफ्नो भएको जमिनको सदुपयोग गर्दै सानो कृषि नै मात्र गर्ने हो भने पनि यसमा धेरै राम्रो छ । यो व्यवसाय टुङ्गेला, घाटा लाग्ला भन्ने डर हुँदैन । यसमा पनि अझ पशुपालन गर्ने हो भने त महिनाभरि तलब कुरेर बस्नु पनि पर्दैन । लगानी गरिरहने पैसा १०÷१५ दिनको फरकमा आइरहेको हुन्छ । पशुपंक्षीलाई खुवाइरहनुपर्ने दाना, ढुटो लगायतका सामान किन्नको लागि अन्त खोजेर हिँड्नुपर्दैन । एकमुष्टमा ठूलो रकम हात पार्न नसके पनि किसानले हात खाली चाहिँ बस्नु पर्दैन । त्यसैले अरु काम गर्नुभन्दा मलाई कृषि व्यवसाय नै गर्न उचित लाग्छ ।’
व्यवसायिक फार्मको सुरुवात गर्दा जम्मा गोठमा पाँचवटा भैंसी थिए । पाँचवटा भैसीबाट नै उहाँले आफ्नो व्यावसायिक पशुपालन यात्रालाई अगाडि बढाउनुभएको थियो । लगानी पनि बिस्तारै बिस्तारै बढाउँदै जानुभयो । अहिले लगानीअनुसारको आम्दानी चित्त बुझ्दो नै छ । तर सरल र सुलभ दरमा बैंकबाट ऋण उपलब्ध भयो भने व्यवसायलाई बढावा दिन सहज हुने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘मैले सुलभ दरमा ऋण उपलब्ध भएपनि काम गर्न सहज हुन्छ भनेर धेरै ठाउँमा नधाएको पनि होइन । तर निकै झन्झटिलो प्रक्रिया छ । यसले गर्दा सामान्य किसानलाई अलिकति व्यवसाय बढाएर गरौँ न त भन्यो भने समस्या नै हुने रहेछ ।’ स्थानीय सरकार अथवा अन्य निकायबाट यस्ता खालका कुरामा पहल गरिदिने हो भने किसानहरूलाई निकै टेवा पुग्ने उहाँको भनाई छ ।
कृषि ज्ञान केन्द्र र नगरपालिकाबाट उहाँले सामान्य खालका अनुदानहरू पाउनुभएको छ । तर अनुदानभन्दा पनि लगानी बढाउन सकिएन भने व्यवसाय स्थिर रहने उहाँ बताउनुहुन्छ ।
गत वर्ष मात्रै उहाँले फर्मको दायरा बढाउनुभएको छ । केही गाईभैँसी पनि थप्नुभएको छ । आगामी दिनमा यसलाई अझै धेरै ठूलो बनाउने लक्ष्यका साथ उहाँको दैनिकी बितिरहेको छ । खुलाल आफ्नो बुझ्ने उमेर भएदेखि अहिलेसम्मको यात्रामा कृषि पेशामा नै समाहित हुनुभएको छ । आगामी वर्षहरूमा पनि कृषि फार्मको दायरालाई नै बृहत बनाउँदै जाने उहाँको लक्ष्य छ । यदि गर्ने हो भने नेपालमा पनि निकै सम्भावना रहेको उहाँको अनुभव छ । तर अहिलेको युवा पिढीलाई छोटो समयमा छिटो कमाउनुपर्छ भन्ने मानसिकता बसेको छ । उहाँहरूलाई हतोत्साहित नहुने गरी केही नयाँ कार्यक्रम सरकारको तर्फबाट हुने हो भने अझ सहज हुने उहाँ बताउनुहुन्छ ।
पुरुषोत्तम खुलालको कहानी सफलता मात्र होइन, एक उदाहरण हो जसले देखाउँछ कि सानो उमेरमै कृषिमा गहिरो समझ, दीर्घकालीन प्रतिबद्धता, र पारिवारिक सहयोगले कसरी स्थायी व्यवसाय निर्माण गर्न सक्छ । उहाँको गोठ वा खेत खाली छैन—यसैले आज सफल व्यवसायीको रूपमा उहाँले आफ्नो यात्रा तय गर्नुभएको छ ।