सक्रिय किसानको छवि बनाउँदै निगम

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ माघ १७, शनिबार (१ हप्ता अघि)
  • ९६ पटक पढिएको

सक्रिय किसानको छवि बनाउँदै निगम

निगम चिमौरिया, पशुपंक्षी पालक किसान

नमोबुध्द नगरपालिका वडा नं. ४, मेथिनकोट

नमोबुद्ध नगरपालिका–४, मेथिनकोटमा जन्मिएका निगम चिमौरिया अहिलेका एक सक्रिय कृषक तथा पशुपंक्षी उद्यमी हुनुहुन्छ । उमेरले झन्डै ३० वर्ष पुग्न लाग्दा, उहाँको यात्रा सामान्य थिएन । उमेरले भर्खर १८ वर्षमै कक्षा १२ पढ्दै गर्दा उहाँ वैदेशिक रोजगारीको लागि मलेसिया प्रस्थान गर्नुभयो । तर विदेशको कठिन समय र काममा रहँदा नेपालमै घर आएर मेहनत गर्ने चाहना सदैव टल्किंदै गयो ।
विदेशमा बिताएका पाँच वर्षपछि उहाँले नेपाल फर्किएर आफ्नै देशमै मेहनत गर्ने निर्णायक योजना अघि बढाउनुभयो । त्यसपछि सुरु भयो उहाँको कृषि तथा पशुपंक्षी पालनको व्यापारिक यात्रा । चिमौरियाले पशुपालनको सुरुवात जम्मा पाँच वटा गाईबाट गर्नुभएको थियो । त्यतिबेलादेखि अहिलेसम्म उहाँको गाई–भैँसी पालनको अनुभव पाँच वर्षभन्दा बढी भइसकेको छ । अहिले उहाँको गोठमा करिब २८ वटा गाई छन् । जसमा प्रायः जर्सी क्रस जातका गाईहरू छन् । साथै ५ वटा होलस्टाइन जातका गाई र १ भारतीय जातको गाई समेत छन् ।
उहाँको गोठ ४० वटा गाईसम्म अट्ने क्षमता भएकोले, निकट भविष्यमा गाई संख्या थप्ने योजना उहाँसंग छ । भैँसीको संख्या अहिलेसम्म जम्मा पाँचवटा मात्र भए पनि ती सबै मुर्रा क्रस भैँसी हुन् । गाई–भैँसी पालनका कारण दैनिक औसत लगभग १५० लिटरसम्म दूध उत्पादन हुने गर्दछ ।
उत्पादन भएको दूध सबै स्थानीय बजारमा नै बिक्री हुने गर्दछ जसले गर्दा बजार खोज्दै हराउनुपर्दा समय र मेहनत दुवै बच्ने काम भइरहेको छ । उहाँले आफ्नै स्थानीय सहकारीको माध्यमबाट दूध बेच्दा धेरै सहजता महसुस भएको बताउनुभयो । यद्यपि, फ्याट सिस्टम लागू हुँदा दूधको फ्याट मूल्य कम आउँने भएकाले आम्दानीमा केही असुविधा आउँने गरेको उहाँ बताउँनुहुन्छ । जस्तै होलस्टाईन जातका गाईबाट दूध धेरै आउँछ तर फ्याट कम हुने भएकाले प्रत्यक्ष आर्थिक आम्दानी अपेक्षाअनुसार हुन नसकेको उनले बताउनुभयो । औसतमा दूधको आम्दानी मासिक रू. २.५ लाखदेखि ३ लाख नजिक आइरहेको छ ।
चिमौरियाको फार्ममा बोइलर कुखुरा पालन प्रमुख आम्दानीको स्रोतका रूपमा अघि सार्नुभएको छ । सुरुमा उहाँको खोर एक हजार कुखुरा अट्ने क्षमतामा मात्र थियो । विस्तार गर्दै अहिले त्यो क्षमता पाँच हजार कुखुरासम्म पु¥याउनुभएको छ । जुन, उहाँ एक चुनौतीपूर्ण उपलब्धि मान्नुहुन्छ । कुखुरा पालनबाट आर्थिक आम्दानी राम्रो हुने गरे पनि बजार भाउ स्थिर नहुनाले कहिले नाफा कहिले घाटा हुने अनुभव उहाँले छ ।
उहाँ को गोठमा केवल गाई–भैँसी र कुखुरा मात्र होइन, २५ वटा स्थानीय जातका बाख्रा पनि पालिएको छ । चिमौरिया भन्नुहुन्छ, “काममा परिवारको मात्र सहयोगले नपुग्ने भएपछी अहिले एक परिवारलाई रोजगारी दिएँ, साथमा काम भइरहेको छ । अरुलाई स्वरोजगार बनाइदिन पाउनु मेरो लागि धेरै खुशीको विषय हो ।” उहाँको लक्ष्य कृषि तथा पशुपंक्षी क्षेत्रमा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु र सस्टेनेबल कृषि व्यवसाय विस्तार गर्नु रहेको छ । उहाँको क्षेत्र सुखिलो एरिया भएकाले पनि पानीको समस्या अहिले पनि ठूलो चुनौती बनेको छ । अवस्था सुझबुझका साथ समाधान खोजिरहँदा पनि मल, बिउ, बजार लगायतका समस्या कहिल्यै टाढा नजाने उहाँको भनाइ छ ।
त्यो बाहेक बिउ तथा मल बजार, बजारको पहुँच, उत्पादनको बिकास, रोल आउट प्लानिङ र मार्केटिंग रणनीतिमा अझै सुधार आवश्यक रहेको अनुभव उहाँले गर्नुभएको छ । चिमौरिया आफ्ना सबै दर्ता प्रक्रिया – जिल्ला घरेलु कार्यालय, धुलिखेल र नगरपालिका दर्तासम्म पूरा गरिसक्नुभएको छ । उहाँको फार्ममा करीब एक करोड रुपैयाँ बराबरको लगानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट केही सहयोग पाएपछि आर्थिक भार केही हदसम्म कम भएको उहाँले बताउनुभयो । स्थानीय सरकारको प्राविधिक सहयोगले कार्यमा सहजता ल्याइरहेको उहाँको अनुभव छ ।
गाई–भैँसीबाट उत्पादन हुने मललाई कम्पोस्ट मलमा परिणत गर्ने उहाँको आगामी योजना छ । यसैगरी आफ्नै उत्पादनलाई प्याकिङ गरेर बजारसम्म पु¥याउने योजनामा पनि काम भइरहेको उहाँ बताउनुहुन्छ । बजार प्रवेशमा उत्पादकहरूलाई सहजता मिलाउने नीति निर्माण गर्न सरकारी तहबाट पहल भए किसानहरुलाई अझ राहात मिल्ने उहाँ बताउनुहुन्छ । विविध योजना कार्यान्वयन गर्दै स्थानीय उत्पादनलाई थप मूल्याङ्कन गर्ने लक्ष्य राख्नुभएको छ । यसको लागि आफुले अहिलेदेखी नै विभिन्न खालाका तयारीहरु गरिसक्नुभएको छ । यसमा उहाँको परिवारको पनि निकै ठुलो साथ रहँदै आएको छ ।
उहाँको आग्रह छ, कि सरकारले उत्पादनको सुनिश्चित बजार, लागत घटाउने सहयोग, प्राविधिक र व्यवस्थापन सहायता प्रदान गरेमा उत्पादकहरूको काम अझ आर्थिक र दीगो बन्न सक्नेछ । चिमौरिया एउटा साधारण पृष्ठभूमिबाट उठेर खेत–गोठदेखि कुखुराखोरसम्म व्यावसायिक किसान–उद्यमी बन्न सफल भएका हुनुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै देशमा मेहनत गर्ने सोच राख्दा आज उहाँका गोठमा लाखौंको लगानी, पशु–पंक्षी र रोजगारी सृजना भइसकेको छ । उहाँका लागि कृषि अब केवल जीविकोपार्जनको साधन मात्र नभई समुदायको आर्थिक उन्नति र स्वरोजगारको स्रोत बनेको छ ।

बेथानचोक साप्ताहिकबाट ।

ताजा अपडेट

२०८२ माघ २३, शुक्रबार

कर्मले मन जित्दै सुमन

यो साताको प्रचलित

खोजी गर्नुहोस