कहिल्यै नथाक्ने जोश, अथक परिश्रम र आफ्नै माटोप्रति गहिरो माया । यही नै गुणहरूले पाँचखाल नगरपालिका वडा नं. ९ राम्चेका श्याम बहादुर विश्वकर्मालाई आज एक सफल किसानका रूपमा स्थापित गराएको छ । गाउँकै परिवेशमा आधुनिक गाईपालन र तरकारी खेतीको संयोजन गरेर आत्मनिर्भर जीवनशैली विकास गर्न सफल विश्वकर्मा अहिले धेरैका लागि प्रेरणादायी पात्र बनेका छन् ।
विश्वकर्माले कहिल्यै विदेश जाने सोच बनाउनुभएन । सानैदेखि “नेपालमै केही गर्छु” भन्ने दृढ अठोटले उहाँलाई कृषिको बाटोमा डो¥यायो । कृषि पेशालाई आत्मनिर्भरता र सम्मानका साथ अघि बढाउन सकिन्छ भन्ने प्रमाण उहाँले आफ्नै जीवनमार्फत देखाइरहनुभएको छ । कहिल्यै नहार्ने जोश र आफ्नै माटोप्रति प्रेम, यही बाटोले विश्वकर्मालाई सफल किसान बनायो । कहिल्यै विदेश जाने सोच्ने उहाँले अहिले आफ्नै गाउँमा आधुनिक गाई पालन तथा तरिकाले तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहनुभएको छ । परिवार पाल्न अरु समक्ष हात फैलाउनुपर्ने अवस्था छैन ।
करिब तीन वर्षअघि विश्वकर्माले आफ्नै लगानीमा “नमुना दूध उत्पादन कृषि तथा पशुपंक्षी फार्म” नामक फार्म दर्ता गर्नुभयो । राज्यलाई पनि योगदान पु¥याउने सोचका साथ सुरु गरिएको यो फार्म अहिले गाउँकै गौरव बनेको छ । उहाँको गोठमा हाल चारवटा गाई र एउटा बाछी रहेका छन् । दैनिक २० लिटरसम्म दूध उत्पादन हुने गरेको छ । दुईवटा गाई मात्रै लैनो भएकाले दूध उत्पादन हाल केही घटेको भए पनि उहाँले विस्तारका योजना अघि बढाइरहनुभएको छ । फार्म दर्ता गर्दा उहाँले सरकारसँग सहकार्य गरेर कृषि क्षेत्रमा केही योगदान गर्न सकियोस् भन्ने उद्देश्य राख्नुभएको थियो । उहाँ भन्नुहुन्छ, “हामीले सानो काम ठानेर सुरु गरेको कुरा पनि देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउन सक्छ, यदि राज्यले किसानलाई प्रोत्साहन ग¥यो भने कृषिमा राम्रो परिवर्तन आउँन सक्छ ।”
दूध उत्पादनसँगै विश्वकर्मा धान, आलु र मौसमी तरकारी खेती पनि गर्दै आउनुभएको छ । आलु, काउली, गोलभेडा, काँक्रा, सिमी, बन्दा, टमाटरजस्ता तरकारी उत्पादन गरेर उहाँले राम्रो आम्दानी गर्नुभएको छ । उहाँले लगभग सात–आठ रोपनी क्षेत्रफलमा खेती गर्दै आउनभएको छ । आफ्नै जग्गा भएको कारण लिजमा जमिन लिन नपरेको र त्यसले खर्च घटाउन सहयोग पु¥याएको उहाँ बताउनुहुन्छ । उहाँको फार्ममा विभिन्न फलफुलहरु पनि उत्पादन हुने गरेका छ । आँप, लिचि लगायतका फलफुल उत्पादन हुदैँ आएको छ । आम्दानीको मुख्य केन्द्र फलफुल नभए पनि उत्पादन भएका यस्ता कुराहरु बजार पुर्याउने गरिएको उहाँको भनाई छ ।
“अहिलेको खेती आत्मनिर्भर मात्र होइन, व्यावसायिक पनि हुनुपर्छ,” उहाँ भन्नुहुन्छ, “सिजनअनुसारका तरकारीले राम्रो आम्दानी दिन्छ, त्यसैले यसलाई निरन्तरता दिइरहेको छु ।” विश्वकर्माको फार्ममा अहिले करिब २० वटा गाई अट्ने क्षमताको गोठ निर्माण भइसकेको छ । हाल गाईको संख्या घटेकाले गोठ खुला नै छ, तर भविष्यमा यही फार्मलाई विस्तार गर्दै २० भन्दा बढी गाई राख्ने योजना उहाँको छ । पहिले पनि १६ वटाभन्दा बढी गाई पालेको अनुभब भएकाले काममा सहज हुने उहाँको अपेक्षा छ ।
सुरुमा करिब ३० लाख रुपैयाँको लगानीमा व्यवसाय सुरु गरिएको थियो । आर्थिक चुनौतीका कारण हाल केही गाई घटाउनुपरेको भए पनि नजिकिँदै गरेको जाडो मौसमपछि फेरि संख्या बढाउने तयारी भइरहेको छ ।पहिलेको तुलनामा अहिलेको कृषि प्रणाली धेरै आधुनिक र व्यावसायिक बन्दै गएको विश्वकर्माको अनुभव छ । उहाँ भन्छन्, “पहिले खानलाउन पुग्ने हिसाबले मात्र खेती गरिन्थ्यो, अहिले पढेलेखेकाले पनि व्यावसायिक रूपमा कृषि गर्न थालेका छन् । पहिले ‘कृषि पढेलेखेका मानिसको काम होइन’ भन्ने धारणा थियो, तर अहिले त्यो सोच परिवर्तन हुँदै गएको छ ।” उहाँको विश्वास छ, कृषि क्षेत्रको आधुनिकीकरण र बजार स्थिरता सुनिश्चित गर्न सकेमा नेपालको अर्थतन्त्रमा ठूलो रूपान्तरण आउन सक्छ ।
बजार मूल्य स्थिर नहुँदा धेरै किसानले घाटा व्यहोर्नुपरेको कुरामा उहाँ चिन्तित हुनुहुन्छ । उहाँको भनाइमा, “कृषकले उत्पादन गरेको वस्तुको उचित मूल्य नपाउँदा उनीहरू निरुत्साहित हुन्छन् । दूधको भुक्तानी समयमा नहुँदा धेरै किसानले पशुपालन नै बन्द गर्ने अवस्था आइरहेको छ ।” त्यसैले सरकारले किसानलाई प्रोत्साहन गर्ने, बजार मूल्यमा स्थायित्व ल्याउने र अनुदानका यस्स्ता विभिन्न खालका कार्यक्रमहरु प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँको सुझाव छ ।
४८ वर्षीय विश्वकर्माले एसएलसीसम्म अध्ययन गर्नुभएको छ । देशका लागि केही गर्नुपर्छ भन्ने अठोटका साथ उहाँ विभिन्न राजनीतिक गतिविधिमा पनि सक्रिय हुनुहुन्छ । राजनीति र कृषि— दुबै क्षेत्रमा योगदान दिइरहेका उहाँ भन्नुहुन्छ, “कृषिमा लागेपछि आर्थिक रूपमा कहिल्यै अरूको भर पर्नु परेको छैन । यसले आत्मसम्मान र आत्मनिर्भरता सिकाएको छ ।”
विश्वकर्माको अन्तिम भनाइमा “जबसम्म कृषि क्षेत्र माथि उठ्न सक्दैन, तबसम्म राज्यको अर्थतन्त्र पनि माथि उठ्न सक्दैन ।” उहाँको जस्तो सोच र परिश्रम देशभर फैलिन सकेमा, नेपाली युवा विदेशतिर होइन, आफ्नै माटोमा उज्ज्वल भविष्य खोज्न प्रेरित हुनेछन् ।