विगतमा भविष्यको चिन्ता थियो, अहिले भने फर्मले आत्मविश्वास दिएको छ

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ फागुन ८, शुक्रबार (२ हप्ता अघि)
  • ९५ पटक पढिएको

विगतमा भविष्यको चिन्ता थियो, अहिले भने फर्मले आत्मविश्वास दिएको छ

मण्डनदेउपुर नगरपालिका–११, भाडपोल, पानी, सडक र पूर्वाधारको अभावले कहिल्यै नउकासिएको जस्तो देखिने यो भूभागमा आज हरियालीले रंग भरेको छ । हरियालीको त्यो चित्र कोर्नुभएको छ वर्दोस लामाले । ४४ वर्षीय लामाले मरुभूमि झैँ मानिएको ठाउँलाई बहुवर्षिय बोटबिरुवाले भरिएको समृद्ध फर्ममा रूपान्तरण गर्नुभएको छ ।
“हुनसक्ने ठाउँमा त जसले पनि गर्छ, नहुने ठाउँलाई हुने बनाउनु नै मेरो लक्ष्य थियो,” लामा भन्नुहुन्छ । यही सोचले उनलाई कफी खेतीतर्फ डो¥यायो । विश्व बजारमा तेलपछि सबैभन्दा मूल्यवान वस्तुहरूमध्ये एक मानिने कफीको सम्भावना देखेर उहाँले २०५७ सालदेखि नै यसको सुरुवात गर्नुभयो । २०६० सालबाट व्यावसायिक उत्पादन थाल्नुभएका उहाँले अहिले करिब ८० हजार साना कफीका बोट हुर्काइरहनुभएको छ । साथै कफिका बिरुवाको कफी नर्सरी पनि सञ्चालनमा छ ।
लामाका अनुसार रोपेको ३–४ वर्षमै कफी फल्न थाल्छ र एउटै बोटले करिब ४० वर्षसम्म उत्पादन दिन्छ । वार्षिक २ टनभन्दा बढी ताजा चेरी उत्पादन भइरहेको छ । अबको दुई वर्षभित्र १५ टन उत्पादन गर्ने उनको लक्ष्य छ । २०६५ सालपछि बजारमा कफीको माग बढ्दै गएसँगै उहाँले खेतीको दायरा पनि विस्तार गर्नुभयो । स्थानीय मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो मूल्य पाइने भएकाले आम्दानी सन्तोषजनक रहेको उहाँ बताउँनुहुन्छ ।
कफी मात्र होइन, लामाको फर्म बहुविध खेतीको उदाहरण बनेको छ । ८० बोट एवोकाडोमध्ये २० बोटमा फल लागिसकेको छ । ३०० बोट लिची अहिले फलले लटरम्म छन् । ३ लाख भूइँकटहरका बिरुवामध्ये करिब ४ हजारमा उत्पादन सुरु भइसकेको छ । आँपका बोटहरू पनि प्रशस्त छन् । हाल प्रत्येक वर्ष २ ट्रक रुख कटहर बिक्री हुँदै आएको छ । अबको १० वर्षमा २० ट्रक पु¥याउने महत्वाकांक्षी लक्ष्य उहाँले लिनुभएको छ ।
५० रोपनी क्षेत्रफलमा फैलिएको फर्म आज भाडपोलकै चिनारी बनेको छ । सुरुमा ५ लाख रुपैयाँ लगानी गरेका उनले पछि थप १० लाख लगानी गर्नुभयो । अहिले कुल लगानी करोड नाघिसकेको छ । सुरुमा स्थायी कामदार राखे पनि अहिले आवश्यकता अनुसार मजदुर बोलाउने व्यवस्था गरेका छन्, जसले व्यवस्थापनमा सहजता ल्याएको छ ।
एसएलसीसम्म अध्ययन गर्नुभएका लामा युवावस्थामा कामका लागि भारत पुग्नुभयो । करिब १० वर्ष त्यहाँ कुकिङ पेशामा बिताउनुभयो । स्वदेश फर्किएपछि “सानो र छोटो समयका लागि होइन, पुस्तौंपुस्तासम्म टिक्ने काम गर्ने” अठोट लिनुभयो । भौगोलिक कठिनाइ, सिँचाइ अभाव, सडक समस्या—सबै चुनौती पार गर्दै उनले आजको अवस्था निर्माण गर्नुभएको हो ।
२०७५ सालमा फर्म दर्ता गरेपछि औपचारिक रूपमा व्यवसाय विस्तार भयो । २०७७ मा राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट नर्सरी अनुदान स्वरूप ३ लाख रुपैयाँ सहयोग पाउनुभयो । त्यो सहयोगले नर्सरी विस्तार र गुणस्तरीय बिरुवा उत्पादनमा टेवा पुग्यो । लामाको जीवनदर्शन स्पष्ट छ—“आफ्नो पुस्ताका लागि मात्र होइन, आउने पुस्ताका लागि पनि काम गर्नुपर्छ।” बहुवर्षिय बोटबिरुवामा लगानी गर्नुको कारण पनि यही हो । उहाँ भन्नुहुन्छ, “आज रोपेको बोटले भोलि मेरा छोराछोरी मात्र होइन, उनीहरूका सन्तानलाई पनि धान्छ ।”
उहाँको परिवारमा श्रीमती, तीन छोरी र एक छोरा छन् । एक समय भविष्यको चिन्ताले सताउने उहाँलाई अहिले भने फर्मले आत्मविश्वास दिएको छ । परिवार पाल्न कुनै सकस छैन, बरु विस्तार र गुणस्तर सुधारको चिन्ता छ । नेपाल सम्भावनायुक्त देश भएको उहाँको ठम्याइ छ । “ठाउँ चिनेर, माटो बुझेर, बजार अध्ययन गरेर काम गर्न सके यहाँ धेरै गर्न सकिन्छ,” उहाँ भन्नुहुन्छ । भाडपोल जस्तो दुर्गम ठाउँमा सम्भावना देखाएर उनले उदाहरण प्रस्तुत गर्नुभएको छ । कृषि परम्परागत पेशा मात्र होइन, दीर्घकालीन दृष्टि र व्यवस्थापनसँग जोडियो भने समृद्धिको आधार बन्न सक्छ ।
आज भाडपोलको पहाडमा फैलिएका कफीका हरिया पातहरू केवल बोट होइनन्, ती एक व्यक्तिको दूरदृष्टि, श्रम र विश्वासका प्रतीक हुन् । मरुभूमि जस्तै मानिएको भूमिलाई उहाँले हरियालीमा बदलिदिएका छन् । अब उनको लक्ष्य उत्पादन बढाउनु मात्र होइन, आगामी पुस्तालाई आत्मनिर्भर र सम्भावनाशील भविष्य हस्तान्तरण गर्नु हो । विर्दोस लामाको कथा बताउँछ—सम्भावना ठाउँमा होइन, सोचमा हुन्छ । अनि सोचसँग श्रम जोडिएपछि मरुभूमिमा पनि हरियाली उम्रिन्छ ।

बेथानचोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस