वैदेशिक रोजगारीमा दशकभन्दा बढी समय बिताएपछि नेपाल फर्केर कृषि क्षेत्रमा आफ्नो पहिचान बनाएका रुपेश पाख्रिन अहिले सफल कृषकका रूपमा धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । छोटो अवधिमै उनले आफ्नो परिश्रम, लगन र सकारात्मक सोचका कारण कृषि क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ ।
पाख्रिनको यो सफल यात्राको सुरुवात भने सजिलो थिएन । उमेरको १९ वर्षमै वैदेशिक रोजगारीका लागि इराक पुग्नुभएको उहाँ २००८ देखि २०१९ सम्म अफगानिस्तान, दुबई, मकाउ लगायतका देशमा काम गर्दै आफ्नो जीवनका अमूल्य वर्षहरू विदेशमै बिताउनुभयो । लामो समय विदेशमा बिताउँदा प्राप्त अनुभवले उहाँलाई अनुशासन, परिश्रम र व्यवस्थापन सिकायो, तर मनको कुनामा सधैं “नेपालमै बसेर केही गर्ने” चाहना पलाइरहन्थ्यो ।
नेपाल फर्केपछि स्वास्थ्यमा केही समस्या देखिएपछि उहाँ केही समय विश्राममा हुनुहुन्थ्यो । त्यहीबीच गाउँकै एक व्यक्तिको कथा, जसको स्वास्थ्य अवस्था कमजोर थियो तर पनि उहाँले पशुपालन र खेतीपातीमा उल्लेखनीय सफलता हासिल गर्नुभएको थियो । पाख्रिनका लागि निर्णायक प्रेरणाको स्रोत बन्यो । त्यसपछि उहाँले ठान्नुभयो, “यदि उहाँले गर्न सक्नुहुन्छ भने म किन सक्दिनँ ?” यही सोचले पाख्रिनको जीवनलाई नयाँ मोड दियो ।
२०७९ भाद्र ५ गते, उनले आफ्ना साथीहरू रोशन दाहाल र देवराज घिमिरेसँग मिलेर “बेथानचोक आरडिआर कृषि फार्म” दर्ता गरानुभयो । २०८० जेठदेखि औपचारिक रूपमा फार्म सञ्चालनमा आएको हो । हाल पाख्रिनले फार्मको व्यवस्थापन र प्रशासनिक पाटो सम्हालिरहेका छन् ।
फार्ममा अहिले ६५ वटा माउ भैँसी र १२ वटा गाई रहेका छन् । पहिले यो संख्या १ सय ३५ भैँसीसम्म पुगेको थियो, तर गत वर्षको बाढी–पहिरोले ठूलो क्षति पु–याएपछि संख्या घटाउनुप¥यो । यद्यपि, पाख्रिनको योजना निकट भविष्यमा भैँसीको संख्या फेरि एक सयभन्दा माथि पु¥याउने रहेको छ । हाल गोठमा रहेका सबै गाई–भैंसी दुहुना छैनन्, त्यसैले दैनिक ३ सय देखि ४०० लिटर दूध उत्पादन भइरहेको छ । तर, दूध सिधै बेच्नेभन्दा पनि उनीहरूले त्यसबाट खुवा उत्पादन गर्ने गरेका छन ्। रुपेश पाख्रिन भन्नुहुन्छ, “दूध बेच्दा आम्दानी सीमित हुन्छ, तर त्यसै दूधबाट खुवा बनाएर बेच्दा मूल्य पनि बढ्छ र बजार पनि स्थायी रहन्छ ।”
फार्ममा उत्पादन भएको सबै खुवा पनौतीमा रहेका व्यापारीहरूलाई आपूर्ति गरिन्छ । “हामीले बजार खोज्दै हिँड्नुपर्ने पर्दैन,” पाख्रिन हाँस्दै भन्छन्, “उत्पादन गुणस्तरीय भएपछि बजार आफैं आउँछ ।” तर यो सफलता सजिलै आएको होइन । सुरुका दिनमा प्राविधिक ज्ञानको कमी, प्रशासनिक प्रक्रियामा देखिएको जटिलता, र ऋण पाउनको कठिनाइले उनलाई थकित बनाएको थियो । “३० वर्ष मुनिका युवाले आफ्नै गाउँमा केही गर्न खोज्दा कहिलेकाहीँ कागजी प्रक्रिया नै ठूलो चुनौती बन्छ,” उहाँ बताउँनुहुन्छ । “तर हामीले हरेस खाएका छैनौँ । समस्या समाधान गर्दै अघि बढेका हौँ ।”
उहाँको अनुभवमा, कृषि ऋण प्रणालीमा सुधारको खाँचो छ । गाउँका जग्गाको मूल्य कम आकलन हुने भएकाले वास्तविक किसानले ऋण लिन कठिनाइ भोग्ने अवस्था अझै छ । उहाँ भन्नुहुन्छ, “सहरमा पशुपालन गर्दा प्रदूषणको समस्या आउँछ, गाउँमा गर्दा जग्गाको मूल्य, धितो र कागजी प्रक्रिया जटिल हुन्छ। परिणामतः वास्तविक किसानलाईभन्दा कागजमा मात्रै देखिने फार्मले ऋण पाउँछन् ।”
यस्तो अवस्थाको सुधारका लागि उहाँले सरकार र वित्तीय संस्थाहरूबीच समन्वय आवश्यक रहेको बताउँछन् । रुपेश पाख्रिनको पारिवारिक पृष्ठभूमि कृषि व्यवसायसँगै जोडिएको भए पनि व्यावसायिक रूपमा ठूलो स्तरमा अघि बढ्दा थुप्रै चुनौतीहरू सामना गर्नुप¥यो । तर, विदेशमा कमाएको सीप, व्यवस्थापन अनुभव र दृढ इच्छाशक्तिले उहाँलाई यतिबेला एक सफल उद्यमीको रूपमा उभ्याएको छ ।
उहाँले भन्नुभयो, “हामीले सुरुमा धेरै कठिनाइ भोग्यौं, तर हिम्मत नहार्ने बानीले नै हामीलाई यहाँसम्म ल्यायो । अहिले हाम्रो लक्ष्य उत्पादन मात्र होइन, अन्य युवालाई पनि कृषितर्फ आकर्षित गर्ने हो ।” आज रुपेश पाख्रिन र उनका साथीसँगको बेथानचोक आरडिआर कृषि फार्मले नजिकका गाउँका युवालाई पनि कृषिमा फर्किने प्रेरणा दिइरहेको छ । उनीहरूको परिश्रम र लगनले देखाएको बाटोले प्रमाणित गर्छ, देशमै बसेर पनि श्रम, सीप र सोच सही दिशामा प्रयोग गर्न सके सफलता सम्भव छ ।
रुपेश पाख्रिनको कथा केवल सफल कृषकको कथा होइन, यो नेपाल फर्केका हजारौं युवाको सम्भावनाको प्रतीक हो जसले देखाउँछ, अवसर विदेशमा मात्र होइन, आफ्नै माटोमा पनि फस्टाउँछ ।