
निगम चिमौरिया, पशुपंक्षी पालक किसान
नमोबुध्द नगरपालिका वडा नं. ४, मेथिनकोट
नमोबुद्ध नगरपालिका–४, मेथिनकोटमा जन्मिएका निगम चिमौरिया अहिलेका एक सक्रिय कृषक तथा पशुपंक्षी उद्यमी हुनुहुन्छ । उमेरले झन्डै ३० वर्ष पुग्न लाग्दा, उहाँको यात्रा सामान्य थिएन । उमेरले भर्खर १८ वर्षमै कक्षा १२ पढ्दै गर्दा उहाँ वैदेशिक रोजगारीको लागि मलेसिया प्रस्थान गर्नुभयो । तर विदेशको कठिन समय र काममा रहँदा नेपालमै घर आएर मेहनत गर्ने चाहना सदैव टल्किंदै गयो ।
विदेशमा बिताएका पाँच वर्षपछि उहाँले नेपाल फर्किएर आफ्नै देशमै मेहनत गर्ने निर्णायक योजना अघि बढाउनुभयो । त्यसपछि सुरु भयो उहाँको कृषि तथा पशुपंक्षी पालनको व्यापारिक यात्रा । चिमौरियाले पशुपालनको सुरुवात जम्मा पाँच वटा गाईबाट गर्नुभएको थियो । त्यतिबेलादेखि अहिलेसम्म उहाँको गाई–भैँसी पालनको अनुभव पाँच वर्षभन्दा बढी भइसकेको छ । अहिले उहाँको गोठमा करिब २८ वटा गाई छन् । जसमा प्रायः जर्सी क्रस जातका गाईहरू छन् । साथै ५ वटा होलस्टाइन जातका गाई र १ भारतीय जातको गाई समेत छन् ।
उहाँको गोठ ४० वटा गाईसम्म अट्ने क्षमता भएकोले, निकट भविष्यमा गाई संख्या थप्ने योजना उहाँसंग छ । भैँसीको संख्या अहिलेसम्म जम्मा पाँचवटा मात्र भए पनि ती सबै मुर्रा क्रस भैँसी हुन् । गाई–भैँसी पालनका कारण दैनिक औसत लगभग १५० लिटरसम्म दूध उत्पादन हुने गर्दछ ।
उत्पादन भएको दूध सबै स्थानीय बजारमा नै बिक्री हुने गर्दछ जसले गर्दा बजार खोज्दै हराउनुपर्दा समय र मेहनत दुवै बच्ने काम भइरहेको छ । उहाँले आफ्नै स्थानीय सहकारीको माध्यमबाट दूध बेच्दा धेरै सहजता महसुस भएको बताउनुभयो । यद्यपि, फ्याट सिस्टम लागू हुँदा दूधको फ्याट मूल्य कम आउँने भएकाले आम्दानीमा केही असुविधा आउँने गरेको उहाँ बताउँनुहुन्छ । जस्तै होलस्टाईन जातका गाईबाट दूध धेरै आउँछ तर फ्याट कम हुने भएकाले प्रत्यक्ष आर्थिक आम्दानी अपेक्षाअनुसार हुन नसकेको उनले बताउनुभयो । औसतमा दूधको आम्दानी मासिक रू. २.५ लाखदेखि ३ लाख नजिक आइरहेको छ ।
चिमौरियाको फार्ममा बोइलर कुखुरा पालन प्रमुख आम्दानीको स्रोतका रूपमा अघि सार्नुभएको छ । सुरुमा उहाँको खोर एक हजार कुखुरा अट्ने क्षमतामा मात्र थियो । विस्तार गर्दै अहिले त्यो क्षमता पाँच हजार कुखुरासम्म पु¥याउनुभएको छ । जुन, उहाँ एक चुनौतीपूर्ण उपलब्धि मान्नुहुन्छ । कुखुरा पालनबाट आर्थिक आम्दानी राम्रो हुने गरे पनि बजार भाउ स्थिर नहुनाले कहिले नाफा कहिले घाटा हुने अनुभव उहाँले छ ।
उहाँ को गोठमा केवल गाई–भैँसी र कुखुरा मात्र होइन, २५ वटा स्थानीय जातका बाख्रा पनि पालिएको छ । चिमौरिया भन्नुहुन्छ, “काममा परिवारको मात्र सहयोगले नपुग्ने भएपछी अहिले एक परिवारलाई रोजगारी दिएँ, साथमा काम भइरहेको छ । अरुलाई स्वरोजगार बनाइदिन पाउनु मेरो लागि धेरै खुशीको विषय हो ।” उहाँको लक्ष्य कृषि तथा पशुपंक्षी क्षेत्रमा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु र सस्टेनेबल कृषि व्यवसाय विस्तार गर्नु रहेको छ । उहाँको क्षेत्र सुखिलो एरिया भएकाले पनि पानीको समस्या अहिले पनि ठूलो चुनौती बनेको छ । अवस्था सुझबुझका साथ समाधान खोजिरहँदा पनि मल, बिउ, बजार लगायतका समस्या कहिल्यै टाढा नजाने उहाँको भनाइ छ ।
त्यो बाहेक बिउ तथा मल बजार, बजारको पहुँच, उत्पादनको बिकास, रोल आउट प्लानिङ र मार्केटिंग रणनीतिमा अझै सुधार आवश्यक रहेको अनुभव उहाँले गर्नुभएको छ । चिमौरिया आफ्ना सबै दर्ता प्रक्रिया – जिल्ला घरेलु कार्यालय, धुलिखेल र नगरपालिका दर्तासम्म पूरा गरिसक्नुभएको छ । उहाँको फार्ममा करीब एक करोड रुपैयाँ बराबरको लगानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट केही सहयोग पाएपछि आर्थिक भार केही हदसम्म कम भएको उहाँले बताउनुभयो । स्थानीय सरकारको प्राविधिक सहयोगले कार्यमा सहजता ल्याइरहेको उहाँको अनुभव छ ।
गाई–भैँसीबाट उत्पादन हुने मललाई कम्पोस्ट मलमा परिणत गर्ने उहाँको आगामी योजना छ । यसैगरी आफ्नै उत्पादनलाई प्याकिङ गरेर बजारसम्म पु¥याउने योजनामा पनि काम भइरहेको उहाँ बताउनुहुन्छ । बजार प्रवेशमा उत्पादकहरूलाई सहजता मिलाउने नीति निर्माण गर्न सरकारी तहबाट पहल भए किसानहरुलाई अझ राहात मिल्ने उहाँ बताउनुहुन्छ । विविध योजना कार्यान्वयन गर्दै स्थानीय उत्पादनलाई थप मूल्याङ्कन गर्ने लक्ष्य राख्नुभएको छ । यसको लागि आफुले अहिलेदेखी नै विभिन्न खालाका तयारीहरु गरिसक्नुभएको छ । यसमा उहाँको परिवारको पनि निकै ठुलो साथ रहँदै आएको छ ।
उहाँको आग्रह छ, कि सरकारले उत्पादनको सुनिश्चित बजार, लागत घटाउने सहयोग, प्राविधिक र व्यवस्थापन सहायता प्रदान गरेमा उत्पादकहरूको काम अझ आर्थिक र दीगो बन्न सक्नेछ । चिमौरिया एउटा साधारण पृष्ठभूमिबाट उठेर खेत–गोठदेखि कुखुराखोरसम्म व्यावसायिक किसान–उद्यमी बन्न सफल भएका हुनुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै देशमा मेहनत गर्ने सोच राख्दा आज उहाँका गोठमा लाखौंको लगानी, पशु–पंक्षी र रोजगारी सृजना भइसकेको छ । उहाँका लागि कृषि अब केवल जीविकोपार्जनको साधन मात्र नभई समुदायको आर्थिक उन्नति र स्वरोजगारको स्रोत बनेको छ ।
बेथानचोक साप्ताहिकबाट ।