बनेपा गोदामचोक बजारमा हालै खुलेको छ पुर्वान्चल क्याफे । जसलाई व्यवस्थापन गर्दै हुनुहुन्छ बनेपा १० जनागालका श्रवण कुमार आचार्यले । विगत १५ वर्षदेखि यही क्षेत्रमा संलग्न आचार्यले अहिले बनेपामा पूर्वाञ्चल क्याफेको दशौं ब्रान्च सम्हालिरहनु भएको छ । क्याफेमा ग्राहककै अगाडि ताजा रूपमा बेक गरिने (live baking) व्यवस्था समेत गरिएको छ । यसले गर्दा खानाको गुणस्तर ग्राहकले प्रत्यक्ष देख्न सक्छन् । यसले गर्दा पनि अन्य क्याफेको तुलनामा पूर्वाञ्चल क्याफेलाई फरक बनाउँदछ।
क्याफेसँगै बेकरी आइटम उत्पादनमा पनि पूर्वाञ्चल क्याफे अब्बल छ । अधिकांश क्याफेमा बेकरीका आइटम बाहिरबाट लिएर आएर बेच्ने गरिन्छ भने पूर्वाञ्चलमा त्यही उत्पादन गर्ने गरिएको उहाँ बताउनुहुन्छ । रेस्टुरेन्टमा पाइने आइटम र बेकरीमा पाइने आइटम दुईथरी एकै ठाउँमा पाउनको लागि पूर्वाञ्चल क्याफे भिजिट गर्न उहाँको अनुरोध छ ।
क्याफेमा हालसम्म करिब २ करोड रुपैयाँ बराबरको लगानी भइसकेको छ। क्याफेको सञ्चालन भर्खरै सुरु भएको भए पनि यहाँ आउने ग्राहकहरूको आवतजावत संख्या चित्तबुझ्दो रहेको संचालक बताउनुहुन्छ। ग्राहकहरूबाट प्राप्त प्रतिक्रिया सकारात्मक आइरहेको जनाउँदै उहाँले भन्नुभयो, “हामीले भएका ग्राहकलाई सक्दो राम्रो सेवा प्रदान गर्ने प्रयास गरिरहेका छौँ । हामी भर्खरै यहाँ पाइला टेकेका हौँ, त्यसैले ग्राहकहरूले दिनुभएको प्रतिक्रिया हाम्रो लागि अत्यन्तै महत्वपूर्ण छ। हाल हामी नियमित रूपमा ग्राहकहरूको प्रतिक्रिया संकलन गरिरहेका छौँ र राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ, जसले हामीलाई अझ अगाडि बढ्न प्रेरणा दिएको छ। यसबाट हामी खुसी छौँ ।” क्याफेमा हाल एक दिनमा डेढ सयदेखि दुईसय जनासम्मको आवतजावत हुने गरेको संचालकले बताउनुभयो ।
इटहरी, बिर्तामोड, झापा, दमक लगायतका ठाउँमा यस कामको अनुभव संकलन गर्ने अवसर पाएका आचार्यका लागि आफैले पूर्णरूपमा सञ्चालन गर्नु यो पहिलोपटक हो। नयाँ कुरा सिक्दै अगाडि बढिरहेकोले उहाँले धेरै नयाँ अनुभव हासिल गर्न पाएको बताउनुहुन्छ। सानै हुँदा घरमा सानो चिया पसल भएकोले चिया–क्याफे व्यवसायप्रति रुचि उहाँमा बन्दै आएको थियो । सो रुचिलाई अहिले व्यवसायमा परिणत गर्न पाउँदा आफैँ सन्तुष्ट रहेको उहाँले जनाउनुभयो । साथै, आइटी सेक्टरमा काम गरेको अनुभव र पढाइ पनि यस विषयसँग सम्बन्धित रहेकाले, चिया पसलदेखि आएको रुचिलाई व्यवसायमा परिणत गर्ने सकारात्मक बाटो खोलिएको उहाँले सुनाउनुहुन्छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै स्वाद, गुणस्तर र सफा वातावरणमा सेवा दिने उद्देश्यले खोलिएको पुर्वान्चल क्याफे बनेपाको खाद्य र क्याफे संस्कृतिमा नयाँ विकल्पको रूपमा स्थापित हुँदै गएको छ। सफ्टवेयरको काममा पनि उहाँको निरन्तरता जारी नै छ। त्यहाँ पनि १५/२० जनालाई रोजगारी दिइरहनुभएको छ । यसरीहरूलाई पनि रोजगार प्रदान गर्न पाउँदा निकै खुसी लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ ।
पूर्वाञ्चल क्याफेको भिजनलाई कार्यान्वयन गर्न आचार्य दशौँ वर्षदेखि नै जोडदार रुपमा लागिपरेका थिए। आफ्ना साथीभाइलाई पनि उक्त भिजनका साथ काम गर्न आग्रह गरिरहँदा कसैले साथ नदिएकोले, “अफैले भएपनि गर्छु” भन्ने निश्चय गरेर उहाँ यो काममा सक्रिय रूपमा लाग्नुभयो । यसले आफूलाई सफल बनाउनेमा ढुक्क देखिनुहुन्छ । क्याफेमा दैनिक रूपमा ताजा बेकरी सामग्री तयार गरी बिक्री गरिँदै आएको छ ।
पहिलेदेखि नै आचार्यमा नेपालमै केही गर्नुपर्छ भन्ने जोश सागर थियो। आफू विदेश नजाने र अरुलाई पनि विदेश जान सल्लाह नदिने दृष्टिकोण राख्दै, आचार्य नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहन्थे । उहाँको मूलधेय छ: “यदि मैले नगरेँ भने कसले गर्ने ? अहिले नगर्ने हो भने कहिले गर्ने ?” परिवर्तन खोज्नेले पहल गर्नुपर्ने र सुरु पनि गर्न सक्नुपर्ने विश्वास आचार्यमा बलियो छ । क्याफेमा अहिले २० /२२ जना कर्मचारी कार्यरत छन् ।
मानवीय त्रुटिहरूलाई सुधार्दै आगामी दिनमा व्यवसायिक यात्रालाई अझ प्रभावकारी बनाउन आचार्यको योजना छ। आफूबाट भएका कमजोरी र त्रुटिहरू सुधारेर अघि बढाउन सकिएमा, व्यवसायमा थप नयाँ आयाम थपिने उहाँको भनाइ छ । हाल ग्राहकहरूबाट पनि राम्रै प्रतिक्रिया आइरहेकाले सुधार गर्नुपर्ने थप कुराहरुलाई पनि सँगै लिएर अगाडि जाने उहाँको योजना छ । उहाँ अझै दुई चार जना कर्मचारी थप गर्ने तयारीमा पनि हुनुहुन्छ।
नेपालमै सञ्चालन हुन लागेका व्यवसायिक गतिविधिलाई सरकारले व्यवस्थापन र प्रोत्साहनको दृष्टिले विशेष ध्यान दिनु आवश्यक रहेको आचार्य बताउनुभयो । व्यवसाय सुरु गर्दा आवश्यक दर्ता र कानुनी प्रक्रियामा प्रारम्भिक भ्रम हुन सक्ने हुँदा, उहाँले अनुभव सुनाउदै उहाँ थप्नुहुन्छ, “व्यवसायको सुरुवातदेखि नै मैले आधिकारिक रूपमा दर्ता गर्नुपर्छ भनेर सुरुमा गएँ, तर नेपालको परिप्रेक्षमा, अधिकांशले व्यवसाय सञ्चालन गरिसकेपछि मात्र दर्ता प्रक्रियामा प्रवेश गर्ने अभ्यास । जिल्लामा आन्तरिक राजस्व कार्यालयमा धेरै समस्या भएन, तर खाद्य क्षेत्रमा आवश्यक सामग्री तयार हुनुपर्ने भएकाले कतिपय समस्याको सामना गर्नुपर्यो । यसबाट देखियो कि लगानी भइसकेपछि प्रक्रिया कठिन हुन सक्छ। उत्पादन सामग्रीको गुणस्तर जाँच र मात्रा मिलाउने कुरा पछाडि पछि गर्न सकिन्छ, तर उत्पादन अघि नै सम्भाव्यता स्पष्ट हुनुपर्ने थियो ।” आचार्यको भनाइ छ, नेपालमै लगानी गरेर केही गर्न चाहनेहरूका लागि सरकारले स्पष्ट र सजिलो मार्गनिर्देशन उपलब्ध गराउन आवश्यक छ । यस्ता कुराले विशेषगरी साना उद्यम व्यवसायीलाई निकै समस्या पार्ने उहाँ बताउनुहुन्छ ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै स्वाद र गुणस्तरमा ध्यान दिइएको यस क्याफेले बनेपाको खाद्य संस्कृतिमा नयाँ रङ थपेको छ। नयाँ स्वादको खोजीमा हुनुहुन्छ भने पुर्वान्चल क्याफे एकपटक अवश्य नै घुम्न लायक स्थान रहेको आचार्य बताउनुहुन्छ । बनेपा, धुलिखेल, पनौती लगायत आसपासमा रहेकाहरुलाई पायक पर्ने ठाउँमै रहेकाले सम्भव हुने जतिलाई पूर्वाञ्चल क्याफेमा आफू स्वागत गर्न तत्पर रहेको उहाँ बताउनुहुन्छ ।
बेथानचोक साप्ताहिकबाट ।