कफि खेतीमार्फत आत्मनिर्भर बनेका गोपाल कृष्ण सापकोटा

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ पौष १९, शनिबार (१ हप्ता अघि)
  • १०३ पटक पढिएको

कफि खेतीमार्फत आत्मनिर्भर बनेका गोपाल कृष्ण सापकोटा
बेथानचोक गाउँपालिका–१ कफि खेतीका लागि निकै उपयुक्त र प्रशिद्ध क्षेत्रका रूपमा चिनिन्छ । यहाँको हावापानी, माटो र भौगोलिक बनावट कफि खेतीका लागि अनुकूल भएकाले उत्पादन पनि राम्रो हुँदै आएको छ । यही कारण यहाँका धेरै किसान कफि खेतीलाई आफ्नो मुख्य पेशा बनाएर आत्मनिर्भर बन्न सफल भएका छन् । ती सफल किसानहरूमध्ये एक हुनुहुन्छ गोपाल कृष्ण सापकोटा ।
सापकोटा विगत दुई दशकदेखि कफि खेतीमा संलग्न हुनुहुन्छ । उहाँका अनुसार कफि नेपालको एक महत्वपूर्ण नगदे बाली हो, जसले किसानको आम्दानी बढाउनुका साथै रोजगारी सिर्जनामा पनि ठूलो भूमिका खेल्दै आएको छ । “हाम्रो ठाउँ कफि खेतीका लागि निकै उपयुक्त छ । उत्पादन पनि राम्रो हुन्छ, त्यसैले यहाँका धेरै नागरिक यही खेतीमा निर्भर छन्,” उहाँ भन्नुहुन्छ ।
कफि खेतीप्रति आकर्षण बढ्नुमा स्थानीय सरकारको भूमिका पनि महत्वपूर्ण रहेको सापकोटाको भनाइ छ । बेथानचोक गाउँपालिकाले कफि खेती प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम र सहयोग उपलब्ध गराउँदै आएको छ। बिरुवा वितरण, तालिम, उपकरण सहयोगजस्ता कार्यक्रमले कृषिमा केही गर्छु भन्ने किसानलाई ठूलो टेवा पुगेको उहाँ बताउनुहुन्छ। “यस्ता सहयोगले किसानको हौसला बढ्छ र व्यवसायिक रूपमा अघि बढ्न मद्दत मिल्छ,” उहाँको अनुभव छ ।
सापकोटाले हाल अरेबिका जातको कफि खेती गरिरहनुभएको छ । अरेबिका कफिको बजार मूल्य राम्रो हुनुका साथै स्वाद र गुणस्तर पनि उच्च हुने भएकाले यसको अन्तर्राष्ट्रिय बजारमा ठूलो माग रहेको छ । यही कारण आफूलाई कफि खेतीमा थप सहजता र उत्साह मिलेको उहाँ बताउनुहुन्छ । कफि खेती नै उहाँको मुख्य आम्दानीको स्रोत हो ।
हाल सापकोटाले जम्मा ३ रोपनी क्षेत्रफलमा कफि खेती गर्नुभएको छ । उक्त क्षेत्रमा करिब ५ सय बोट कफि लगाइएको छ । राम्रो हेरचाह, नियमित गोडमेल र जैविक मल प्रयोगका कारण उत्पादन सन्तोषजनक रहेको उहाँको भनाइ छ । कफि बोटले रोपेको ३–४ वर्षपछि फल दिन सुरु गर्ने र राम्रो हेरचाह गरेमा १५–२० वर्षसम्म निरन्तर उत्पादन दिने भएकाले कफि खेती दीर्घकालीन रूपमा फाइदाजनक रहेको उहाँ बताउनुहुन्छ । तर कफि खेतीमा चुनौती नभएका भने होइनन् । सापकोटाका अनुसार कफिमा रोग र किराको समस्या निकै देखिन्छ । “रोग र किराले कहिलेकाहीँ धेरै दुःख दिन्छ,” उहाँ भन्नुहुन्छ । यदि रोग र कीरा नियन्त्रणसम्बन्धी तालिम र प्राविधिक सहयोग समयमै पाउन सकियो भने काम गर्न अझ सहज हुने उहाँको धारणा छ । सामान्य खालका रोगहरू भने जैविक उपायबाट नै नियन्त्रण गर्न सकिने अनुभव पनि उहाँसँग छ ।
उत्पादनसँगै बजार व्यवस्थापन पनि कफि खेतीको महत्वपूर्ण पक्ष हो । यस क्षेत्रमा कफिको बजार माग बढ्दो क्रममा रहेको र मूल्य पनि राम्रै पाइने भएकाले आफूलाई यही पेशामा टिकिरहन सहयोग पुगेको सापकोटा बताउनुहुन्छ । “जुन खेतीमा बजार भाउ राम्रो हुन्छ, त्यसमा किसानलाई काम गर्ने जाँगर पनि बढ्छ,” उहाँको अनुभव छ । सापकोटाको कफिको बजार स्थानीय मात्र नभई बनेपा र काठमाडौंका विभिन्न स्थानसम्म फैलिएको छ ।
सापकोटा उत्पादनमा मात्र सीमित नभई कफिको प्रशोधन कार्यमा पनि सक्रिय हुनुहुन्छ । उहाँले आवश्यक मेसिनरी सामग्री राखेर आफ्नै ठाउँमा कफि प्रशोधन गर्दै आउनुभएको छ । कफि प्रशोधनका लागि चाहिने मेसिन खरिद गर्न गाउँपालिकाबाट सहयोग प्राप्त भएको उहाँ बताउनुहुन्छ । यसले कफिको गुणस्तर कायम राख्न र राम्रो मूल्य पाउन थप मद्दत पुगेको छ ।
उहाँका अनुसार उत्पादन भएको कफि बिक्रीका लागि बजारको अभाव कहिल्यै भएको छैन । कहिलेकाहीँ त बजारको माग धान्नै गाह्रो हुने अवस्था पनि आउने गरेको छ । यस्तो अवस्थामा आफूलाई निकै खुशी लाग्ने उहाँ बताउनुहुन्छ । कफि सहकारी वा समूहमार्फत बिक्री गर्दा किसानलाई थप फाइदा हुने उहाँको भनाइ छ । आर्थिक हिसाबले हेर्दा, सापकोटाले वर्षमा करिब ३० हजार रुपैयाँ जति मजदुर खर्च गर्ने गर्नुभएको छ । बाँकी बचत भने आफ्नै परिवारको आयका रूपमा रहने गरेको उहाँ बताउनुहुन्छ । यसरी कफि खेतीले उहाँको परिवारको आर्थिक अवस्था मजबुत बनाउन ठूलो योगदान दिएको छ ।
हाल ६२ वर्ष उमेर पुग्नुभएका सापकोटा परिवारसँगै मिलेर खेतीपाती गरिरहनुभएको छ । उहाँ कफि खेतीमा मात्र सीमित नभई तरकारी खेती र पशुपालनमा पनि सक्रिय हुनुहुन्छ । उहाँको गोठमा एउटा गाई र चारवटा भैँसी पालिएको छ, जसबाट दैनिक करिब ३५ लिटर दूध उत्पादन भइरहेको छ । दूध बिक्रीबाट पनि राम्रो आम्दानी भइरहेकोमा उहाँ सन्तुष्ट हुनुहुन्छ । यसैगरी बारीमा साग, लसुनलगायतका तरकारी उत्पादन भइरहेको उहाँ बताउनुहुन्छ ।
कृषि क्षेत्रमा लामो समय बिताइसक्नुभएका गोपाल कृष्ण सापकोटाको अनुभवले देखाउँछ की, कफि खेती सही प्रविधि, तालिम र बजार पहुँचका साथ गरियो भने किसानका लागि दिगो र लाभदायक व्यवसाय बन्न सक्छ । आवश्यक सहयोग र निरन्तर मेहनत भएमा कफि खेतीले नेपाली किसानको जीवनस्तर सुधार्न ठूलो भूमिका खेल्न सक्छ ।
बेथानचोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस