सफल किसानको परिचय बनाउँदै सुनिता तामाङ

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ माघ १४, बुधबार (१ हप्ता अघि)
  • ६३ पटक पढिएको

सफल किसानको परिचय बनाउँदै सुनिता तामाङ
वर्षौँदेखि कृषि तथा पशुपालनलाई नै जीवनको आधार बनाउँदै आउनु भएकी सुनिता तामाङ बेथान्चोक गाउँपालिका–४, देवस्थानकी एक प्रेरणादायी महिला उद्यमी हुनुहुन्छ । सामान्य ग्रामीण परिवारमा जन्मिनु भएकी तामाङले कृषि र पशुपालनमै आफ्नो जीवनयापन गर्दै आउनुभएको छ । तर पछिल्ला केही वर्ष उहाँका लागि सहज भने रहेनन् ।
पछिल्ला दुई वर्षमा आएको बाढी र पहिरोले उहाँको जीवनमा ठूलो धक्का पु¥यायो । बाढीपहिरोका कारण उहाँको गोठसँगै गोठभित्र रहेका भैँसी र बाख्रा सबै बग्यो । त्यससँगै वर्षौँदेखिको मेहनत, सपना र भविष्यका आशा पनि बगेर गए । सानो परिवारसहितको सामान्य ग्रामीण जीवन बिताइरहनु भएकी तामाङका श्रीमान् भिमबहादुर पाख्रिन परिवारको उज्ज्वल भविष्यको सपना बोकेर वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएको थियो । झण्डै पाँच वर्षसम्म मलेसियामा बसेर दुःख गरेपछि स्वदेशमै केही गर्ने आशामा भिमबहादुर नेपाल फर्किनुभयो । विदेशमा अरुको अधीनमा बसेर काम गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउनु उचित ठानी उहाँ पुनः देवस्थान फर्केर पुरानै पेशा कृषि र पशुपालनमा लाग्नुभयो । तर सोचेजस्तो सफलता हात नपरेपछि बाध्य भएर उहाँ फेरि वैदेशिक रोजगारीका लागि जानुप¥यो ।
श्रीमान् विदेशमा रहँदा पनि सुनिता तामाङले आफ्नो पुरानै पेशालाई निरन्तरता दिनुभयो । करिब तीन वर्षअघि औपचारिक रूपमा फर्म दर्ता गरी व्यवसायिक बाख्रा पालन सुरु गर्नुभयो । ‘भिम कृषि फर्म’ नाममा दर्ता गरिएको उहाँको व्यवसाय अहिले विस्तारै फस्टाउँदै गएको छ । श्रीमान् विदेशमा भए पनि आफू पहिलेदेखि नै बाख्रा पालनमा संलग्न भएकाले यो पेशा सहज लागेर निरन्तरता दिएको उहाँ बताउनुहुन्छ । बाढीपहिरो आउनुअघि उहाँसँग करिब २५ वटा बाख्रा थिए । अहिले बाख्राको संख्या घटेको भए पनि उहाँको हौसला भने घटेको छैन । हाल उहाँले दुई वटा भैँसी पनि पाल्नुभएको छ । बाख्रा पालनसँगै भैँसी पालनबाट पनि राम्रो आम्दानी हुने सम्भावना देखेपछि उहाँले बाख्राको संख्या केही घटाएर भैँसी थप्नुभएको हो । तीमध्ये एउटा भैँसी व्याउने अवस्थामा रहेको छ भने अर्को दुहुनो छ । भैँसी पालनबाट पनि हाल राम्रो आम्दानी भइरहेको तामाङ बताउनुहुन्छ ।
उहाँले जमुना पारी क्रस, बोयर क्रस र खरी जातका बाख्रा पाल्नुभएको छ । स्थानीय जातका बाख्राभन्दा उन्नत जातका बाख्रामा नाफा बढी हुने उहाँको अनुभव छ । उन्नत जातका बाख्रामा मासु देखिने भएकाले व्यापारीहरूको ध्यान छिट्टै जाने र बजार मूल्य पनि राम्रो पाइने उहाँ बताउनुहुन्छ । स्थानीय जातका बाख्रामा मासु भए पनि देखिने नहुँदा व्यापारीहरूले खासै चासो नदिने उहाँको भनाइ छ । बाख्राका लागि घाँस व्यवस्थापनमा पनि तामाङ निकै सचेत हुनुहुन्छ । करिब एक रोपनी क्षेत्रमा डाले घाँस लगाउनुभएको छ, जसका कारण बाख्राका लागि बाहिर घाँस खोज्न जानु पर्दैन । बाख्रा र भैँसी पालनबाट हुने आम्दानी आफूलाई चित्तबुझ्दो रहेको उहाँ बताउनुहुन्छ । परिवारको राम्रो सहयोग भएकाले पनि व्यवसाय सञ्चालनमा थप सहजता भएको उहाँको अनुभव छ ।
सुरुका दिनमा बजारको अभावका कारण धेरै समस्या झेल्नुपरेको भए पनि अहिले भने व्यापारीहरू आफैँ घरमै आउने गरेका छन् । त्यसैले हाल बजारको कुनै समस्या नरहेको उहाँ बताउनुहुन्छ । सामान्य कृषि परिवारमा जन्मिएर हुर्किनु भएकी तामाङले सामान्य शिक्षा मात्र हासिल गर्न पाउनुभएको थियो । श्रीमान् पनि पहिले खेतीकिसानीमै सीमित सपना देख्नुहुन्थ्यो । तर जीवनका विभिन्न उतारचढावपछि अहिले भने पुनः पुरानै पेशामा फर्किएर सफल हुने बाटोमा उहाँहरू अघि बढिरहनुभएको छ ।
गोठ निर्माणका विषयमा आफ्नो अनुभव सुनाउँदै तामाङ भन्नुहुन्छ, “बाख्राको खोरको कुनै निश्चित आकार हुँदैन । नेपाल सरकारले र केही निजी फार्महरूले विभिन्न मोडल सिफारिस गरेका छन् । जुनसुकै मोडलको खोर बनाउँदा पनि केही आधारभूत कुरामा ध्यान दिनैपर्छ । खोर जमिनभन्दा कम्तीमा ९० सेन्टिमिटर अग्लो बनाउनुपर्छ । यसो गर्दा बाख्राको दिसा–पिसाबबाट निस्किने दुर्गन्ध खोरभित्र जम्मा हुँदैन । दिसा–पिसाब कुहिँदा निस्कने सल्फर डाइअक्साइड, मिथेन, अमोनिया, हाइड्रोजन सल्फाइडजस्ता ग्यासले पाठापाठीको वृद्धि विकासमा असर गर्नुका साथै गर्भवती बाख्रामा तुहिने समस्या ल्याउन सक्छ ।”
स्थानीय तह र केही संघसंस्थाबाट गोठ निर्माणलगायतका काममा सहयोग पाएको उहाँ बताउनुहुन्छ । आर्थिक अवस्था कमजोर भएकाहरूका लागि यस्ता सहयोग अत्यन्त आवश्यक हुने उहाँको भनाइ छ । सानो सहयोग पनि ठूलो राहत बन्ने कुरा आफूले प्रत्यक्ष रूपमा अनुभूति गरेको उहाँ बताउनुहुन्छ ।
आगामी दिनमा बाख्राको संख्या बढाएर व्यवसायको दायरा अझ फराकिलो बनाउने योजना पनि तामाङले बनाउनुभएको छ । त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको र गोठ विस्तारको काम पनि अघि बढिरहेको उहाँ बताउनुहुन्छ । श्रीमान् विदेशमा भए पनि आफूले घरपरिवार सम्हाल्न सकेकोमा गर्व महसुस हुने उहाँको भनाइ छ । छोरा र छोरीको पालनपोषणका लागि बाख्रा तथा भैँसी पालन निकै सहज माध्यम बनेको उहाँ बताउनुहुन्छ ।
तरकारी खेती गर्ने चाहना पनि भए पनि खेतबारी सडकको छेउमा भएकाले धुलो धेरै उड्ने समस्या रहेको र त्यसैले हाल तरकारी खेती गर्न कठिन भइरहेको उहाँको भनाइ छ । संघर्ष, धैर्य र मेहनतका साथ अघि बढिरहेकी सुनिता तामाङ आज बेथान्चोक क्षेत्रमा एक उदाहरणीय महिला कृषकका रूपमा चिनिन थाल्नुभएको छ ।
पलाञ्चोक साप्ताहिकबाट ।

ताजा अपडेट

२०८२ माघ २३, शुक्रबार

कर्मले मन जित्दै सुमन

यो साताको प्रचलित

खोजी गर्नुहोस