सानोबाट शुरु भएको कर्मको प्रेरणादायी यात्रा

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ फागुन १५, शुक्रबार (२ हप्ता अघि)
  • ६५ पटक पढिएको

सानोबाट शुरु भएको कर्मको प्रेरणादायी यात्रा
पनौती २, रयाले ठाडोखोकलाका ईश्वर सापकोटा एक सफल कृषक तथा व्यवसायी हुनुहुन्छ, जसको जीवन र संघर्षले धेरैलाई प्रेरणा दिएको छ । उहाँको विश्वास छ कि जीवनमा काम गर्नैपर्छ, चाहे त्यो सानो होस् वा ठूलो । केवल भाडा माझ्ने कामदेखि लाखौंको व्यवसाय सम्हाल्ने यात्रासम्म ईश्वरको यात्रा सहज थिएन; तर निरन्तर मेहनत, निष्ठा र नेतृत्वशिल सोचले उहाँलाई आज यहाँ ल्याइदिएको छ । सापकोटा कृषि र पशुपालन क्षेत्रका मात्र राम्रा अभ्यासकर्तै होइनन्, तर कृषिमा आत्मनिर्भर हुने सशक्त उदाहरण पनि हुनुहुन्छ ।
सुरुका दिनमा उहाँले धेरै काममा हात आजमाउनुभयो । तर कृषि र पशुपालन उहाँको मुटुमा बसेको प्रमुख कर्म रह्यो । ड्राइभिङ, सिकर्मी, डकर्मी जस्ता कामहरुबाट अनुभव हासिल गरेपनि अन्त्यमा कृषि र पशुपालन त्याग्न चाहनुभएन । वर्षदेखि दुध डेरीको काम पनि गर्दै आउनुभएको छ । यद्यपि उहाँ भन्नुहुन्छ कि अहिले शारिरिक रुपमा काममा आफैँ खटिनु पर्दैन, घरबाटै सबै फोन र व्यवस्थापनका माध्यमबाट गरिन्छ ।
उहाँको गोठमा अहिले ४ वटा गाई र भैसी छन् । जस मध्ये २ वटा गाई र २ वटा भैसी दुहुनयोग्य अवस्था भएका थिए । हालै सबै गाई–भैसी व्याउने हुनाले दैनिक ४० लिटर दुध आफ्नै घरबाट उत्पादन भइरहेको छ भने नजिकैको डेरीमा  दुध संकलन हुन्छ । यसले उहाँको आयलाई निरन्तरता दिन मद्दत गरेको छ । २०५३ सालदेखि व्यवसायिक कृषि र पशुपालनमा लागिरहनु भएको सापकोटाले विदेशबाट फर्केर साना कार्यबाट पनि ठूलो व्यवसायसम्मको यात्रामा ठुलो धैर्य र योजनाबद्ध सोच देखाउनुभएको छ । उहाँले बताउनुहुन्छ कि सफल पशुपालनका लागि गोठ निर्माण, यातायात, बिजुली, पानी र बजार पहुँच जस्ता आधारभूत पक्षहरु निकै महत्त्वपूर्ण हुन्छन् । साथै प्राविधिक सेवा, औषधि तथा दाना उपलब्ध हुने वातावरण बनाउनुपर्छ, जसले काम सजिलो बनाउँछ । गोठको बनोट तथा स्थान चयनमा विशेष ध्यान दिनु आवश्यक भनेर उहाँले बारम्बार जोड दिनुभएको छ ।
गोठ बनाउँदा ढलान, पहिरोलाई सुरक्षित स्तरमा राख्न, अग्लो र हावापानी सजिलो स्थान छनोट गर्न र घाँस चरन नजिकै बनाउनु पर्ने सुझाब उहाँले नयाँ किसानहरुलाई आफ्नै अनुभवबाट दिने गरेको बताउनुहुन्छ । उमेर र अवस्थाअनुसार छुट्टाछुट्टै स्थान र व्यवस्थापन आवश्यक८ भएकाले यसमा कुनै सस्तो कलाले चुपचाप जानु हुँदैन । उचित योजना र व्यवस्थापन आवश्यक हुन्छ भन्ने उहाँको धारणा छ ।
सापकोटाले कृषि मात्र पेशा नभई जीवनको पाठ बुझ्नुभएको छ । उहाँ आफ्ना छोराछोरीलाई पढाउने र शिक्षामा लगानी गर्न सुरुमा धेरै कष्ट भोग्नु परेको बताउनुहुन्छ । तर प्रयास निरन्तर गरेपछि एक छोराले डबल डिग्री पूरा गर्न सफल हुनु भयो र आज उहाँ यसमा गर्व महसुस गर्नुहुन्छ । उसको सफलताको माध्यमले उहाँलाई त्यो सबै कष्ट सफलताको मिठो अनुभव बन्यो । यसले उहाँलाई फेरि नयाँ उर्जा र सोच दियो । सापकोटाको सबै व्यवसायमा हजारौँ भन्दा बढी भइसकेको छ र वार्षिक आम्दानी  लाखभन्दा माथि हुने गरेको बताउनुहुन्छ । त्यसले उहाँलाई आर्थिक सन्तुष्टि मात्र होइन, सामाजिक सम्मान पनि दिलाएको छ । ५० वर्ष उमेरका सापकोटा कक्षा १० सम्मको शिक्षा लिएर पनि सफल व्यवसायी बन्न सकिने उदाहरण हो । यो अरु युवा किसानहरुलाई सबैभन्दा ठूलो संदेश पनि हो ।
कृषिमा मात्र सीमित नहुनु, सिजनमा फर्निचर निर्माण (दराज, पलङ, सोफा) लगायतका व्यवसाय पनि उहाँले समय अनुसार निरन्तर गर्दै आउनु भएको छ । यसले पैसाको स्रोतलाई विविधिकृत गर्दै अधिक आम्दानीको सम्भावना बनाएको छ । उहाँ भन्नुहुन्छ कि आधुनिक प्रविधिहरुको उपयोग र बजारको मागलाई बुझेर काम गर्दा आजको कृषि व्यवसाय निकै सहज र फाइदाजनक पनि हुनसक्छ । यद्यपि फलफूल तथा तरकारीमा बेला–बेला रोग तथा अन्य समस्या आउन सक्छन् तर यसमा निराश हुन नहुने, समाधान खोज्ने र सुधारतर्फ अघि बढ्ने नै वास्तविक किसानको पहिचान हो ।
पशुपालनमा यस बर्ष लम्पी स्किन रोग जस्ता चुनौतीले सापकोटालाई पनि धेरै कष्ट दिएको थियो । यस्तो रोगले गाई‑भैसी र दुध उत्पादनमा करिब असर पारेको उल्लेख छ । तर उहाँले यसलाई पनि निरन्तरता र संयमले पार गर्नु पर्ने अनुभव साझा गर्नुुभएको छ, जसले उहाँलाई अझ बलियो बनायो ।
सापकोटा भन्नुहुन्छ कि कठिनाइ, रोग तथा घाटा आउँदा पनि कुनै हालतमा हार नमान्ने दृढता हुनुपर्छ । “दुःखपछि सुख साँच्चै मिठो हुन्छ” भन्ने उक्ति उहाँको जीवनमा साकार भएको छ । कठिन परिश्रम र लक्ष्यप्रतिको समर्पणले आज उहाँलाई सफल कृषक मात्र होइन, समाजमा आदर्श व्यक्तित्व बनाएको छ ।उहाँको कथा हामी सबैलाई पढेर प्रेरणा मिल्ने उदाहरण हो । सानो बाटोबाट शुरु भएको यात्राले ठुलो सफलतामा परिणत हुन सक्ने सन्देश दिन्छ । यसले युवा पिढी, कृषि व्यवसायमा नयाँ व्यवसायीहरू र आफ्नो जमिनमा आत्मनिर्भर बन्न चाहने मानिसहरूलाई मार्गदर्शन गर्छ । उहाँ भन्नुहुन्छ, “जति कष्ट गरेपछिको सफलता अझ मिठो हुन्छ ।”
बेथानचोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस