माटोसँगको मित्रता “फुर्सद भन्ने शब्द किसानका लागि छैन”

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ कार्तिक २८, शुक्रबार (४ हप्ता अघि)
  • १७१ पटक पढिएको

माटोसँगको मित्रता “फुर्सद भन्ने शब्द किसानका लागि छैन”
१५ वर्षको उमेरमै माटो सँग खेल्दै जीवनयात्रा सुरु गर्नुभएका विनोद स्याङतान अहिले ५० वर्ष नाघिसक्नुभयो । उमेरले पाका भइसके पनि उहाँको जोश, जागर र मिहिनेत भने पहिलेझैँ अविचल छन् । स्याङतानका लागि कृषि पेशा मात्रै होइन, जीवनको अभिन्न अंश हो । बिहान सबेरै खेतको काम सुरु गर्नु, तरकारी टिपेर बजार पु¥याउने चटारो, अनि साँझ घर फर्केर अर्को दिनको तयारी गर्नु—यही हो उहाँको दैनिकी । अहिले उहाँ खेतमा प्याडको लागि ड्याङ तयार पार्न व्यस्त हुनुहुन्छ । “फुर्सद भन्ने शब्द त हामी किसानका लागि छैन,” उहाँ मुस्कुराउँदै भन्नुहुन्छ ।
उहाँले करीब १८ रोपनी जमिनमा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँका खेतहरूमा काउली, बन्दा, मुला, रायो, बकुल्ला, केराउ र प्याज लगायतका मौसमी तरकारी फस्टाएका छन् । मेहनत र लगनशीलताकै कारण उहाँका तरकारी बजारमा निकै मन पराइन्छन् । स्थानीय बजारमा मुला र काउली बिक्रीका लागि पु¥याउने कामले उहाँलाई अहिले थप व्यस्त बनाएको छ । “कृषि नै मेरो आत्माको अंश हो,” स्याङतान बताउनुहुन्छ । “माटोसँगको सम्बन्धले मलाई खुशी र आत्मसन्तुष्टि दिएको छ ।” आजको पुस्ताका युवाहरू पनि कृषि पेशाबाट टाढा नभागून् भन्ने उहाँको सन्देश छ । आधुनिक प्रविधि र परिश्रमको संयोजनले कृषि क्षेत्रलाई अझ सशक्त बनाउन सकिने उहाँको विश्वास छ ।
      उहाँकोमा सिजन अनुसारका तरकारी लगाउने गरिएको छ । बेमोसमी तरकारी लगाउँदा धेरै रिस्क हुने भएकाले मौसम अनुसारको मात्र लगाउने गरिएको उहाँ बताउनुहुन्छ । खर्च पनि धेरै लाग्ने भएकाले आफुलाई मौसमी खेती नै ठिक लागेको उहाँको भनाई छ । बजार मूल्य स्थिर नहुँदा धेरै नै समस्या पर्ने गरेको उहाँ बताउनुहुन्छ । २ रुपैँया किलोमा काउली बेचेको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, ‘यो बर्ष काउली बेच्नको लागि अलि ढिला तयार भएर मात्र हो । नत्र हामीलाई पनि निकै गारो पर्ने थियो । २० प्याकेट काउली रोपेका थियौँ । त्यसमा हाम्रो २२ हजार जति खर्च भयो । आम्दानी पनि सोही बराबर भयो । घाटा बेहोर्नुपरेन । त्यसैमा सन्तुष्ट हुनु बोहक अर्को बिकल्प पनि छैन ।’ स्याङतानले अहिले ६० वटा टनेलामा तरकारी खेती गरिरहनुभएको छ । सबै टनेला बाँसका छन् । खर्च पनि कम हुने भएकाले बाँसको टनेला बनाइएको उहाँ बताउनुहुन्छ । खुल्ला खेतीमा लगाइएको तरकारीभन्दा टनेलामा लगाईको तरकारी हेर्दा आकर्षक, पछिसम्म रहने र स्वादमा पनि मिठो हुने भएकाले टनेलामा नै खेती गरिएको स्याङतानको भनाई छ ।
स्याङतानको स्थायी घर ललितपुरमा छ । बनेपामा आएर लिजमा लिएर खेती गर्न थालेको निकै लामो समय भइसक्यो । अहिले खेती गरिएको जमिन पनि लिजमा लिइएको हो । सुरुमा रोपनीको बर्षमा १२ हजार थियो । अहिले रोपनीको बर्षमा २० हजार तिर्नुपर्छ । यति गरेर पनि निकै राम्रो आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ ।
     पछी कुखुरा पालन गर्नुभयो । तरकारी खेतीको सुरुवात गर्दा बन्दाकोपीबाट सुरु गर्नुभएको थियो । विस्तारै तरकारी खेतीलाई फैलाउँदै वृहत रुपमा बढाएको उहाँ बताउनुहुन्छ । पढाईलेखाई कम भएकाले पैसा कमाउन गारो होला पछी परिवार पनि त पाल्नुछ भन्ने लागेर उहाँ केही समय विदेश पनि जानुभयो तर स्याङतानलाई विदेश फापेन । विदेशभन्दा नेपालमा नै कृषिमा लागियो भने धेरै सम्भावना छ भन्ने महशुस भएपछी नेपाल आएको उहाँ बताउनुहुन्छ । कोरिया गएपनी रोमानिया गए पनि कृषि नै त गर्ने हो । बरु त्यो परिश्रम परिवारको साथमा बसेर नेपालमा नै गर्नुपर्छ भनेर उहाँले व्यवसायिक रुपमा तरकारी खेतीलाई अगाडी बढाउनुभयो । अहिले आफुले त्यो समयमा गरेको निर्णयप्रती कुनै पश्चताप नभएको स्याङतान बताउनुहुन्छ ।
     जेठो छोरा पनि पाँचखालमा लिजमा लिएर तरकारी खेती गरिरहनुभएको छ । स्याङतान भने कान्छो छोरा र श्रीमतीको साथमा बुडोलमा तरकारी खेती अगाडी बढाईरहनुभएको छ । स्याङतानसँग ३० वटा भैंसी पालेको अनुभव पनि छ । केही समयको लागि भैंसी पालन स्थिगित गर्नुभएको उहाँले फेरी भैसीं पालन गर्ने योजना बनाउनुभएको छ । खर्च कम र आम्दानी बढी हुने भएकाले तरकारी खेतीलाई जोड दिएको उहाँ बताउनुहुन्छ । मलको लागि भए पनि गाई भैसीं पाल्ने योजना बनाईरहेको स्याङतानको भनाई छ ।
     सरकारले बास्तविक किसानको पहिचान गरेर सहयोग गर्नुपर्ने स्याङतान बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ, ‘हामी त अझ बाहिर जिल्लाको भएको हुनाले यहाँको स्थानीय सरकारले प्राथमिकतामा राख्दैन तर हामीले यहाँको खेत बाझो हुनबाट जोगाएका छौँ । हामीले उत्पादन गरेको तरकारी यहाँका नागरिकले पनि उपभोग गर्नुभएको छ । हाम्रो स्थायी ठेगाना यहाँ नभएपनि हामी नागरिकक त नेपालका नै हौँ । प्रदेश हाम्रो यही हो । त्यसकारण हामीलाई भेदभाव नगरियोस् भन्ने हाम्रो माग हो ।’ पढाई धेरै नभएकाले स्याङतानलाई कहिलेकाहीँ पछुतो पनि लाग्छ । पढाई धेरै भएको भए म अरु कुनै जागिर या कृषिमा नै नविनतम प्रविधिको ज्ञान राखेर काम गर्न सक्षम हुने थिए भन्ने लागिरहन्छ । तर पनि तरकारी खेतीमा आफु पोक्त भएकाले पछी भोकै बस्नुपर्ने अवस्था कहिले नआउनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।
     तरकारी खेतीमा ७० लाखभन्दा धेरै लगानी भइसकेको छ । आम्दानी भने बजारमा निर्भर हुने उहाँ बताउनुहुन्छ । तर पनि अहिलेसम्म तरकारी खेती गरेर घाटा बेहोर्नु नपरेको उहाँ सुनाउनुहुन्छ । स्याङतानले पोखरा, काठमाडौँ र स्थानीय बजार नै उहाँको मुख्य बजार हो । उहाँकोमा सबैभन्दा धेरै गोलभेडा र काउली उत्पादन हुने गरेको छ । ३ महिनाको अवधीमा १० लाखसम्मको त रायोको साग नै बेच्ने गरेको उहाँ बताउनुहुन्छ । हरेक दिन परिश्रम गर्दा पनि व्यवहारिक कुरा नमिलेको देख्दा मन दुख्ने उहाँ बताउनुहुन्छ । फेरी त्यही परिश्रमको मुल्य पाउँदा भने निकै खुसी पनि मिल्ने स्याङतानको भनाई छ । स्याङतानको लागि तरकारी खेती नै वास्तविक खुसीको अर्थ हो ।
बेथानचोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस