
एक दशक लामो वैदेशिक रोजगारीको अनुभव सँगालेर स्वदेश फर्किएका बेथानचोक गाउँपालिका–३ का ज्वाला तिमल्सिना आज आफ्नै खेतबारी र गोठमा व्यस्त हुनुहुन्छ । “सुजित जडीबुटी तथा पशुपालन कृषि फार्म” सञ्चालन गर्दै आउनुभरका तिमल्सिना विगत छ वर्षदेखि व्यावसायिक कृषि तथा पशुपालनमा सक्रिय हुनुहुन्छ । विदेशमा रहँदा देखेका अनुभव र आफ्नै गाउँको सम्भावनाले उहाँलाई अन्ततः स्वदेशमै केही गर्न प्रेरित गर्यो । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशका सुपरमार्केटमा तरकारी, चामल र दैनिक उपभोग्य वस्तुका मूल्य देख्दा तिमल्सिना प्रायः छक्क पर्नुहुन्थ्यो । “जुन कुरा किनेर खानकै लागि हामी संघर्ष गरिरहेका हुन्छौँ, त्यही कुरा आफ्नै गाउँ–ठाउँमा सजिलै उत्पादन भइरहेको हुन्छ,” उहाँ भन्नुहुन्छ । यही सोचले उहाँलाई आफ्नै माटोमा पसिना बगाएर आत्मनिर्भर बन्ने निर्णयतर्फ डोर्यायो । अन्ततः दश वर्षको वैदेशिक जीवन त्यागेर उहाँ खेतीपाती र पशुपालनमै पूर्ण रूपमा समर्पित हुनुभयो । नेपाल फर्किएपछि कृषि तथा पशुपालन तिमल्सिनाका लागि कुनै नौलो विषय थिएन । सानै उमेरदेखि कृषि कर्ममा भिज्दै आउनुभएका उहाँका लागि यो पेशा आत्मीय थियो । समयअनुसार आवश्यक प्राविधिक ज्ञान र सीप हासिल गरेपछि उहाँलाई व्यावसायिक किसान बन्न धेरै समय लागेन । आज कृषिबाट हुने आम्दानीले उहाँ सन्तुष्ट मात्र होइन, गर्वसमेत महसुस गर्नुहुन्छ। हाल उहाँ सपरिवार बिहानदेखि बेलुकासम्म खेतबारी र गोठमै खटिनुहुन्छ । खान–लाउनका लागि कुनै समस्या छैन। परिवारमा आइपर्ने आर्थिक तथा सामाजिक जिम्मेवारी सहजै पूरा गर्न सक्ने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ। “साहुको डर, अरूले दिने तलबको भरमा बस्नुपरेको छैन । आर्थिक रूपमा कसैमा निर्भर हुनुपर्दैन, यही नै सबैभन्दा ठूलो सन्तुष्टि हो,” तिमल्सिना गर्वका साथ भन्नुहुन्छ । उहाँको कृषि यात्रा घरमै भएका दुईवटा भैँसी, एउटा गाई र परम्परागत खेतीबाट सुरु भएको हो । अहिले उहाँको गोठमा चारवटा भैँसी र चारवटा गाई छन् । नजिकैको डेरीमा दैनिक ३५ देखि ४० लिटरसम्म दूध आपूर्ति गर्नुहुन्छ । यसबाट नियमित आम्दानी भइरहेको छ । पशुपालनसँगै उहाँले करिब १५ रोपनी जग्गामा विभिन्न तरकारी तथा नगदे बाली उत्पादन गर्दै आउनुभएको छ। सबै जग्गा आफ्नै भएकाले काम गर्न थप सहज भएको उहाँको अनुभव छ । वस्तुको मूल्य क्रमशः बढ्दै गएपछि खेतीपाती पनि फस्टाउँदै गएको उहाँ बताउनुहुन्छ । गोठबाट निस्कने गोबर मलका रूपमा प्रयोग हुँदा मलको समस्या समाधान हुनुका साथै उत्पादन पनि बढेको छ । “उब्जनी बढेपछि आम्दानी पनि बढ्छ, यसले गर्दा काममा थप हौसला मिल्छ,” उहाँको भनाइ छ । हाल आलुको सिजन भएकाले उहाँको खेत आलुले भरिएको छ । जेठ महिनामा आलु खनेपछि मकै, तरकारी तथा अन्य नगदे बाली लगाइने योजना रहेको छ । व्यवसायको सुरुवाती दिनमा बजार नपाउने समस्या ठूलो चुनौती थियो । अहिले बजार पाउन थालेको भए पनि उत्पादनले उचित मूल्य नपाउने समस्या अझै यथावत् रहेको उहाँ बताउनुहुन्छ । भौगोलिक रूपमा क्षेत्र अलि विकट भएकाले ढुवानी र बजार व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । “राजधानी नजिकै भए पनि भूगोलले साथ दिएको छैन,” उहाँ भन्नुहुन्छ । यद्यपि एक सिजनमा कम नाफा भए पनि अर्को सिजनले कभर गर्ने भएकाले काम चलिरहेको उहाँको अनुभव छ । परिवारका सबै सदस्यको साथ र सहयोगले आफूलाई थप हौसला मिलेको तिमल्सिना बताउनुहुन्छ । वार्षिक पाँचदेखि सात लाख रुपैयाँसम्म नाफा हुने भएकाले विदेशभन्दा नेपालमै कृषि गर्नु उत्तम विकल्प भएको उहाँको निष्कर्ष छ । हाल गाउँपालिकाले सुरु गरेको मल्चिङ आलु प्रविधिमा पनि उहाँ सहभागी हुनुभएको छ । बिउ आलु र मल्चिङ प्लास्टिक प्राप्त गरिसकेपछि नयाँ प्रविधिबाट उत्पादन बढ्ने आशामा उहाँ खुसी हुनुहुन्छ । उत्पादनको आधारमा अनुदान दिने प्रणाली ल्याइए किसानलाई थप प्रोत्साहन मिल्ने उहाँको धारणा छ । “यदि ४० लिटर दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दुई रुपैयाँ मात्रै थपिदिने हो भने, उसले अर्को ८० लिटर उत्पादन गर्न अझ मेहनत गर्छ,” उहाँ भन्नुहुन्छ । यसले गर्दा मेहनत गर्न चाहने किसानहरूलाई ठूलो हौसला मिल्ने उहाँको विश्वास छ । बजार व्यवस्थापन, मूल्य स्थिरीकरण र बिचौलियाको नियन्त्रणमा स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने उहाँको माग छ । उमेरले ४० वर्ष नाघिसकेका तिमल्सिना विलासिताका सामानभन्दा जीवनका आधारभूत आवश्यकतालाई प्राथमिकता दिनुहुन्छ । “नचाहिने सामान किन्नैपर्छ भन्ने छैन। तर खानेकुरा त अत्यावश्यक हो,” उहाँ भन्नुहुन्छ । त्यसैले कृषिभन्दा ठूलो विकल्प अरु केही नभएको उहाँको ठम्याइ छ। व्यावसायिक रूपमा कृषि गर्नेहरूका लागि ठूलो घाटा नहुने र लगानी उठ्ने भएकाले विदेशमा दुःख भोगिरहेका वा नेपालमै केही गर्न चाहने युवाका लागि कृषि उत्तम विकल्प भएको उहाँको सुझाव छ । मल्चिङ प्रविधिको प्रभावकारिता केही वर्ष अवलोकन गरेर राम्रो नतिजा आए यसको दायरा बढाउने योजना उहाँको छ। साथै गोठमा गाईभैँसीको संख्या बढाउँदै लैजाने तयारी पनि रहेको उहाँ बताउनुहुन्छ । किसानमा प्राविधिक ज्ञान अत्यावश्यक रहेको उल्लेख गर्दै समयअनुसार आफूलाई परिमार्जन गर्न नसके उत्पादन बढाउन कठिन हुने उहाँको अनुभव छ । अन्त्यमा तिमल्सिना भन्नुहुन्छ, “अहिले मेरो सुख भनेकै परिवार पाल्न कुनै समस्या नहुनु हो । गोठमा गाईभैँसी टन्न अगाएको देख्दा र खेतबारी हरियाली भएको देख्दा मनै खुशी हुन्छ। यही नै मेरो सुख हो ।” आफ्नो उत्पादनबाट अरू आठ–दश परिवारको जीविकोपार्जनमा सहयोग पुगेकोमा उहाँलाई गर्व छ । “म किसान हुँ भन्न पाउँदा आज निकै सन्तुष्ट छु,” तिमल्सिनाको भनाइले आत्मनिर्भर कृषकको आत्मविश्वास स्पष्ट देखाउँछ ।
बेथानचोक साप्ताहिकबाट ।