अपरिपक्क उमेरमै जीवनका कठोर जिम्मेवारीहरू काँधमा बोक्नुपरेपछि सोमबहादुर लामा समयभन्दा पहिल्यै परिपक्क बन्न बाध्य भए। १८ वर्षको कलिलो उमेरमा उहाँले पढाइ मात्र होइन, गाउँघर पनि छोड्नुपर्यो । धुलिखेल नगरपालिका वडा नं. ४ वखुण्डोलका लामा सानैदेखि पढेर स्वदेशमै केही गरौँ भन्ने सपना बोकेका युवा थिए। तर पारिवारिक अवस्था र परिस्थितिले त्यो सपना सानै उमेरमै थिचिदियो । रहर हुँदाहुँदै पनि बाध्यताले उहाँलाई विदेशिन बाध्य बनायो ।
विदेशको यात्रा लामाका लागि सहज रहेन । अरूको देश, अपरिचित भाषा, फरक संस्कृति र दिनरातको कडा मेहनत उहाँलाई सह्य भएन । दुई वर्ष कतार बसेपछि उहाँले बुझ्नुभयो– विदेशले मात्र भविष्य सुरक्षित गर्दैन । त्यसपछि उहाँको पाइला आफ्नै मुलुक नेपालतर्फ फर्कियो ।
नेपाल फर्किएपछि पनि जीवन सहज थिएन । पारिवारिक जिम्मेवारीले गाउँ फर्किन मन मानेन । घरबाट टाढै बसेर काम गर्नुपर्ने अवस्था आयो । न त हातमा कुनै विशेष सीप थियो, न त पर्याप्त पूँजी । त्यसैले उहाँले जे पाइयो त्यही काम गर्न थाल्नुभयो । लेबर कामदेखि सेक्युरिटी गार्डसम्मका जिम्मेवारीहरूले उहाँको जीवन अनुभवलाई थप समृद्ध बनायो । तर मनको कुनामा आफ्नै केही व्यवसाय गर्ने सपना भने सधैं जीवित नै थियो ।
थोरै लगानीमा नाफामूलक के काम गर्न सकिएला भनेर लामो समयसम्म उहाँको मनमा द्वन्द्व चलिरह्यो । धेरै सोचविचार र साथीभाइको सल्लाहपछि उहाँले ब्रोइलर कुखुरा पालन गर्ने निर्णय गर्नुभयो । सुरुमा जोखिम थियो, तर मेहनत र लगनशीलताले कुखुरा पालन उहाँलाई फाप्यो। सोचेजस्तै आम्दानी हुन थाल्यो। परिवार पाल्न यही व्यवसायले सहज बनायो ।करिब १० वर्षसम्म लामा कुखुरा पालनमै रमाउनुभयो ।
यद्यपि, यो व्यवसायले उहाँलाई आर्थिक रूपमा सघाए पनि मानसिक तनावबाट भने मुक्त गर्न सकेन । प्रत्येक लट कुखुरा हाल्दा नाफा हुन्छ कि घाटा भन्ने चिन्ता सधैं उहाँको मनमा रहिरहन्थ्यो । बजार मूल्यको उतारचढाव, दानाको मूल्य, रोगको जोखिम—यी सबैले लामालाई निरन्तर तनावमा राख्थ्यो। यही तनाव बोकेर सधैं काम गर्न उहाँलाई मन लागेन । तर १० वर्षको अनुभव छोडेर फेरि नयाँ व्यवसाय सुरु गर्नु पनि कम चुनौतीपूर्ण विषय थिएन । यही दोधारमा उहाँको मन लामो समयसम्म अल्झिरह्यो ।
यही क्रममा उहाँलाई विभिन्न व्यक्तिहरूबाट विभिन्न खालका सल्लाहहरू आउन थाले। कसैले कृषि, कसैले व्यापार त कसैले वैदेशिक रोजगारीमै फर्कन सुझाए । तर सल्लाह धेरै भए पनि सहजीकरण गरिदिने वातावरण भने कसैले मिलाइदिएन। यही बेला उहाँका मामा बुद्ध लामाको जीवनमा महत्वपूर्ण पात्रका रूपमा देखा पर्नुभयो । मामा आफैं नर्सरी व्यवसायमा संलग्न हुनुहुन्थ्यो । उहाँले नर्सरी व्यवसायको सम्भावना, फाइदा र भविष्यका बारेमा विस्तारमा बुझाउनुभयो ।
मामाको अनुभव र हौसलाले लामालाई नयाँ ऊर्जा दियो। सबै कुरा सुनेपछि जसरी भए पनि नर्सरी व्यवसायमै लाग्ने उहाँले दृढ निर्णय गर्नुभयो। व्यवसाय सुरु गर्ने क्रममा मामाले सुरुदेखि नै सहजीकरण गरिदिनुभयो । अरूको जागिर र आफ्नै कुखुरा व्यवसायपछि नर्सरी व्यवसाय लामाका लागि बिल्कुलै नयाँ अनुभव थियो । तर यही नयाँ यात्रा उहाँको जीवनको टर्निङ पोइन्ट बन्यो । नर्सरी व्यवसाय सुरु गरेपछि उहाँले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन।
केही गर्छु भनेर लाग्नेहरूको लागि सानो सहयोग पनि पहाडझैँ ठूलो सहारा बन्ने रहेछ। कामको सुरुवातपछि डिभिजन वन कार्यालय, कृषि ज्ञान केन्द्र लगायत विभिन्न संघसंस्थाबाट उहाँले हजारदेखि लाखौं रुपैयाँसम्मको सहयोग पाउनुभयो । यसले लामालाई कामप्रति थप हौसला र आत्मविश्वास दियो । उहाँको मेहनत, लगनशीलता र बिरुवाको गुणस्तरका कारण धेरै संस्थाहरूले निरन्तर सहयोग गर्न थाले ।अनुदान कार्यक्रममा आफ्नो नाम पर्दा उहाँलाई निकै खुसी लाग्थ्यो ।
तर व्यवसायको सुरुवाती चरण भएकाले अनुदानको आधा लगानी जुटाउन कहिलेकाहीँ निकै गाह्रो पनि भयो । यद्यपि, जसरी पनि सफल हुन्छु भन्ने दृढ अठोटले उहाँलाई कहिल्यै कमजोर हुन दिएन । लगानीदेखि उत्पादन र बजारीकरणसम्मको यात्रामा विभिन्न संघसंस्थाहरूले लामालाई ठूलो सहयोग गरे। स्वदेशमै मिहिनेत गरेर घरपरिवारको खर्च जोहो गर्नुका साथै भविष्यमा आइपर्न सक्ने आर्थिक संकट सामना गर्न सक्ने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ। उहाँ गर्वका साथ भन्नुहुन्छ, “रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता तोड्नुपर्छ । स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने सन्देश म दिन चाहन्छु।”
२०७३ सालमा दर्ता भएको ताम्सालिङ फलफुल नर्सरी फार्मले अहिले निकै व्यापक रूप लिइसकेको छ । विगत ६ वर्षदेखि उहाँले नर्सरीलाई अझ व्यवस्थित र बृहत् रूपमा सञ्चालन गरिरहनुभएको छ। विशेषगरी अमिलो जातका फलफुलका बोटबिरुवामा केन्द्रित यस नर्सरीमा अहिले सुन्तला, मुन्तोला, जुनार, कागती, किवि, एभोकाडो, टिमुर, पिकानट, ओखर, एलमण्ड, जापानिज हलुवावेद, नासपाती, खुर्पानी, आरु, आरुबखडा, ड्रागन फ्रूट, बनार, अम्बा, अलैंची, कटुस लगायत विभिन्न जातका कलमी बिरुवाहरू सुपथ मूल्यमा उपलब्ध छन् । साथै पत्झर बिरुवाहरू पनि यहाँ लगाइएको छ।
लामा आफ्नो समयको करिब ६० प्रतिशत नर्सरीमै खटिनुहुन्छ । परिवारको निरन्तर साथ र सहयोगले उहाँको कामलाई थप सहज बनाएको छ । काभ्रे र काठमाडौँका विभिन्न ठाउँहरू उहाँको मुख्य बजार क्षेत्र हुन् । स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा अन्य संस्थाहरूसँग सहकार्य गर्दै उहाँले गुणस्तरीय बिरुवा आपूर्ति गर्दै आउनुभएको छ । बिरुवाको गुणस्तर राम्रो भएको प्रतिक्रिया सुन्दा उहाँलाई अत्यन्त सन्तुष्टि मिल्ने गरेको छ।
हाल नर्सरीमा ६० लाख रुपैयाँभन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको छ। ९ रोपनी जमिनमा फैलिएको यस नर्सरीले लगानी अनुसारको राम्रो आम्दानी दिइरहेको छ । पछिल्लो ५ वर्षको अवधिमा करिब ६५ लाख रुपैयाँ बराबरको जग्गा किन्न सफल लामा अब यो व्यवसायलाई अझ व्यवस्थित, आधुनिक र वृहत् बनाउने तयारीमा हुनुहुन्छ।
संघर्ष, धैर्य र निरन्तर मिहिनेतको प्रतिफलस्वरूप सोमबहादुर लामा आज स्वदेशमै सफल उद्यमीका रूपमा स्थापित हुँदै जानुभएको छ। उहाँको यात्रा धेरै युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।
बेथानचोक साप्ताहिकबाट ।