विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ कार्तिक २२, शनिबार (१ महिना अघि)
  • १६१ पटक पढिएको

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर
“विदेश” यो तीन अक्षरको शब्द हो, तर यसभित्र हजारौं नेपालीको सपना, आशा र संघर्ष लुकेको छ । धेरै नेपालीहरू आफ्नो सुन्दर भविष्यको खोजीमा परदेशतिर लाग्छन, सुखमय जीवनको कल्पनामा वर्षौंसम्म परिवार, जन्मभूमि र आफ्नै पहिचानलाई पर राखेर पसिना बगाउँछन् अहिलेको समयमा यो कुनै नयाँ कुरा होइन, बरु एउटा सामान्य यथार्थ जस्तै भइसकेको छ ।
त्यही आशा र अपेक्षाको किरण लिएर पाँचखाल नगरपालिका–१२, नागबेलीका राजकुमार कुवँर पनि दुबईतिर लाग्नुभयो । राम्रो आम्दानी, स्थिर जीवन र उज्यालो भविष्यको सपना बोकेर उहाँले आफ्नो मातृभूमिबाट विदेशी भूमितर्फ पहिलो पाइला टेके । तर परदेशको कठोर यथार्थले उहाँको सपना धेरै लामो समय टिक्न सकेन । दुबईमा पुगेर उहाँले दैनिक श्रमको कठोरता, तातो बालुवाको घाम, र एक्लोपनको पीडा महशुस गर्नु भयो । जीवन त्यहाँ उहाँले सोचेजस्तो सुन्दर थिएन । कठिन श्रम, सानो तलब र घरको सम्झनाले उहाँको मन दिनप्रतिदिन थाक्दै गयो । अन्ततः, काम गरेको जम्मा ८ सय ५ रुपैंया बोक्दै, विदेशी भूमिमा बिताएको केवल एक महिनामै उहाँ स्वदेश फर्किनु भयो ।
नेपाल फर्किएपछि अब के गर्न ? काम छैन, हातमा सीप छैन भन्ने जस्ता प्रश्नले उहाँलाई घेरेन । केहि नभए गरिरहेको कृषिको कामलाई अगाडी बढाउछु र यसैमा जिन्दगी बिताउन सक्छु भन्ने आत्मविश्वासको कारण कुवरलाई धेरै सोच्नै परेन । विदेश जानु अघि पनि कृषिमै व्यतित समयलाई नेपाल फर्किएर निरन्तरता दिन थाल्नुभयो । गाईभैंसी पालन र तरकारी खेतीमा व्यावसायिक रुपमा लागेपछि आम्दानी पनि निकै राम्रो हुँदै गयो । विस्तारै तरकारी संकलनको कामलाई पनि निरन्तरता दिन थाल्नुभयो । अहिलले कुवँर बिहान दिउँसो खेतबारी र गोठको काममा अनि बेलुका ४ बजेदेखि झम्के साँझसम्म तरकारी संकलनको काममा व्यस्त रहनुहुन्छ ।
कुवँरले खेतमा धान, आलु, काउली लगायतका तरकारी लगाउनु भएको छ । अरु तरकारीहरु पनि लगाईन्छ तर प्रमुख बालीको रुपमा यी नै खेती गर्ने गरेको उहाँ बताउनुहुन्छ । अहिले भने खेतीमा धान काटेर कालु लाउने समय भएको छ । त्यसकारण उहाँको यसैको तयारीमा जुट्नु भएको छ । आफुले काम नभ्याएको समयमा खेताला लाउने गरिएको छ । साथमा परिवारका सदस्य मिलेर काम गर्ने भएकाले काममा खासै ठुलो समस्या अहिले नपरेको उहाँ बताउनुहुन्छ । प्रविधिहरु प्रयोग गरेर काम गर्ने भएकाले पहिलेको जस्तो कृषिमा ठुलो मिहेनत पनि नपर्ने उहाँको अनुभव छ ।
कुवँरको खेतमा करिब एक रोपनीमा काउली लगाइएको छ । बन्दा, काउली, आलु लगायतका तरकारी पनि लगाउनु भएको छ । बाँकीमा धान र आलु लगाईएको छ । आफैंले तरकारी संकलन गर्ने भएकाले आफुले उत्पादन गरेको तरकारी कहाँ लगेर बेच्ने भन्ने समस्या छैन । उत्पादन भएको तरकारी र संकलन गरेको तरकारी उहाँले सिधै काठमाण्डौं कालिमाटी पु¥याउनु हुन्छ । सबै किसानको तरकारी संकलन गर्दा व्यापारीको नाताले भन्दा पनि किसानको नाताले काम गर्ने गरेको उहाँको भनाई छ । बजारमूल्य अनुसार किसानलाई सकेसम्म घाटा नपर्नेगरी आफुले व्यापारलाई पनि अगाडी बढाईरहेको कुवँर बताउनुहुन्छ ।
उहाँले ३ वटा गाई पाल्नुभएको छ । दुधको भाउ घटेको र लम्पि स्किनको समस्या धेरै देखिएकाले पशुको संख्या घटाइएको उहाँ बताउनुुहुन्छ । अहिले एउटा गाई ब्याउने छ एउटा दुहुनो छ । दैनिक २५ लिटर दुध उत्पादन भइरहेको छ । दुधको भाउ अलि राम्रो हुने वित्तिकै अर्काे पनि गाई थप्ने उहाँको योजना रहेको छ । गाई पालनमा अहिलेको लागि कुनै समस्या छैन तर तरकारी खेतीमा भने बेला बेला विभिन्न खालको समस्या आईरहने उहाँ बताउनुहुन्छ । यसको लागि कुनै दिर्घकालिन समाधान भए हुन्थ्यो भन्ने उहाँको भनाई छ ।
“जेनिश जेनिशा कृषि तथा पशुपंक्षी फर्म” नाम दिएर २ बर्ष अगाडी घरेलु र प्यानमा दर्ता भएको उहाँको फर्ममा अहिले भएको उत्पादन आफुलाई चित्र बुझ्दो नै रहेको उहाँको भनाई छ । आफुले जानेदेखी नै कृषिमा नै आवद्ध भएकाले अरु नयाँ काममा खासै रुचि नभएको उहाँ बताउनुहुन्छ । कुवँर भन्नुहुन्छ, ‘कसैको करकापमा बस्नुपर्ने भएकाले मलाई सानो भएपनि आफ्नै काम गर्न मन पर्छ । त्यसको लागि कृषिभन्दा उत्तम अरु के होला र ? मैले जानेको काम पनि भएकाले म यसमा खुसी छु । आफ्नो हिसाबले जति मन लाग्छ जसरी मन लाग्छ त्यसरी गर्दा हुन्छ । बजार भाउ नपाउने कारण अलि समस्या हुन्छ नत्र अहिलेसम्म कुनै समस्या छैन ।’ स्थानीय तहहरुले अझ यसमा अलि ध्यान दियो भने किसानहलाई काम गर्न सहज वातावरण सिर्जना हुने उहाँको भनाई छ । मल, बीउ बिजन लगायतका कुरामा स्थानीय तहले सहजीकरण गरिदिने हो भने किसानलाई काममा पनि प्रोत्साहन मिल्ने उहाँको भनाई छ ।
कृषिमा भित्रिएको आधुनिक प्रविधिले धेरै सहज बनाएको उहाँ बताउनुहुन्छ । आफुले पनि जोत्नको लागि ट्रयाक्टर, स्प्रे, हाते पम्पहरु प्रयोग गरिरहेकाले काममा सहज भएको उहाँ बताउनुहुन्छ । खेती गर्दा आलुमा अलि धेरै लगानी हुने र बाँकीमा ठुलो लगानी नलाग्ने उहाँको भनाई छ । आम्दानीको कुरामा भने बजार भाउ अनुसार हुने कुवँर बताउनुहुन्छ । ३६ बर्षीय कुवँरले कक्षा १२ सम्मको अध्ययन गर्नु भएको छ । आम्दानीको लागि विदेशभन्दा पनि नेपालमा नै सहज हुने उहाँको भनाई छ । कमाईको हिसाबले मात्र नभएर आफ्नो भूमिमा नै बसेर परिवारको साथमा काम गर्न पाईने र त्यसमा खुसी पनि ज्यादा मिल्ने भएकाले नेपालमा कृषि एकदमै उत्तम भएको उहाँ बताउनुहुन्छ । आगामी दिनमा अहिले गरिरहेको कृषिलाई नै निरन्तरता दिने उहाँको योजना पनि रहेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस