पाँचखाल नगरपालिका–९, राम्चेका ५८ वर्षीय तिलक ठकुरी विगत केही वर्षयता व्यावसायिक कुखुरा तथा बङ्गुरपालनमार्फत आत्मनिर्भर जीवन बिता्दै आएउनुभएको छ । बिहानसबेरै उठेर कुखुराको खोरमा चेकजाँच गर्ने, दिउँसो सुँगुरको हेरचाह गर्ने र बेलुकी पुनः खोरका काममै दिन सक्ने उहाँको दैनिकी, आज उहाँ समाजका लागि प्रेरणाको स्रोत बन्दै जानुभएको छ । ३०–३५ वर्ष भारतमा मजदुरी गर्दै बिताएपछि उहाँले नेपाल फर्केर केही गर्ने दृढ संकल्प लिए र पछि व्यावसायिक कृषिमा लाग्नुभयो । भारतमा रहँदा उहाँ सामान्य मजदुरी गर्नुहुन्थ्यो, कृषि व्यवसायको खासै अनुभव थिएन । तर फर्किएपछि सुनिएका सुझाव, देखिएका उदाहरण र आफ्नो इच्छाशक्तिले उनलाई सफल कुखुरापालक बनायो ।
सुरुवाती समय कडा परिश्रम, अनिश्चितता र जोखिमपूर्ण थियो । छिमेकीहरूबाट “ब्रोइलर कुखुरा पालन राम्रो हुन्छ” भन्ने सुनेका आधारमा उनले पहिलोपटक कुखुरापालन सुरु गर्नुभएको थियो । अनुभव कम भएकाले सुरुमा धेरै कठिनाइ आए । चल्ला बचाइ राख्न, दाना मिलाउन, तापक्रम व्यवस्थापन गर्न, बजार खोज्न—सबै चरण चुनौतीपूर्ण थिए । तर समयसँगै उनले काममा डुब्दै अनुभव बटुल्नुभयो । मानिसहरूसँग सिके, गल्तीहरुलाई सुधार्दै लगे र आज उहाँ स्थिर कुखुरापालकका रूपमा उभिनुभएको छ । उहाँको खोरमा कुखुराको संख्या कहिल्यै ५०० भन्दा घट्दैन । निरन्तरता नै मुख्य आधार हो भन्ने ठकुरीको विश्वास छ । कुखुरा बिक्रीबाट आएको आम्दानीले श्रीमान श्रीमतीकै खर्च सहजै पूरा हुन्छ । छोराछोरी सबै भारतमै छन्, आफ्नो–आफ्नो काममा व्यस्त छन् । उनीहरूमा निर्भर हुन नपरी आफ्नै कमाइबाट बुढेसकाल सहजै बिताउन सकिनु नै सबैभन्दा ठूलो खुसी ठकुरीका लागि हो । “सानातिना खर्चका लागि छोराछोरीलाई भनिरहनु नपर्नु नै ठूलो सन्तोष हो,” उहाँ भन्नुहुन्छ ।
अब उमेरले ५८ पुगेकाले ठूला–ठूला खेतिपाती गर्न सक्ने शारीरिक शक्ति पहिलेभन्दा घटेको उहाँले महसुस गर्नुहुन्छ । त्यसैले अहिले उनी विस्तृत खेतीमा लाग्ने सोचमा हुनुहुन्न । घरछेउको एक–दुई रोपनीमा मकै र सामान्य नगदे बाली लगाएर आत्मनिर्भर बनिरहन सके उहाँ सन्तुष्ट हुनुहुन्छ । “घरमै बसेर गर्न सकिने कामले पनि परिवार चल्छ, उहाँ भन्नुहुन्छ । बाहिर रोजगारीका लागि धाउनुपर्ने बाध्यता नभएकोमा उनले गर्व गर्नुहुन्छ । पछिल्लो समय उनले सुँगुरपालन पनि सुरु गर्नुभएको छ । हाल उहाँको खोरमा दुईवटा बङ्गुर छन् । सुरुमा सुँगुरपालन गर्नुको मुख्य उद्देश्य मृत कुखुरालाई व्यवस्थापन गर्न सजिलो होस् भन्ने थियो । “मरेका कुखुरा अन्तै लैजानु झन्झट, सुँगुरलाई खुवाइदिँदा चारा पनि जोगिन्छ,” उहाँले हाँस्दै अनुभव सुनाउँनुहुन्छ तर यतिमै सीमित बसेन, उहाँ भन्नुहुन्छ, चारवटा सुँगुर पाल्दा कम्तीमा दुईबाट राम्रो नाफा बस्छ । यही विश्लेषणका आधारमा उनले सुँगुरको संख्या विस्तारै बढाउँदै लैजाने योजना बनाउनुभएको छ्, यद्यपि आर्थिक चुनौती कहिलेकाहीँ बाधक बन्ने गरेको सकारात्मकरूपमा स्वीकार्नुहुन्छ ।
ठकुरी औपचारिकरूपमा धेरै पढेलेखेका हुनुहुन्न तर पढाइले नभए पनि जीवनबाट सिकेको अनुभव ठूलो धन हो भन्ने उनको मान्यता छ । हात खाली बस्न नहुने, आफूले जानेको सीप प्रयोग गर्नुपर्ने, प्रयास नगरी जीवनमा परिवर्तन नआउने—यिनै विचारले उनले आफूलाई मात्र होइन, वरपरका किसानहरूलाई पनि प्रेरित गरिरहेको स्थानीयहरूले बताउँनुहुन्छ । यद्यपि, कुखुरापालन व्यवसायमा केही समस्या निरन्तर देखिन्छन् । दानाको मूल्य, चल्लाको मूल्य निरन्तर बढिरहने तर कुखुराको मूल्य भने स्थिर रहने भएकाले किसानलाई दबाब बढ्ने ठकुरीको गुनासो छ । “यो क्षेत्रमा स्थानीय सरकार वा सम्बन्धित निकायले ध्यान दियो भने किसानले राहत पाउँछन्,” उनले सुझाब दिनुहुन्छ । उमेर बढ्दै गए पनि ठकुरी धेरै ठूलो सपना बोकेर हिँड्ने मान्छे होइनन् । मध्यमवर्गीय परिवारमा जन्म–विकास भएकाले अत्यधिक महत्वाकांक्षा राख्ने बानी कहिल्यै बसेन । उहाँका लागि ठूलो सपना भनेको परिवारलाई सुख–सुविधासहित बसाल्न सक्नु हो । उहाँ भन्नुहुन्छ, “बढी होइन, इज्जतले खान पायौँ भने जीवन राम्रै हुन्छ ।” कुखुरा र बङ्गुरपालन नै आज उहाँ र उहाँकी श्रीमतीको दैनिक जीवन, आम्दानीको मुहान र बुढ्यौलीको आधार बनेको छ । छोराछोरी आफ्नै जीवनमा स्थापित भइसकेका छन् । उनीहरूलाई काखी च्यापेर धाउनुपर्ने अवस्था छैन । यो स्वावलम्बनले ठकुरी दम्पतीको जीवनमा स्थिरता र मनोबल बढाएको छ ।
ठकुरीको अनुभवमा, परिवारको साथ भए कुनै पनि काम सफल हुन्छ । पत्नी सधैं उनको साथमा कुखुरा हेरचाहमा, बङ्गुरका काममा, घर–व्यवस्थापनमा। यही पारिवारिक सहयोगले उनको यात्रा सहज बनाएको छ । स्वास्थ्यले जितेसम्म जानेको र सक्ने काम निरन्तर गर्ने उनको योजना छ । आज तिलक ठकुरी कुनै ठूलो किसान होइनन्, न त ठूलो उद्यमी । तर उहाँ एउटा जीवित उदाहरण हुनुहुन्छ । परिश्रम, आत्मविश्वास र परिवारको साथ भए साधारण मानिसले पनि जीवनलाई सहज, सम्मानित र आत्मनिर्भर बनाउन सक्छ । पाँचखाल–९, राम्चेमा बस्ने सामान्य कृषक तिलक ठकुरीको यही जीवनकथा आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।