कृषिमा निरन्तर सुधार र नवप्रवर्तनको पक्षधर तिमल्सिना

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ मंसिर २६, शुक्रबार (१ महिना अघि)
  • १२६ पटक पढिएको

कृषिमा निरन्तर सुधार र नवप्रवर्तनको पक्षधर तिमल्सिना

गत बर्षको बाढी पहिरोले बेथानचोक, गेल्लुङका रामशरण तिमल्सिनाको २ रोपनी बारीमा मुला, बन्दा, काउली लगायतका तरकारीहरू पूर्णरूपमा बगाए। घरको ढिलमा बसेर बाढीले मच्चाएको विनाशकारी रुप हेर्दै पनि उहाँसँग स्थिति नियन्त्रण गर्ने विकल्प थिएन। घरमा खास असर त परेन, तर गोठको सुरु भत्कियो। गाई भैंसीलाई सुरक्षित स्थानमा सार्न सफल हुनुले ठूलो क्षति टारियो। अहिले मलमपट्टी गर्दै आगामी दिनका लागि योजना बनाउँदै हुनुहुन्छ।
तिमल्सिना लामो समयदेखि पार्वती माध्यमिक विद्यालय नजिकै रहेको चटपटे पसल छोडेर पूर्ण रूपमा तरकारी खेतीमा लाग्नुभएको छ। विद्यालय नखुल्ने र विदा हुँदा पसल बन्द गर्नुपर्ने बाध्यताबाट मुक्त हुन १७ वर्षपछि पसल स्थायी रूपमा बन्द गरी खेतीमा केन्द्रित हुनुभयो। १५-१६ वर्षअघि खेती शुरु भए पनि पसलले समय दिन गाह्रो थियो। अहिले भने पूर्ण रूपमा खेतीमा मात्र ध्यान दिनुभएको छ।
उत्पादन बढाउने र नयाँ प्रविधि अपनाउने योजनामा दिन बित्दैछन्। श्रीमती गोमा तिमल्सिनासँग खेतीको काम मिलेर गर्दै छन्। ‘पहिले पसल हुँदा सँगै काम गर्थ्यौँ, अब खेत जमिनमा पनि सँगै छौँ,’ तिमल्सिनाले भन्नुभयो। परिवारको सहयोग समर्पित हुँदा काम सजिलो र आत्मसन्तुष्टिका साथ सफल हुन्छ उहाँको अनुभव छ। प्रविधिमैत्री खेतीलाई प्राथमिकता दिंदै आधुनिक कृषि औजार प्रयोग गरिरहेका छन्। यसले मात्र उत्पादकत्वमा वृद्धि सम्भव छ भन्ने उहाँको विश्वास छ।
स्थानीय तहबाट कृषकलाई आवश्यक तालिम, ऋण, अनुदान र बजार व्यवस्थापनमा सहयोग पुग्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ। कृषिको नवीनतम प्रविधिहरू अपनाएर कम खर्चमा बढी उत्पादन गर्ने उपायहरू सार्थक बनाउनुपर्ने उहाँको भनाइ छ।


करिब ६ रोपनी जमिनमा आलु, लसुन, धनिया, बकुल्ल लगायतका तरकारी लगाइएको छ, अहिले २ रोपनी बगाईयो, ५ रोपनी अझै बाँकी छन्। ‘न्यु थानी माहाकाल कृषि फर्म’ दर्ता गरेर कृषि ऋण र अनुदान पाएको अनुभव उहाँले विनियमित खेतीमा सक्षम बनाएको बताउनुहुन्छ। ट्रयाक्टर पनि अनुदानमा पाएको भए पनि अहिले आफैं सक्षम भएकोले बाहिरी मद्दतको अपेक्षा नगर्नु भएको छ। अहिले कमाएको आम्दानीबाट राज्यलाई कर तिर्न सक्नु उहाँको गर्वको बिषय हो।
हाल ५ रोपनीमा खेती गर्दा पनि १२/१३ लाख रुपैयाँ वार्षिक आम्दानी भइरहेको छ। बाढीले केही नोक्सानी पुर्याए पनि लगानी कम रहेकोले चिन्ता छैन। आफ्नै ट्रयाक्टरले खनजोत सजिलो भएको छ। बजारिकरण, बीउ र मलमा समस्या थपिएका छन्। आलु लगानी पर्ने तर आम्दानी कम भएको छ भने अन्य तरकारी कम लगानीमा उत्पादनशील छन्।
दुई छोराहरु पढ्दैछन्, खेतीबाट परिवार पालनपोषण सहज छ। बाल्यकाल आर्थिक अभावले कठिन भएपनि बुबाआमाको कृषि श्रमबाट हुर्किन पाएकोमा अहिले गर्व छ।
गाईपालनबाट दैनिक १६ लिटर दूध उत्पादन भइरहेपनि भर्खरै समेत गाईपालन विस्तार गर्ने सोच बनाएका छन्। घाँस र मल सहज उपलब्धि भएकाले पशुपालन सहयोगी बनिरहेको छ। खेतीलाई बढाउनेभन्दा वर्तमान जमिन उर्वर बनाएर उत्पादन वृद्धि गर्ने योजनामा छन्।
उहाँ कृषिमा निरन्तर सुधार र नवप्रवर्तनको पक्षधर हुनुहुन्छ। कृषि ज्ञान केन्द्र र स्थानीय निकायसँग सहकार्य गरी कृषि विकासमा थप योगदान दिने योजना बनाइरहनुभएको छ। सतत् ज्ञान अभिवृद्धि, युवा कृषकलाई मार्गदर्शन, र व्यापक बजार पहुँचका लागि जुट्नु पर्ने बताउनुभएछ। कृषिविज्ञान र प्रविधि अनुरूप उत्पादनले मात्रै दीगो विकास सम्भव छ भन्नेमा उहाँ दृढ विश्वास राख्नुहुन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस