घरको सानो भान्साबाट आत्मनिर्भरताको यात्रा

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ पौष १५, मंगलबार (२ हप्ता अघि)
  • २६ पटक पढिएको

घरको सानो भान्साबाट आत्मनिर्भरताको यात्रा
घरको सानो भान्सामा बनाइएको अचारले मेनुका श्रेष्ठको जीवन मात्रै होइन, परिवारको आर्थिक अवस्था नै बदलिदिएको छ । धुलिखेल नगरपालिका वडा नं. ५ श्रीखण्डपुरकी मेनुका श्रेष्ठ केही समयअघिसम्म गृहिणीको भूमिकामै सीमित हुनुहुन्थ्यो । घरधन्दा सम्हाल्दै परिवारको हेरचाह गर्ने उहाँको दैनिकी थियो । आर्थिक अवस्था ठिकै भए पनि आफ्नै मेहनतले केही कमाउनुपर्छ भन्ने सोच भने सधैं मनमा थियो ।
यसअघि मेनुका श्रेष्ठ बुनाई पेशामा संलग्न हुनुहुन्थ्यो । पञ्जु, पञ्जा, जुक्ता, मोजा, टोपी, स्विटर लगायतका सामग्री बुन्ने काम उनले पहिलेदेखि नै गर्दै आउनुभएको थियो, जुन काम अहिले पनि निरन्तर चलिरहेकै छ । यहीबीच वडा कार्यालयबाट अचार बनाउने तालिम पाएपछि उहाँको जीवनमा नयाँ सोचको विकास भयो । तालिमले आत्मविश्वास बढायो र घरमै बसेर केही नयाँ गर्न सकिन्छ भन्ने विश्वास जगायो । त्यसपछि उहाले करिब एक वर्षअघि अचार बनाउने काम सुरु गर्नुभयो ।
सुरुवाती दिन सहज भने थिएनन् ।  अचार बनाउन त सुरु गर्नुभयो, तर बजारमा कहाँ लाने, कसरी बेच्ने भन्ने कुनै स्पष्ट योजना थिएन । बजार व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती बन्यो । सुरुमा आफ्नै खर्च निकाल्न पनि गाह्रो हुने अवस्था आयो । बजारमा बेच्न जाँदा कसैले विश्वास नगर्ने, नयाँ भएकोले हिचकिचाउने अवस्था पनि देखियो । यद्यपि उहाँले स्थानीय स्रोतसाधन र कच्चा पदार्थको प्रयोग गर्दै अचार उत्पादनलाई निरन्तरता दिइरहनुभयो । यस यात्रामा आफन्त र चिनेजानेकाहरूले सहयोग गरे। उनीहरूको हौसला र सहयोग नै मेनुकाका लागि जीवन मोडिने आधार बन्यो। अर्डर आउन थालेपछि उहाँको आत्मविश्वास झन् बढ्दै गयो ।
अहिले मेनुका श्रेष्ठले अर्डर आएअनुसार विभिन्न प्रकारका अचार बनाउँदै आउनुभएको छ । भेज, बफ, चिकेन, मिक्स लगायत सबै खालका अचार उहाँ  बनाउनुहुन्छ । उहाको अचार स्थानीय बजारमा मात्र सीमित छैनन्, विदेशका विभिन्न ठाउँमा समेत पठाउने गरिएको छ। ग्राहकहरू स्थानीय, बाह्य तथा विदेशसम्म फैलिएका छन्। मासिक आम्दानीमा आफू सन्तुष्ट रहेको उनी बताउनुहुन्छ । यद्यपि हालसम्म अचार व्यवसाय औपचारिक रूपमा दर्ता वा ब्रान्डिङ गरिएको छैन ।
अचारको काम नयाँ भएपनी बुनाइको काम नयाँ होइन । १४ बर्षको उमेरमा आफ्नो लागि एक जोर मोजा तयार पारेर सुरु भएको उहाँको यो पेशा अहिलसम्म पनि आत्मनिर्भरताको बाटो बनेको छ । अहिले अर्डरको खाचो पनि हुँदैन । अनि दैनिक खर्च पनि । कक्षा ८ सम्मको मात्र अध्ययन पुरा भएको थियो, घरको आर्थिक अवस्थाको कारण बाँकी शिक्षा हासिल गर्ने सपनामा पूर्णबिराम लाग्यो । त्यसपछी १८ बर्षको उमेरमा धुलिखेल नगरपालिका वडा नं ५ बसाहटोलमा उहाँको विवाह भयो । संयोगले उहाँको श्रीमानलाई पनि बुनाई सम्बन्धि ज्ञान थियो । आफुले पनि केही व्यवसाय गर्ने ईच्छा व्यक्तगरेपछी श्रीमानले बुनाईका काम सिकाईदिनुभयो । आफ्नो पनि रुचि र धेरैथोरै जानेकाले बुनाईको थप ज्ञान हासिल गर्नुभयो ।
विहान सबैरै उठ्नु, बालबच्चाको हेरबिचार गर्दै घरको काम भ्याउनु अनि फुर्सद मिल्ने बित्तिकै हातमा थरिथरी रङका उनको कपडा बुन्न तयार हुनु मेनुका श्रेष्ठको दैनिकी हो । सानै उमेरमा छरछिमेकबाट श्रेष्ठले बुनाईको काम सिक्नुभयो । उनको कपडा बुन्न जानेपछी १४ बर्षको उमेरमा उहाँले आफ्नो लागि एक जोर मोजा तयार पार्नुभयो । ठुला मानिसले बुनेको झैँ फिनिसिङ निकाल्न नजाने पनि आफुले तयार पारेको मोजा उहाँलाई खुबै मन पर्यो । त्यसपछी बुनाईको कामलाई नै व्यवसायिकतामा ढाल्ने सपना बुन्न थाल्नुभयो ।
श्रेष्ठले २०६० लाखदेखी बुनाईको काम सुरु गर्नुभएको थियो। एक दिनमा सयम दिएर गर्ने हो भने टोपि ४ वटासम्म, मोजा २ जोरसम्म सकिन्छ । पञ्जु र स्विटर बुन्न १ दिन भन्दा बढी लाग्ने उहाँ बताउनुहुन्छ । श्रेष्ठ सबैभन्दा धेरै पञ्जु र स्विटर बुन्ने गरेको उहाँ बताउनुुहुन्छ । सुरुमा २ सय ५० रुपैँया ज्याला पाउने श्रेष्ठले अहिले पञ्जु र स्विटर बुन्दा ४ सय रुपैँयासम्म पाउनुहुन्छ । समयदिएर काम गर्ने हो भने पैसा कमाउन घर बाहिर जानू नपर्ने उहाँ बताउनुहुन्छ । व्यवासायिक यात्रा अघि बढिरहँदा गृहिणीको भूमिका पनि कुशल तरिकाले निर्वाह गरिरहनुभएको छ । त्यहीमाथि घरमा नै बसेर गर्न सकिने भएकाले काममा पनि निकै सहज भएको उहाँ बताउनुहुन्छ । श्रीमान पनि जागिरे भएकाले घरको जिम्मेवारी श्रेष्ठ आफैँमा थियो । १९ बर्षको उमेरमा श्रेष्ठले आफ्नो पहिलो सन्तालाई छोरीलाई जन्म दिनुभयो । त्यसपछी छोरीलाई हुर्काउन समयदिनुपर्ने भएकाले व्यवसायिक यात्रा केही समयको लागि रोकिएको थियो । क्रम दोस्रो र तेस्रो सन्तानको जन्मपछी व्यवसायिक यात्रा अगाडी बढाउन कठिन हुन थाल्यो । आफ्नो पनि छुट्टै काम अनि श्रीमान पनि जागिरे । अब श्रेष्ठलाई गृहिणी र व्यवयायिक दुई पाटो हेर्न समस्या हुन थाल्यो तर पनि समय भ्याएसम्म दुबै कामलाई साथैमा लैजानुभयो । छोराछारी, घरको काम फेरी त्यसपछी व्यवसायलाई समय दिनु श्रेष्ठको लागि सानो चुनौतीको कुरा थिएन तर पनि उहाँ चुनौतीको सामना गर्न सदैब तैयार रहनुभयो । अहिले पनि उहाँको त्यो संघर्ष जारी छ ।
श्रेष्ठलाई कहिलेकाहीँ “कुवाको भ्याकुता कुवामै” भनेझैँ लाग्छ । देख्दा घरमा बसेर गर्ने र शारिरीक रुपमा कष्ट नहुने काम भएपनि काममा गारो हुने उहाँको अनुभव छ । त्यसमाथि आफु गृहिणी पनि भएकाले अलि समस्या हुने उहाँ बताउनुहुन्छ । काम गरेपनि उचित मूल्य नपाएको हो की भन्ने पानि आफुलाई लागिरहने उहाँ बताउनुहुन्छ । तर पनि श्रेष्ठ आफ्नो काममा कहिले पनि नैरास्यता आउन दिनुहुन्न । आफुले बुनेर अरुलाई दिने र अरुले नै बेच्ने भएकाले बजार व्यवस्थापनको लागि पनि कुनै समस्या छैन । बनेका सामान नबिक्लाकी भन्ने पनि कुनै चिन्ता नहुने उहाँ बताउनुहुन्छ ।
घरको आर्थिक भार श्रीमानले नै उठाईरहनुभएको छ तर पनि सामानय खर्च आफुलाई आवश्यक पर्ने भने श्रीमानलाई भनिरहरनु पर्दैन । छोराछोरी श्रीमानकै कमाईमा पढिरहेका छन् तर पढाई वा अन्य कुनै सामान्य कुरा छोराछोरीलाई आवश्यक पर्दा आफैँले पूर्ती गर्न सकिएको छ । यसमा आफुलाई पनि निकै खुसी लाग्ने गरेको उहाँ बताउनुुहुन्छ । आर्थिक रुपमा थोरै भए पनि श्रीमानलाई सहयोग गर्न पाउँदा आफुलाई पनि निकै गर्भ लाग्ने उहाँको भनाई छ । उमेरले ४१ बर्ष लाग्नुभएका श्रेष्ठ छोराछोरी अझैँ ठुलो भएपछी यसलाई ठुलो व्यवसायको रुपमा नै अगाडी बढाउने योजना छ । काम गर्ने आँट छ । व्यवसायको दायरा बढाउन तत्काल गारो भएपनि विस्तारै आफ्नो सपना पुरा गर्ने श्रेष्ठमा आत्मविश्वास पनि छ ।
उहाँ भन्नुहुन्छ, ‘स्थानीय तहरुले धेरै सहयोग गरेको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन धेरै तालिमहरु पनि दिएको छ । यसमा मैले पनि व्युर्टीपालर, मखमलको जुक्ता बनाउने, कृषि सम्बन्धि लगायतको तालिम लिएको छु । यसमा म धेरै आभारी पनि छु । तर कुनै पनि तालिम पुरा दक्ष हुने गरी सिकाईको छैन । त्यसकारण अरु पनि व्यवसाय गरौँ भने पाईएको छैन । सबै सीप अधुरो भए जस्तो महशुस हुन्छ । यसमा स्थानीय सरकारको ध्यान जाओस् ।’ आगामी दिनको योजना बनाईरदा पहिले पढ्न नपाएको भने धेरै दुःख लाग्ने गरेको उहाँको भनाई छ ।
एसएलसीसम्म मात्र भएपनि दिन पाएको भए उहाँलाई अझैँ केही राम्रो गर्थे भन्ने लागिरहन्छ । आत्मनिर्भर हुन्छु भनेर धेरै महिलाहरुले सोचेपनि पारिवारिक अवस्था र जिम्मेवारीको कारण अगाडी बढ्न नसक्ने उहाँको भनाई छ । यसको लागि आफैँले केही कदम नउठाएसम्म प्रगाती नहुने उहाँ बताउनुुहुन्छ । श्रेष्ठको यात्र केवल कमाइको कथा होइन, आत्मनिर्भरताको कथा हो । गाउँमै बसेर पनि महिलाले केही गर्न सक्छन् भन्ने उदाहरण उनी बन्नुभएको छ ।
उहाँ अन्य महिलाहरूलाई सन्देश दिनुहुन्छ, “आत्मनिर्भर हुन्छु भनेर धेरै महिलाहरूले सोच त बनाउँछन्, तर पारिवारिक अवस्था र जिम्मेवारीका कारण अगाडि बढ्न सक्दैनन् । तर आफैंले केही कदम नउठाएसम्म प्रगति हुँदैन ।” घरमै बसेर केही गर्न सकिँदैन भन्ने सोचलाई  श्रेष्ठले आफ्नै अचारको स्वादले गलत साबित गरिदिनिभएको छ ।
पलाञ्चोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस