बनेपा नगरपालिका–५, घोगेचौरमा बस्ने चन्द्रलक्ष्मी मानन्धरको सिलाई पसल बनेपा बख्खुटोलमा सञ्चालन हुन्छ । विहानदेखी बेलुकासम्म उहाँको समय प्रायः पसलमै बित्ने गर्दछ । बिहान सिलाई सम्बन्धी प्रशिक्षण दिने र दिनभरी ग्राहकले दिइएका अर्डरका कपडाहरू सिल्ने काममा उहाँ व्यस्त रहनुहुन्छ । आजकल बजारमा रेडिमेड कपडाहरूको प्रयोग धेरै बढेपछि पहिले जस्तो व्यापार भयो भने छैन, तर त्यसका बावजुद पनि पसल सधैं खल्लो हुने अवस्था छैन ।
एकदिन बाले भन्नुभयो, ‘छोरी चन्द्र लक्ष्मि जाउँ त मेरो सिलाउन दिएको कपडा लिएर आउँ ।’ जब चन्द्र लक्ष्मि मानन्धर बाको कपडा लिन जानुभयो तब कपडा सिलाएकै हुदैँन थियो । पटक पटक यही कुरा दोहोरिएपछी मानन्धरले सिलाईकै काम गर्छु र मेरो बाको कपडा भनेको समयमा म आफैँ सिलाउछु भन्ने प्रण लिनुभयो । त्यो बेलादेखी अहिलेसम्म ५० बर्षिय मानन्धर बुबाको कपडा आफैँ सिलाउनुहुन्छ । जबकी ‘नारी सिलाई प्रशिक्षण केन्द्र’ का सञ्चालक मानन्धरकोमा महिलाका मात्र कपडा सिलाईन्छ । करिब १२ बर्षको उमेर गरेको त्यो अठोटले मानन्धरलाई अहिले सिलाई व्यवसायी बनाएको छ । परनिर्भर हुनुपरेको छैन । कसैको अगाडी हात फैलाउनुपरेको छैन । आत्मनिर्भरताले सम्मान बढाएको छ ।
मानन्धरलाई आफ्नो काममा सहयोग पु¥याउन चार जना दिदीबहिनीहरूसँगै काम गर्छन् । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यी दिदीबहिनीहरूले सिलाइमा हातेमालो गर्छन् र पिसको हिसाबले काम गरेबापत मानन्धरले तिनीहरूलाई सामान्य पारिश्रमिक दिनुभएको छ । यसले गर्दा उहाँहरूको घर खर्च चलाउन पनि सहज भएको उहाँले बताउनुहुन्छ । पसल २०६५ सालमा दर्ता भएको हो भने, सिलाइको कार्यमा उहाँको अनुभव पुरानो छ । मानन्धरले सिटिइभिटीसीको दुई तहको तालिम पनि पूरा गर्नुभएको छ । यस अर्थमा, बाहिरबाट तालिम लिन नपरे पनि उहाँलाई काम गर्न सहज छ ।
सानैदेखी सिलाईमा रुचि राख्ने मानन्धरले पनि सिलाई सिक्ने बेलामा दुःख पाउनुपरेकाले अहिले आफ्नो सिक्न आएकालाई सहज वातावरण बनाईदिइरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मलाई कैचीँ भन्ने थाह थिएन । रहर लागेर चुलेसीले कपडा काट्र रहर मेट्ने कोशिस गर्थे । चकको पनि चलन थिएन । सेतो कपडामा कोर्नुपर्यो भने चकको काम म गोल, माटो, कमेरो ईत्यादीको प्रयोग गर्थे । ११÷१२ बर्षको उमेरमा जागेको त्यो रहर अहिलेसम्म पनि पुरा भयो भन्ने लाग्दैँन ।’ २०५६ सालदेखी मानन्धर निरन्तर रुपमा सिलाईको काममा नै आवद्ध हुनुहुन्छ ।
२७ सय ऋण लिएर व्यवसायको थालनी गर्नुभएको मानन्धरले अहिले व्यवसायमा अपार सफलता पाइसक्नुभएको छ । अहिले ग्राहक नहुने भन्ने कुनै चिन्ता हुदैँन । बरु कहिलेकाहीँ भिड नै हुन्छ । ३ चरणमा चलिएको ऋण चुक्ताभएपछी आम्दानीको बाटो खुलेको थियो । विवाह नहुदाँदेखी नै उहाले आफ्नो व्यवसायिक यात्रालाई अगाड बढाउनुभएको थियो । सहजताको लागि पार्टनरमा पनि गर्नभयो । केही समय एक्लै पनि काम गर्नुभयो । २०५५ सालमा विवाह भएपछी २०५६ सालमा भने पसल नै राखेर फेरी व्यवसायिक यात्राको निरन्तरता कायम राख्नुभयो ।
कक्षा ५ मा हुदाँदेखी नै सिलाईमा लाग्ने योजना बनाईसक्नुभएका मानन्धरले कक्षा १० सम्म मात्र अध्ययन गर्नुभयो । पढाईमा भन्दा सिलाईमा नै ध्यान जाने भएकाले पनि पढाई अपुरो भएको मानन्धर बताउनुहुन्छ । एकजना विदेशी महिलाले काम गरेर खानु भनेर मानन्धरलाई एउटा मेशिन दिनुभएको थियो । त्यही मेशिनबाट सुरु भएको काम अहिले ६ वटा मेशिनमा चलिरहेको छ । अर्डरको कपडा मात्र लिने भएकाले धेरै लगानी भएको छैन । मेशिनमा मात्र लगानी भएको हो । करिब ३ लाख जती लगानीमा चलेको व्यवसायमा ५ जनाले रोजगारी पाउनुभएको छ । आत्मसन्तुष्टि मिल्नेगरी आम्दानी पनि भइरहेको छ ।
कतिपयले सिलाई पेशालाई झञ्जटिलो र अपजसको काम पनि भन्नुहुन्छ तर झर्को नमानी आफ्नोकालाई जिम्वेवारीको रुपमा लिएर गर्ने हो भने सिलाई पेशा निकै उत्कृष्ट पेशा भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सिलाईको काममा सक्किएको काममा पनि खोट देखाउने धेरै भेटिन्छ । सबैको चित्त बुझान गारो पनि हुन्छ र सकिदैँन पनि तर पनि प्रयास भने गरिरहनुपर्छ । मेशिनको काम भएकाले केही खतरा पनि हुन्छ । त्यसकारण हामीले काममा होसियारी देखाउदैँ सजकता पनि अपनाउनुपर्छ ।’
जागिर खादाँ मासिक तलब कुर्नुपर्छ । आफैँले काम गर्दा दैनिक आम्दानी हुन्छ । यसले गर्दा घरखर्च चलाउन पनि समस्या नहुने उहाँ बताउनुहुन्छ । थोरै भए पनि दैनिक खर्च आफुसँग भइरहने भएकाले आफु्लाई खुसी पनि लाग्ने उहाँ बताउनुहुन्छ । केही ग्राहकहरु नबुझ्ने पर्नुहुन्छ नत्र आफ्नो काममा आफु निकै खुसी रहेको मानन्धरको भनाई छ । परिवारका पनि सहयोग भएको काममा खासै धेरै गारो नपर्ने उहाँ बताउनुहुन्छ । महिला दिदिबहिनीको लागि सकेको र मन लागेको सीप सिक्न उहाँको अनुरोध छ । ठुलो सीप सिक्नपर्छ भन्ने होईन । सानो भए पनि सिलाई, पर्लर, क्प्युटर लगायतक जुनसुकै क्षेत्रमा भएपनि एउटा काममा आफुले दक्षता हासिल गर्न जरुरी रहेको उहाँको भनाई छ ।
सीप सिकेपछी कसैले खास्न सक्दैँन, चोर्न सक्दैँन र हराएर पनि नजाने भएकाले सबैले केही न केही सीप सिक्न जरुरी रहेको उहाँ बताउनुहुन्छ । फेरी सीप सिकेकाहरु चुप लागेर बस्न नसक्ने भएकाले आत्मनिर्भरताको बाटोमा पनि लैजाने भएकाले सीप सिक्न उहाँको सुझाब छ ।
पलाञ्चोक साप्ताहिकबाट ।