कर्मले मन जित्दै सुमन

निरन्तरको कर्म र त्यसको अनुभवको सरल यात्रा
  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ माघ २३, शुक्रबार (१ महिना अघि)
  • ११६ पटक पढिएको

कर्मले मन जित्दै सुमन
सुमन नेपाली, बनेपा नगरपालिका–७, परिवार नियोजन चोकमा स्थायी रूपमा बसोबास गर्दै आउनुभएको छ । उहाँ एक कुशल सिलाइकर्मी हुनुहुन्छ । धेरै मानिस आपस—बलम दैनिक जीवनका चुनौतीका कारण तनाव महसुस गर्छन् । यस्तै परिस्थितिले सुमनलाई पनि कहिलेकाहीँ चिन्ताले छोइरहन्छ । कतिपय दिनहरूमा तनावले उनलाई भावनात्मक रूपमा असजिलो बनाउँछ, तर उहाँले हिम्मत नहारिकन अघि बढ्ने दृढता देखाउनुहुन्छ । आफ्नो कर्मप्रतिको समर्पण, धैर्य र निरन्तर अभ्यासले उहाँ व्यवसायमा निरन्तर दृढतापूर्वक लाग्दै आउनुभएको छ ।
नेपाली पेशाले सिलाइकर्मी हुनुहुन्छ । उहाँको आफ्नै पसल रहेको छ र त्यहींबाट उहाँले श्रीमती र दुई छोरीको घर चलाउने जिम्मेवारी पूरा गरिरहनुभएको छ । परिवारलाई सधैँ सन्तुष्ट र सुखी राख्न उहाँले कडा परिश्रम गर्नुहुन्छ । यसमा श्रीमतीको समान हिस्सेदारी भएकोले काममा थप ऊर्जा र सहजता आएको उहाँ बताउनुहसन्छ । उहाँका अनुसार, “सुखी परिवारको परिकल्पना त्यति ठूलो छैन; जसले हरेक दिन इमानदारीपूर्वक काम गर्दै परिवारलाई संभाल्न सकोस्, त्यो नै सच्चा सुख हो ।”
बनेपा–७, परिवार नियोजन चोकमा नेपालीको सिलाई पसल दिनभरि ग्राहकको व्यस्तता र सिलाइको आवाजले भरिपूर्ण हुन्छ । सामान्य कपडासँगै जिन्सका कपडा सिलाउने काम यहाँको मुख्य विशेषता हो । जिन्सका स्कर्ट, पाइन्ट, हट पाइन्ट, सर्ट, ज्याकेट र अन्य विविध डिजाइनका कपडा यहाँ तयार गरिन्छन् । उहाँकाअनुसार रेडिमेड कपडा यति धेरै उपलब्ध नभएकाले ग्राहकले अधिकांस आफ्नो आकार र डिजाइन अनुरूप सिलाउने रूचि राख्छन् । यसैले रेडिमेडभन्दा धेरै कस्टम–सिलाइका अर्डर आउँछन् । सबै ग्राहक पुरुष र महिला दुवैका लागि समान रूपमा आउने भएकाले उहाँका हात प्रायः खाली हुन्थेनन् ।
विशेष गरी दशै र तिहारजस्ता चाडपर्वका समयमा काम धेरै हुने गरेको उहाँ बताउनुहुन्छ । चाडपर्व नजिकिँदै गर्दा ग्राहक आफ्नो लुगा समयमै सिलाउन चाहन्छन्, जसले व्यवसायमा व्यस्तता उस्तै वृद्धि गर्छ । सिजन सक्रिय रहँदा उहाँका हात हरेक दिन व्यस्त रहन्छन्, तर यस व्यस्तलाई उनी सकारात्मक रूपमा लिन्छन् र सिलाईलाई आफ्नो कर्मको रूपमा मान्दछन् । नेपालीले करिब १२ वर्षदेखि जिन्सका कपडा सिलाइँदै आएको अनुभव बटुलिसक्नुभएको छ । सुरुमा साना कदमले व्यवसायको थालनी गरिएको थियो । दर्ता गरी औपचारिक रूपमा व्यवसाय सुरु गर्दा उहाँ सोच्नुहुन्थ्यो कि जे गर्छु त्यो दिगो र चल्ने खालको काम होस् । सबैको मन र चाहना फरक र विविध भएकाले सिलाइलाई रोज्नुभएका सुमनका मनसाय यही थियो कि व्यवसाय त्यति मात्र होईन, जुन मानिसलाई स्थिर आम्दानी पनि दिन सक्छ ।
पहिले सिमित अनुभव र स्रोत रहेकाले शुरुवाती दिनहरू आसान थिएनन् । तर परिश्रम, सकारात्मक सोच र कपडा सिलाइको कला प्रति लगावले उहाँलाई अघि बढ्न प्रेरित गर्यो । आफूले चुनेको सिलाइ पेशा केवल परम्परागत मात्र नभई, बजारको मागअनुसार निरन्तर विकासशील बन्न आवश्यक रहेछ भन्ने कुरा उहाँले चाँडै बुझ्नुभयो । आज नेपालीले केवल सिलाइ मात्र गर्नुहुन्न, बजारको माग, फेसन, डिजाइन र ग्राहकको आवश्यकताअनुसार आफ्नो कौशललाई नियमित अपडेट पनि गर्नुहुन्छ । पहिलेका समयमा जिन्सका कपडाहरूमा थोरै मात्र डिजाइन तथा साधारण शैली प्रचलित हुन्थ्यो, तर आजका ग्राहक हरेक पटक नयाँ र आकर्षक डिजाइनको अपेक्षा राख्छन् । महिलादेखि पुरुष ग्राहक सबैले केही न केही नवीनता चाहन्छन् ।
सुमन भन्नुहुन्छ, “ग्राहक भगवान सरह हुन्, उहाँहरूको चाहना र चित्त बुझाउनु हाम्रो दायित्व हो ।” यही दर्शनले उहाँलाई हरेक अर्डरप्रति समर्पित र उत्तरदायी बनाएको छ । उहाँको पुर्खौली घर सिन्धुली जिल्लामा रहेको भए पनि धेरै समयदेखि बनेपामा नै बसेर व्यवसाय गर्दै आउनुभएको छ । यही कारणले उहाँले व्यवसायको दायरा अझै फैलाउने योजना पनि बनाउनु भएको छ । “स्थानीय उत्पादनलाई उच्च स्तरमा लैजान सम्भव छ; तर मानिसहरू ठूला ब्रान्ड र रेडिमेड उत्पादनलाई प्राथमिकता दिन्छन्, जसले स्थानीय उत्पादनलाई पचाउन कठिनाइ पु¥याएको छ,” नेपाली बताउनुहुन्छ । त्यस्तै, कतिपयले नेपाली उत्पादनलाई सस्तो या कम गुणस्तरको ठान्ने प्रवृत्ति रहेको सुमनले अनुभव गरेका छन् । उहाँकाअनुसार नेपालमा बनेका कपडाहरू बलियो, टिकाउ र आरामदायी हुन्छन् र यदि प्रयोगकर्ताले यसको महत्व बुझ्न सके, देशको आर्थिक अवस्था र वातावरण दुवैमा सकारात्मक प्रभाव पर्न सक्छ ।
नेपालीले ठूलो डिजाइन स्टुडियो वा कोर्स गरेर सिकेका होइनन् तर ग्राहकको मनोविज्ञान, फेसन र सिलाइको अनुभवबाट नै उहाँ विविध डिजाइन तयार गर्न सक्षम हुनुभएको छ । पुरुषका लागि पाइन्ट सिलाइँ मुख्यतः लोकप्रिय रहेको हुँदा त्यो क्षेत्रमा नेपालीलाई सहजता छ । उहाँकाअनुसार सिलाइ पेशामा केवल टेक्निकल कला पर्याप्त छैन; बजारको माग बुझ्ने, ग्राहकसँग सम्बन्ध बनाउन सक्ने र तिनै माग अनुरूप उत्पादन दिन सक्ने क्षमता पनि उत्तिकै आवश्यक हुन्छ । उहाँ भन्नुहुन्छ, “मैले अमेरिकी, इटालियन वा कुनै विदेशी ब्रान्ड निर्माणको प्रतिस्पर्धा गर्न खोजेको होईन तर स्थानीय स्तरमा पनि उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने विश्वास राख्नुहुन्छ, जसरी जिन्स सदाबहार चलिरहने कपडा हो, त्यसैले यो पेशामा भविष्यको सम्भावना अझै धेरै रहेको उहाँको मान्यता हो ।
विश्वभरका युवाहरू प्रायः बिदेशी रोजगारीलाई जीवनको अन्तिम लक्ष्य ठान्ने प्रचलनमा छन् । तर सुमन भन्नुहुन्छ, “यहाँ नेपालमै पनि मेहनत गर्ने, सीप हासिल गर्ने र व्यवसाय गरेर सफल हुने धेरै अवसरहरू छन् । उद्यमिता केवल पैसाले मात्र होइन, उत्पादन, बजारको ज्ञान र दिगो सोचले पनि निर्धारण हुन्छ ।” उहाँका अनुसार, “युवाहरू प्रायः अरूको सफलतालाई हेरी त्यहीँको नक्कल गर्न खोज्छन् र असफल हुन्छन् । टाढाबाट देखिने सफलताले सधैं सत्य चित्र देखाउँदैन । उत्पादन राम्रो हुनु, बजार बुझ्नु, मेहनत र धैर्य सबैको संयोजनले मात्र उद्यमी सफल हुन्छन् ।” नेपालीले सानो लगानीबाट मात्र व्यवसाय सुरु गरेको यात्रा आज उहाँको विश्वास, कौशल र ग्राहक सन्तुष्टिको आधारमा टेकेको छ । उहाँलेले केवल सिलाइ यात्रालाई आफ्नो बजारमूलक कला, व्यवसायिक सोच र भविष्यवादी दृष्टिकोण सहित अघि बढाउनुभएको छ ।
आज जिन्स सिलाइको व्यवसायमा कठिन प्रतिस्पर्धा रहे पनि सुमनका लागि त्यो केवल चुनौती मात्र होइन, आफ्नो कौशललाई अझ धारदार बनाउने प्रेरणा पनि हो । यसै विश्वास र प्रतिबद्धता साथ सुमन नेपाली अब आफ्नै व्यवसायलाई अझ ठूलो स्तरमा विस्तार गर्न, नयाँ डिजाइनहरू सिक्न र स्थानीय उत्पादनको पहिचानलाई अझ सुदृढ बनाउन प्रयासरत छन् ।
बेथानचोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस