३ वर्षको मलेशिया बसाईपछि बेथानचोक गाउँपालिका–३, कुनेखर्कका बालकृष्ण तिमल्सिनाले आफ्नै माटोमा पसिना बगाउने निर्णय गर्नुभयो । उहाँ हाल पूर्ण रूपमा कृषि पेशामा संलग्न हुनुहुन्छ । विहानदेखि बेलुकासम्म खेतबारीमा व्यस्त रहने उहाँलाई अहिले फुर्सदका क्षण निकै कम छन् ।
कृषि भनेको उहाँका लागि नयाँ कुरा होइन । परापूर्वकालदेखि नै कृषि पेशा गर्दै आएको परिवारमा जन्मिनु भएकाले बाल्यकालदेखि नै कृषि कार्यसँग परिचित हुनुहुन्थ्यो । सानो उमेरदेखि नै खेतीपातीको काम देख्दै र गर्दै हुर्कनुभएका कारण यो पेशामा उहाँलाई सहजता र आत्मविश्वास दुवै छ । मलेशियामा तीन वर्ष वैदेशिक रोजगारमा बिताएपछि बालकृष्ण नेपाल फर्किनु भयो । फर्किएपछि विदेशी अनुभव र आफ्नै मेहनतलाई जोड्दै कृषिमा नयाँ सुरुवात गर्नुभयो । परिवारको साथ र सहयोगले उहाँको प्रयास अझै सफल र सशक्त बन्न पुगेको छ ।
हाल उहाँको “कुनेखर्क कृषि तथा लप्सी फर्म” नामक फर्म दर्ता भइसकेको छ । उहाँले आधुनिक प्रविधि र सीपको प्रयोग गर्दै कृषिमा आत्मनिर्भर बन्ने अभियान अघि बढाइरहनु भएको छ । बालकृष्ण तिमल्सिनाको यो यात्रा धेरै युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ — कि विदेशमा मात्र होइन, आफ्नै गाउँघरमा पनि कडा परिश्रम र दृढ इच्छाशक्तिबाट सफलता हासिल गर्न सकिन्छ ।
उहाँकोमा अहिले सिताके च्याउ पनि उत्पादन हुन्छ । यसका साथै ७ घार मौरी पनि छन् । जसले निकै राम्रो आम्दानी भइरहेको उहाँको भनाई छ । पानिको समस्याले बारम्बार दुःख दिए पनि काममा हौसला हार्नु हुँदैन भन्ने उहाँको मान्यता छ । पहिले प्रविधिको प्रायोग हुदैँन थियो । अहिले नयाँ नयाँ प्रविधिको विकाससँगै प्रयोगमा पनि आएकाले कृषकहरुको लाथि थप सहज भएको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘पहिले आफुलाई चाहिले सबै प्रकारका बीउ विजन आफैँ जोहो गरेर उत्पादन गरिन्थ्यो त्यसले गर्दा हामीलाई सहज भएको थियो ।’ उहाँ थप्नुहुन्छ, ‘बजारमा बीउ पाईएन भन्ने चिन्ता पनि हुदैँन थियो । बरु अरुलाई समेत बीउ बाड्न भ्याउथ्यौँ । पुगेन भने अैचोपैचो चल्थ्यो । अहिले सबै जना बजारमा पाईने हाइब्रिट जातको विउ कुरेर बस्छौँ । त्यसैले त बेलाबेलामा बीउको हाहाकार मचिन्छ । त्यसमाथि धेरै थरिका बीउहरु त लोप भइसकेको छन् । जस्तो पहिले पहिले मैले नै पनि खेतमा गहत, मस्याङ लगायतका गेडागुडीहरु लगाउने गरेको थिए । अहिले त्यो सबै पाउन निकै गरो छ । पाइहालियो भने पनि हाइब्रिट मात्र पाईन्छ । बरु पहिले थोरै हुने आलु, मकै धेरै हुने गरेको छ । पहिले खेत धानले मात्र लटरम्म हुन्थ्यो अहिले धेरै मकै छ ।’
तरकारीमा उहाँको सबैभन्दा धेरै अकबरे खुसार्नी रहेको । जसको बजारमा माग पनि निकै राम्रो छ र भाउ राम्रो भएकाले आम्दानी पनि राम्रो नै रहेको छ । स्वाथ्यको लागि पनि राम्रो हुने भएकाले यो खुसार्नी बजारमा धेरै जाने गरेको छ । उहाँले आलु, मकै, धान लगायतका खाद्य बाली लगाउदैँ आउनुभएको छ भने टनेलामा धनिया, लगाउनुभएको छ । अहिले एक लट सक्किएर अर्को लट धनिया लगाइसक्नुभएको छ । करिब एक रोपनीमा बन्दा लगाउनुभएको छ । अहिले भइरहेको कृषि तथा पशुपालनलाई र लप्सि खेतीलाई अझैँ बढाउदैँ लैजाने उहाँको योजना रहेको छ ।
पशुपालनमा चाहीँ पहिले भन्दा केही सहज भएको छ । ४ वटा भैसीं र १ वटा गाई पालन गरिरहुनभएको तिमल्सिनाले दैनिक १८ लिटर जति दुध उत्पदान गर्दै आउनु भएको छ । पहिले दुध उत्पादन गरेपछि बेच्नको लागि निकै टाढा जानूपर्थ्यो । उहाँ थप्नुहुन्छ, ‘त्यतीमात्र होइन संकलनको काम पनि व्यक्ति स्यमंले गर्नुपर्ने हुन्थ्यो । हामी यहाँबाट पनौती सम्म पुग्थ्यौँ । अहिले नजिकै डेरी छ । डेरीले नै संकल गरेर लैजान्छ त्यसकारण सहज भएको छ । अव प्याकेजिङको सुुविधाभयो भने किसानलाइ झनै धेरै । सहज हुनेमा हामी ढुक्क छौ ।’ घाँसको लागि भने उहाँलाई कुनै समस्या छैन । बर्खाको समयमा खेतबारी र पाखोको हरियो घाँस नै हुन्छ । बाँकी समयमा भुस्सा र खेतवारीको घाँस मिसाएर खुवाउने गर्नुभएको छ ।
तिमल्सिनाले लप्सिहरु पनि लगाउनुभएको छ । पहिले ठुलो संख्यामा हुने लप्सिखेती अहिले कम हुन थालेको छ । अहिले पुर्खोली बोट ५ वटा छ । अहिले नयाँ बोटहरु पनि लगाउनुभएको छ । अहिले बर्षमा ५ किलो जति लप्सि बेच्दैँ आउनुभएको छ । बजार भाउ राम्रो भयो भने आम्दानी पनि राम्रो हुदैँ आएको उहाँ बताउनुहुन्छ । पहिले आफैँले घरमा सबै प्रकृया पुर्याए बजारमा लानूपरथ्यो । अहिले त्यो समस्या पनि छैन । सिधै लप्सि बजारमा पर्याए हुन्छ । अझ घरमा नै क्याडी, माडा बनाएर लान सकियो भने त झनै राम्रो । यो लप्सिको पनि बजारमा माग राम्रो भएकाले उत्पादन बढाउने उहाँको तयारी छ ।
२०६९ सालमा मलेशिया जानूभएका तिमल्सिना २०७२ सालमा नेपाल फर्किनुभएको थियो । खासमा भूकम्पको कारण पारिवारिक समस्या भएकाले नेपाल आउनुभएका उहाँ फेरी विदेश नजाने मनस्थितीमा पुग्नुभयो । जानेको र राम्रो हुने सम्भावना देखेपछि उहाँले फेरी उही पुरानो कृषि पेशाको सुरुवात गर्नुभयो । नेपाल बैंकबाट केही कर्जा लिएर कृषिको सुरुवात गर्नुभएका उहाँले फर्म पनि दर्ता गर्नुभयो । अहिले फस्टाएको कृषि देखेर तिमल्सिनालाई कृषिमा फर्किने निर्णय गरेर कुनै गलत गरे जस्तो लाग्दैँन । बरु समयमा नै यो निर्णय गरेकाले राम्रो गरे भन्ने कुराको भान हुन्छ । कतिले जग्गा लिजमा लिएर कृषि गरिरहेका हुन्छन् तर आफ्नो आफ्नै खेतबारी भएकाले कृषिमा निकै सहज भएको उहाँको भनाई छ । परिवारसंगै बसेर गर्न पाईएकाले अझैँ खुसी लाग्ने गरेको छ । ४६ बर्षिय तिमल्सिनाले एसएसी सम्मको अध्ययन गर्नुभएको छ ।
पहिले भात खान रहर लागेर मकैको च्याख्लाको भात बनाएर खाईन्थ्यो । अहिले भात खान कुनै समस्या छैन । सबै अर्गानिक हुने गरेको छ । आफ्नै खेतको कमै, कोदो खानामा फल्ने गरेको छ । तरकारी सबै आफ्नै बारीको हुन्छ । दुध आफ्नै गाईभैसींको छ । यसले आफुलाई पनि सहज भएको उहाँ बताउनुहुन्छ । यसरी खादा स्वास्थताको हिसावले पनि निकै राम्रो भएको उहाँ बताउनुहुन्छ । सरकाले किसानलाई औषधी प्रयोग गर्ने तरिका, बजार व्यवस्थापन लगायतका कुरामा सहजिकरण गरिदियो भने धेरै राम्रो हुने तिमल्सिनाको भनाई छ । यसका साथै स्थानीय तह वा अन्य संघसंस्थाबाट सहयोेग पाइयो भने कृषिमा अझैँ उर्जा मिल्ने उहाँको भनाई छ ।