ज्यामी काम गर्दा गर्दा थकित भएपछि पाँचखाल नगरपालिका–१, घुमाउनेचौरका मानबहादुर तामाङ लामो समयपछी कृषि पेशामा फर्किनुभयो । लामो समयदेखि ज्यामी÷मजदुरी काम गर्दै आएका तामाङले, एक दिन काम गर्न जादा काटेर खानु भन्दै काम गर्न गएको घरका मानिसले एउटा कुखुरा दिएका थिए । तामाङले त्यसलाई नकाटेर पाल्ने बिचार गर्नुभयो । त्यहि कुखुराबाट बढ्दैँ ४÷५ महिनाको अबधिमा नै ४०÷५० वटा कुखुरा भयो । त्यसपछि व्यावसायिक कुखुरा पालन गर्ने उहाँले योजना बनाउनुभयो । केही समयपछी कुखुरा मात्रै पालेर हुन्न अब बाख्रा पनि पाल्छु भन्ने सोच आयो र सुरुभयो उहाँको कुखुरा र बाख्रा फर्म । आजभोली कुखुरा चराउने र बाख्राको हेरचाहमा नै दिन जाने तामाङ बताउनुहुन्छ ।
लगत्तै आम्दानी पनि राम्रो हुन थाल्यो । यहि कुराबाट प्रेरितभई ५ बर्ष अगाडी उहाँले यो कामलाई नै आफ्नो व्यावसायिक पेशाको रुपमा लिने निर्णय गर्नुभयो । तामाङ अहिले सम्झनुहुन्छ, “ज्यामी काम गर्दा–गर्दै थकित भएँ, तर घर फर्किएर मैले कृषि नै मेरो पेशा बनाउने निधो गरेँ । जुन मेरो सबैभन्दा राम्रो निर्णय भयो ।” त्यो सानो अनुरोध नै बन्यो उहाँको जीवन र भविष्य बदल्ने सुरुवात । नेपालमा कुखुरापालन (विशेषगरी ब्रोइलर वा मासुका लागि पालन) एक लोकप्रिय व्यवसाय हो । “कुखुरा पालन गर्न ठूलो जमिन वा अत्यधिक पूँजी चाहिँदैन । सानो ठाउँमै घर नजिकै पनि गर्न सकिन्छ” भन्ने विचार धेरैले स्वीकारेका छन् । यदि स्वच्छ पानी, सन्तुलित दाना–चारा र स्वास्थ्य व्यवस्थापन मिलाएर पालन गरियो भने सानो लगानीबाट पनि राम्रो फाइदा मिल्ने सम्भावना छ ।
अहिले उहाँको फर्ममा १२ वटा जनुमापारी जातका बाख्रा रहेका छन् । यसैगरी लोकल कुखुरा ४० वटा रहेको छ । ब्यबस्थित कुखुराको खोर र ब्यबस्थित बाख्राको गोठ पनि निर्माण गर्नु परेकाले सुरुमा अलि धेरै खर्च भएको थियो । अहिले उहाँको फर्मबाट लगानी उठाउने काम सक्किएको छ । अब भने आम्दानी लिन सुरु हुने तामाङ बताउनुहुन्छ । उहाँले करिब ५ रोपनी १२ आना जमिनमा मौसम अनुसारको खेती पनि गरिरहनुभएको छ । उहाँका अनुसार अहिले आलु लगाउनको लागि तयारी भैइरहेको छ । यसरी लगाईने खेतीबाट घर खर्च चलाउन सहज भएको छ । यसकारण अरुमा क्षेत्रमाबाट हुने आम्दानी बचत हुने उहाँ बताउनुहुन्छ । अहिले ६० बोरा अदुवा पनि लगाईएको उहाँको भनाई छ ।
उमेरले ४० बर्ष पुगिसक्नुभएका तामाङ काम गर्न उमेरले नछेक्ने बताउनुहुन्छ । साधारण लेखपढ मात्र गर्न जान्ने उहाँलाई परिवारको सहयोग मिलेकोले पनि वाहिरी काम कुरामा सहज भएको बताउनुहुन्छ । तामाङले पहिले ५ वटा गाई र ३ वटा भैंसी पनि पाल्नुभएको थियो । आम्दानी राम्रो भएपनी केही आन्तरिक समस्याको कारण उहाँले गाई भैसीं पालनलाई निरन्तरता दिन सक्नुभएन । अहिले बाख्रा र कुखुराबाट राम्रो आम्दानी भैरहेकोले र गाई भैंसी भन्दा पाल्न पनि सहज भएकाले अब अहिलेको कामलाई नै निरन्तरता दिने उहाँको योजना छ । हुन त लोकल कुखुरालाई अण्डा उत्पादन गर्ने हेतुले पनि पाल्न सकिन्छ । तर लोकल कुखुराका पोथी कमर्सियल लेयर्सका पोथी जस्ता उत्पादनशील भने हुदैनन् । उहाँका अनुसार लोकल कुखुराद्वारा उत्पादित अण्डालाई कमर्सियल लेयर्सद्वारा उत्पादित अण्डा भन्दा फरक भाउमा बिक्रि गर्न सकेको खण्डमा मात्रा लोकल कुखुराबाट अण्डा उत्पादन गर्ने व्यवसाय नाफामुलक हुनसक्छ । लोकल कुखुराको मासुमा पाइने तिख्खर स्वादप्रति ठूलो आकर्षण रहेकोले मासुको लागि लोकल कुखुरालाई व्यवसायिक ढंगबाट पालन गरेर आय–आर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको छ ।
लोकल कुखुराको भाउ राम्रो भएपनि बजार राम्रो नहुदा भने समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । यसको लागि सरकारले पनि पहल गर्नुपर्ने तामाङको भनाई छ । स्थानीय तहहरुबाट भएपनी यसको लागि सहयोग मिल्यो भने ठुलो राहत मिल्ने उहाँ बताउनुहुन्छ । बाख्राको लागि भने ब्यापरीहरु घरमा नै आउने भएकाले सहज भएको छ । तर यसमा पनि बिचौलियाको समस्या भने कायम नै छ । यसमा सम्बन्धित निकायको छिटै ध्यान जाओस् भन्ने आफ्नो चाहाना भएको उहाँको भनाई छ ।
सुरुमा ६ वटा बाख्रा ५० हजारमा ल्याएर बाख्रा पालनको सुरुवात गर्नुभएको थियो भने ११ वटा अर्को थप गर्नुभयो ७५ हजारमा । अहिले उहाँको ब्यबसाय बढेर लाखौं रुपैयाँमा पुगिसकेको छ । केही रोपनी क्षेत्रफलमा डाले घास पनि लगाउनुभएको छ । यसकारण घासको लागि कुनै समस्या छैन । फर्म दर्ता भएको ३ बर्ष भयो । दर्ता भएपछी घरेलु कार्यलयबाट ट्याक्टर पनि आएको छ । गोठ सुधारको कार्यक्रममा पनि तामाङ सहभागी भैसक्नुभएको छ । कुखुरालाई बजारिया दाना भन्दा पनि गाउकै मकै खुवाएर पाल्नुभएकोले अरुको भन्दा गुणस्तर रहेको उहाँ बताउनुहुन्छ । मेशिनको सहितको आधुनिकीकरणको समय भएकाले प्रबिधिको धेरै आवश्यकता भएको उहाँको भनाई छ । यसकारण आफुले पनि प्रबिधि अपनाउन सुरुवात गरिसकेको उहाँ बताउनुहुन्छ ।
व्यबसायलाई बढाएर ठुलो बनाउदै लैजाने र कामदार राख्ने उहाँको योजना छ । पहिलेदेखि नै यी योजनाहरु थिए तर बैंकले ऋण दिएन आफूसंग लगानी गर्न आर्थिक अभावको सम्भब भएन । टनेला हाल्न सकियो हुन्थ्यो भन्ने उहाँको योजना छ । यसकारण अब आफ्नो पनि आर्थिक सुधार हुँदै गएको कारण यी योजनाहरु साकार गर्ने समय आएको उहाँ बताउनुहुन्छ । त्यसको लागि ठाउँहरु बनाउने काम भैरहेको छ । अहिले छोराबुहारी र श्रीमतिको साथमा उहाँको कृषि यात्रा अगाडी बढिरहेको छ । उहाँ भन्नुहुन्छ, कुखुराको खोर बनाउदाँ कम्तिमा खोर बाहिर कम्तिमा ५ फिट अग्लो जालीले बाउन्ड्री गरिएको घाँस र बुट्यान लगाइएको खुला जमिन पनि भएमा राम्रो हुन्छ । खुला छोडेर पालिएको लोकल कुखुराको मासु बोशो रहित, कसिलो र बढी स्वादिष्ट हुन्छ । परम्परागत रुपमै सानो खोरमा सिमित संख्यामा मात्र पाल्ने हो भने पनि पर्याप्त मात्रामा भेन्टीलेशन पुग्ने गरी लोकल कुखुराको खोरको वनावटमा सुधार गर्नुपर्ने हुन्छ । सुली दिन दिनै सफा गरी सफा र ओभानो राख्नुपर्छ ।’
देश–बिदेशमा धाउदै अन्ततः थाकेपछि उहाँले फर्किए, र आफ्नै जमिन–घरलाई रोज्नुभयो । सायद उहाँको सुरुवात निकै सानो थियो । एउटी कुखुरा — तर धैर्य, लगन र व्यवस्थापनले आज उनलाई नयाँ पहिचान दिलायो ।