
घरभित्रको जिम्मेवारी, खेतबारीको काम, निर्माणस्थलको व्यस्तता र जनप्रतिनिधिको दायित्व, यी सबै भूमिकालाई समान रूपले निर्वाह गर्दै अघि बढिरहेकी छन् नमोबुद्ध नगरपालिका वडा नं. ७ की दलित वडा महिला सदस्य चमेली विश्वकर्मा । उहाँको जीवन केवल व्यक्तिगत संघर्षको कथा मात्र होइन, सामाजिक सोच परिवर्तन गर्ने साहसको उदाहरण पनि हो । चमेली विश्वकर्मा जनप्रतिनिधि भएपछि डकर्मी बन्नुभएको होइन । बरु १५ वर्ष लामो डकर्मी अनुभव बोकेर उहाँ राजनीतिमा प्रवेश गर्नुभएको हो । दुई वर्षअघि वडा सदस्यमा निर्वाचित हुनुभएकी उहाँ आज पनि आफ्नो पेशालाई निरन्तरता दिइरहनुभएको छ । उहाँका लागि श्रम लाजको विषय होइन, गौरवको विषय हो ।
सामान्य आर्थिक अवस्था भएको परिवारमा जन्मिनुभएकी चमेलीको बाल्यकाल अभाव र संघर्षमै बित्यो । पढाइमा रुचि हुँदाहुँदै पनि पारिवारिक परिस्थितिका कारण उच्च शिक्षा हासिल गर्न सक्नुभएन । औपचारिक शिक्षा सीमित भए पनि जीवनका पाठहरू भने उहाँले व्यवहारिक अनुभवबाट सिक्नुभयो । सानैदेखि मेहनती स्वभावकी उहाँ घरको काम, खेतबारी र अन्य जिम्मेवारीमा सक्रिय रहनुहुन्थ्यो । परिवारलाई सहयोग गर्ने क्रममा उहाँले श्रमको मूल्य बुझ्नुभयो । यही अनुभवले भविष्यमा उहाँलाई निर्माण क्षेत्रमा प्रवेश गर्न प्रेरित ग¥यो ।
सुरुका दिनमा उहाँलाई डकर्मी पेशाबारे सामान्य जानकारी मात्र थियो । तर २०७२ सालको भूकम्पपछि निर्माण क्षेत्रमा अत्यधिक कामको माग बढ्यो । त्यही समय उहाँका लागि अवसर बन्यो। सिक्ने चाहना र आँटले उहाँलाई नयाँ सीप आत्मसात गर्न प्रेरित ग¥यो । विभिन्न संघ–संस्थाले महिला डकर्मीका लागि सञ्चालन गरेका तालिमहरूमा सहभागी भई उहाँले आफ्नो सीपलाई परिष्कृत गर्नुभयो । प्रवलिकरण सम्बन्धी तालिमले उहाँलाई प्राविधिक रूपमा अझ सक्षम बनायो। आज उहाँ घरको जग राख्नेदेखि धुरी हाल्ने कामसम्म आत्मनिर्भर रूपमा गर्न सक्नुहुन्छ ।
६–७ जनाको समूह बनाएर आफ्नै नेतृत्वमा घर निर्माण गर्ने काम उहाँ नियमित रूपमा गर्नुहुन्छ । महिलाले यस्तो काम गर्न सक्दैनन् भन्ने सामाजिक धारणालाई उहाँले व्यवहारमै गलत सावित गर्नुभयो । महिला भएर निर्माण क्षेत्रमा काम गर्नु सुरुमा सहज थिएन । “महिलाले डकर्मी काम गर्नु हुँदैन” भन्ने सोच अझै पनि समाजमा विद्यमान छ । सुरुका दिनमा उहाँलाई विभिन्न टिप्पणी र आलोचना सहनुप¥यो। तर उहाँले आत्मविश्वास गुमाउनुभएन । उहाँको विश्वास छ—कामले नै सम्मान दिलाउँछ । समयसँगै उहाँको मेहनत र दक्षताले समाजको दृष्टिकोण परिवर्तन ग¥यो। आज उहाँलाई सक्षम र भरपर्दो डकर्मीका रूपमा चिनिन्छ ।
चमेली विश्वकर्माले कहिल्यै जनप्रतिनिधि बन्ने सपना देख्नुभएको थिएन । आफ्नो काममा राम्रो पहिचान बनाउँदै जाँदा साथीभाइ र समुदायको सुझावले उहाँलाई राजनीतितर्फ उन्मुख गरायो । स्थानीय तहको निर्वाचनमा दलित वडा महिला सदस्य पदमा उम्मेदवारी दिई विजयी हुनुभयो । जनप्रतिनिधिको रूपमा उहाँले स्थानीय पूर्वाधार, महिला सशक्तीकरण, दलित समुदायको अधिकार र समान ज्यालाको विषयमा सक्रिय भूमिका खेलिरहनुभएको छ । उहाँको प्राथमिकता स्थानीय स्तरमा पारदर्शिता र विकासका कामलाई प्रभावकारी बनाउनु हो ।
उहाँ भन्नुहुन्छ, “म जनप्रतिनिधि हुँ भनेर ढुक्कले बस्न पाउँदिन। म गृहिणी पनि हुँ, किसान पनि हुँ, र धेरै वर्षदेखि डकर्मी पनि हुँ ।” यही सोचले उहाँलाई निरन्तर सक्रिय राखेको छ । चमेली विश्वकर्माको प्रमुख एजेन्डामध्ये एक हो—समान कामको समान ज्याला । संविधानले महिला–पुरुषबीच भेदभाव नगर्ने व्यवस्था गरेको भए पनि व्यवहारमा निर्माण क्षेत्रमा अझै असमानता रहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार महिलाले पुरुषसरह काम गर्दा पनि कम ज्याला पाउने अवस्था अझै कायम छ । “कानुन त बनेको छ, तर कार्यान्वयन फितलो छ,” उहाँको भनाइ छ । ठेकेदारहरूले मनोमानी रूपमा फरक–फरक ज्याला दिने प्रवृत्ति रोक्न स्थानीय तहले दररेट कार्यान्वयनमा कडाइ गर्नुपर्ने उहाँको माग छ ।
उहाँ विश्वास गर्नुहुन्छ, समान ज्याला सुनिश्चित गर्न कडाइका साथ अनुगमन र कारबाही आवश्यक छ । महिलालाई केवल श्रमिक होइन, दक्ष प्राविधिकका रूपमा मान्यता दिनुपर्ने उहाँको धारणा छ । उहाँको सफलताको पछाडि परिवारको महत्वपूर्ण भूमिका रहेको उहाँ स्वीकार गर्नुहुन्छ । विशेषगरी श्रीमानको सहयोगले उहाँलाई बाहिरी काममा सक्रिय रहन सहज भएको छ । महिलाले घर बाहिर काम गर्न परिवारको साथ अनिवार्य हुने उहाँ बताउनुहुन्छ ।
घर, खेत र पेशालाई सन्तुलित रूपमा अघि बढाउनु सजिलो छैन । तर समय व्यवस्थापन र दृढ इच्छाशक्तिले सबै सम्भव हुन्छ भन्ने उहाँको जीवनले प्रमाणित गरेको छ । डकर्मी र जनप्रतिनिधिको भूमिकासँगै उहाँ कृषि कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । करिब १२ रोपनी जमिनमा धान, मकै र विभिन्न तरकारी खेती गर्दै आउनुभएको छ । कम लगानी र मेहनतले राम्रो उत्पादन लिन सकिने भएकाले कृषि उहाँको आयको अर्को स्रोत बनेको छ । उहाँका अनुसार आत्मनिर्भर बन्न कृषि र सीपमूलक पेशा दुवै महत्वपूर्ण छन् । गाउँमै बसेर श्रम र सीपमार्फत सम्मानजनक जीवनयापन गर्न सकिन्छ भन्ने उदाहरण उहाँ स्वयं हुनुहुन्छ ।
केही महिनाअघि सवारी दुर्घटनामा परेपछि उहाँको नियमित काममा केही अवरोध आयो । शारीरिक असहजता हुँदाहुँदै पनि उहाँले कामप्रतिको लगाव र जिम्मेवारीलाई त्याग्नुभएन । “हार मान्नु मेरो स्वभाव होइन,” उहाँ दृढताका साथ भन्नुहुन्छ । उहाँको आत्मबल र सकारात्मक सोचले नै कठिन परिस्थितिमा पनि अघि बढ्ने शक्ति दिएको छ । आगामी दिनमा पनि उहाँ आफ्नो पेशा र जनप्रतिनिधिको भूमिकालाई निरन्तरता दिने योजनामा हुनुहुन्छ । महिला सशक्तीकरण, सीप विकास र समान ज्यालाको सुनिश्चितता उहाँका प्राथमिकता रहनेछन् ।
उहाँको जीवनले देखाउँछ, औपचारिक शिक्षा सीमित भए पनि आत्मविश्वास, परिश्रम र निरन्तरताले सफलता हासिल गर्न सकिन्छ । सामाजिक सोच परिवर्तन गर्न भाषणभन्दा व्यवहार प्रभावकारी हुन्छ । चमेली विश्वकर्मा केवल एक व्यक्तिको नाम होइन; उहाँ श्रमको सम्मान, साहसको प्रतीक र समानताको संघर्षको जीवित उदाहरण हुनुहुन्छ । विशेषगरी ती महिलाहरूका लागि, जसले समाजका परम्परागत सीमाना तोडेर आफ्नो पहिचान बनाउने साहस राख्छन् उहाँको कथा प्रेरणा हो ।