पाँचखाल–६ का ३९ वर्षीया यज्ञप्रसाद त्रिपाठी पछिल्ला वर्षहरूमा कृषिबाट आत्मनिर्भर बन्न सफल उद्यमीको उदाहरण बन्नुभएको छ । आम्दानीको स्पष्ट योजना बनाएर व्यवसायमा प्रवेश गरेका त्रिपाठीको परिवार आज समग्र रूपमा कृषिका विभिन्न क्षेत्रमै सक्रिय देखिन्छ ।
२०७१ साल चैत महिनादेखि सुरु भएको त्रिपाठीको व्यवसायिक यात्राले अहिले आठ वर्ष पूरा गरिसकेको छ । सुरुमा उहाँले ब्रोइलर, लेयर्स, गिरिराजलगायतका कुखुराका थुप्रै जात पाल्दै कुखुरा पालनलाई मुख्य पेसाका रूपमा अघि बढाउनुभयो । उत्पादन राम्रो हुँदा कहिलेकाहीँ बजार माग धान्नसमेत कठिन हुने गथ्र्यो । तर समयसँगै दाना तथा चल्लाको मूल्य तीव्र रूपमा बढ्न थालेपछि कुखुरा पालनको लागत असाध्यै बढ्यो । बढ्दो लागत र घट्दो नाफालाई मध्यनजर गर्दै त्रिपाठीले कुखुरा पालनबाट हात झिकेर तरकारी तथा फूल खेतीमा ध्यान केन्द्रित गर्ने निर्णय गर्नुभयो ।
आज त्यही निर्णय उहाँका लागि तगचलष्लन उयष्लत बनेको छ । तरकारी र फूल खेती दुबैबाट राम्रो आम्दानी भइरहेको बताउने त्रिपाठी भन्नुहुन्छ, “अब यही कामले मलाई हौसला र प्रेरणा दिएको छ । परिश्रम गरेछु भने कृषिमै राम्रो भविष्य छ भन्ने अनुभूति भइरहेको छ ।” त्रिपाठी परिवार अहिले समन्वित रूपमा खेतबारीमा नै व्यस्त रहन्छ । तरकारी उत्पादन र फूल खेतीले स्थानीय बजारमा राम्रो स्थान बनाएको छ । उत्पादन गुणस्तरीय भएकाले ग्राहकको माग पनि निरन्तर बढ्दै गएको छ ।
कृषिमा निरन्तरता, लगनशीलता र समयसापेक्ष परिवर्तनलाई आत्मसात् गर्दै अघि बढेका यज्ञप्रसाद त्रिपाठी आज स्थानीय तहमा प्रेरणादायी कृषकका रूपमा परिचित छन् । उहाँका अनुसार—कृषिमा लगानी, अनुशासन र सही योजना भए उद्यमशीलता कुनै पनि गाउँमा सम्भव छ । परिवारकै श्रम र लगनशिलतामा उभिएको उहाँको श्री नमुना कृषि तथा पशुपंक्षी फर्म आज स्थानीय तहमा अनुकरणीय बनेको छ ।
त्रिपाठी अहिले तरकारी खेतीमा उत्तिकै सक्रिय छन् । उहाँले फर्सी मुख्यतः मुन्टा बिक्रीका लागि उत्पादन गर्ने गर्नुहुन्छ । चाइनिज साग उत्पादनको हिसाबले पनि उहाँको फर्म पाँचखाल क्षेत्रमा परिचित छ । एकै लटमा सय किलोसम्म चाइनिज साग उत्पादन हुने गरेको छ । काउली, सीमी, आलु, धान, प्याज, लौका, अदुवा, गाजर, राजमा, आलु लगायतका तरकारीहरू पनि प्रसस्तै मात्रामा उत्पादन हुन्छन् ।
हरियाली तरकारीले मात्र होइन, तिहारको समयमा सयपत्री फुलले फर्मलाई झनै आकर्षक बनाउँछ । त्रिपाठी भन्नुहुन्छ, “सयपत्री फूल अतिथि सत्कार, पूजा–आजा, चाडपर्व तथा विभिन्न पारिवारिक कार्यक्रममा माला, थुँगा र सजावटको लागि प्रयोग हुने भएकोले यसको माग कहिल्यै कम हुँदैन । वर्षौंदेखि यही फूलले मलाई राम्रो आम्दानी दिलाइरहेको छ ।” सयपत्री फूल तिहारका माला, घर–कोठा सजावट, विवाहका कार सजावट तथा गमलाका लागि प्रयोग हुने भएकाले बजारमा समस्या नआएको उहाँको भनाइ छ । कक्षा १२ सम्म अध्ययन गरेका त्रिपाठीले फर्म स्थापना गर्नु अघि पोखरास्थित बतास अर्गनाइजेसनमा टेक्निसियनका रूपमा काम गर्नुहुन्थ्यो । त्यही पेशागत यात्रामा बिजनेट ट्रिपसहित रसिया, अमेरिका लगायतका देशको अनुभव बटुल्नुभएका उहाँले विदेशमा आकर्षक अवसर पाएको भए पनि पारिवारिक जिम्मेवारी र स्वदेशमै सम्भावना देखेपछि कृषिलाई नै मुख्य पेसा बनाउनुभयो ।
“नेपालमा ज्याला–मजदुरी र स्थानीय उत्पादनको व्यापार गरेर पनि विदेशभन्दा राम्रो आम्दानी गर्न सकिन्छ,” उहाँ भन्नुहुन्छ । अहिले फर्ममा करिब २० लाख रुपैयाँ लगानी भइसकेको छ भने वार्षिक ५ देखि ७ लाखसम्म आम्दानी हुने गरेको छ । फुल माघको अन्तिमबाट फेरी रोप्न थालिने उहाँको भनाई छ । अहिले ५ रोपनी फुल लगाइएको छ । व्यवसायमा थप नयाँ बेलचन्द पनि रोप्नथाल्नुभएको छ । हाल एक रोपनीमा लगाईएको छ । राम्रो भएमा बढाउँदै जाने उहाँको योजना छ
त्रिपाठीसँग माछा पालनको पनि अनुभव छ । केही समय माछा पाले पनि नाफा कम भएपछि उहाँले पुनः कुखुरा पालनमा ध्यान दिनुभयो । सुरुवातमा ५० वटा चल्लाबाट सुरु गरिएको कुखुरा व्यवसाय २५ सयसम्म पुगेको थियो । लनचल्तीका जातभन्दा लोकल कुखुरा पालन गुणस्तरका हिसाबले भरपर्दो र आम्दानीका हिसाबले राम्रो हुने भएकाले त्रिपाठीले पहिलो प्राथमिकतामा लोकल कुखुरा राखेको बताउँनुहुन्छ ।
त्रिपाठीको फर्म २० रोपनी क्षेत्रफलमा फैलिएको छ। जसमा ७ रोपनी जग्गा आफ्नै हो भने बाँकी लिजमै सञ्चालन भइरहेको छ । खेति गर्न आवश्यक पूर्वाधारहरू व्यवस्थित भए पनि सिंचाइ सुविधामा अझै चुनौती रहेको उहाँको भनाइ छ । निकट भविष्यमा प्लाष्टिक टनेल निर्माण गर्ने तयारी भइरहेको छ । साथै, स्थानीय तहले बजार व्यवस्थापन तथा कम व्याजदरमा ऋण उपलब्ध गराए काम झनै सहज हुने अपेक्षा राखिन्छ ।
फर्मको नाम पहिले ‘नमुना पोल्ट्री फर्म’ भए पनि अहिले यसको रूपान्तरण भई ‘श्री नमुना कृषि तथा पशुपंक्षी फर्म’ राखिएको छ । नाम परिवर्तनसँगै बाख्रा पालनसमेत सुरु गरिएको छ र यसको पूर्वाधार तयार हुने क्रममा छ । कृषिलाई आधुनिकिकरण गर्दै जाने लक्ष्य राखेका त्रिपाठी अब एकै फर्मभित्र तरकारी, फूल, कुखुरा, माछा र बाख्रा पालनलाई समेटेर अगाडि बढ्ने योजनामा हुनुहुन्छ । कृषि क्षेत्रमा लगन, अनुशासन र नवीन योजना मिलेर सफल खेती सम्भव छ भन्ने उदाहरण बन्नुभएको त्रिपाठी आज पाँचखालमा मात्र होइन, समग्र प्रदेशमा प्रेरणादायी कृषकका रूपमा उदाउँदै छन् ।