उद्यमी मात्र होइन, प्रेरणाको स्रोत बन्दै गिरी

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ फागुन १५, शुक्रबार (२ हप्ता अघि)
  • ८० पटक पढिएको

उद्यमी मात्र होइन, प्रेरणाको स्रोत बन्दै गिरी

काभ्रेको बनेपा नगरपालिका वडा नं. ५, चाइनाटाउनका गोविन्दराज गिरीको जीवन कथामा मिहिनेत, दूरदृष्टि र आत्मविश्वासको गहिरो छाप भेटिन्छ । सामान्य परिवारबाट सुरु भएको उहाँको यात्रा आज कफि उद्योगको सफल उद्यमीका रूपमा स्थापित भएको छ । उहाँ भन्नुहुन्छ, “कफिले नै मलाई आर्थिक र सामाजिक रूपमा अब्बल बनायो ।” वास्तवमा, उहाँको जीवनमा प्रगति र उपलब्धिको अर्को नाम नै कफि बनेको छ । गिरीले कफि क्षेत्रमा पाइला टेक्दा नेपालमा कफि उत्पादन निकै न्यून थियो ।
विदेशी बजारबाट नेपालमा कफि उत्पादनको सम्भावना रहेको चर्चा चलिरहेकै बेला एक संस्थाले काभ्रे सहित आठ जिल्लामा कफि खेती विस्तार गर्ने योजना अघि सार्यो । त्यतिबेला गिरी सिन्धुपाल्चोकको एक विद्यालयमा शिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो । नयाँ सीप सिक्ने अवसर, प्राविधिक रूपमा काम गर्ने मौका र भविष्यमा आफ्नै व्यवसाय गर्ने सम्भावनाले उनलाई आकर्षित गर्यो । अन्ततः उनले शिक्षक पेशा छाडेर कफि प्राविधिक बन्ने निर्णय लिनुभयो, जुन निर्णय आज उनका लागि बरदान सावित भएको छ ।
२०५२ सालदेखि कफि क्षेत्रमा निरन्तर सक्रिय गिरीले लामो अनुभव बटुलेपछि आफ्नै कफि खेती र उद्योग स्थापना गर्नुभयो । अहिले उहाँ खेतीदेखि प्रशोधन र बजार व्यवस्थापनसम्मका सम्पूर्ण जिम्मेवारी आफैं सम्हालिरहनुभएको छ । काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुली लगायत जिल्लाबाट उहाँ वार्षिक १० टनसम्म कफि खरिद गर्नुहुन्छ । उद्योगमा ल्याइएको कफिलाई पल्पिङ, हलिङ, ग्रेडिङ, रोस्टिङ र ग्राइन्डिङ गरी बजार पठाइन्छ । बनेपा र काठमाडौं उहाँको मुख्य बजार हुन्, जहाँ मासिक करिब २५० किलोसम्म कफि बिक्री हुने गरेको छ ।
उहाँको उद्योगमा पल्पर, हलिङ मेसिन, ग्रेडर, रोस्टिङ मेसिन, ग्राइन्डर र मेयस्टर जस्ता आवश्यक उपकरणहरू उपलब्ध छन् । करिब ३० लाखभन्दा बढी लगानी भइसकेको यस उद्योगबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी हुने गरेको गिरी बताउँछन् । नियमित रूपमा तीन जनाले रोजगारी पाएका छन् भने सिजनका बेला दैनिक १५ जनासम्म कामदार खटिन्छन् । माघदेखि साउनसम्म कफिको मुख्य सिजन रहने उनको अनुभव छ ।
गिरीको विश्वास छ, नेपालमा कफिको भविष्य अत्यन्त उज्ज्वल छ । “नेपालको कफिले नेपाललाई नै पुगेको छैन,” उहाँ भन्नुहुन्छ्, “आयात रोकिने हो भने स्वदेशी उत्पादनले छ महिनासमेत धान्न सक्दैन ।” उनकाअनुसार कफिको मूल्य तुलनात्मक रूपमा उच्च भएकाले व्यावसायिक खेती गरे राम्रो आम्दानी सम्भव छ । एक रोपनी जमिनमा कफि खेती गर्दा वार्षिक एक लाख रुपैयाँसम्म कमाउन सकिने उनको दाबी छ । बाँझो जमिनलाई सदुपयोग गरी कफि खेती विस्तार गर्न सके ‘डलर फलाउन’ सकिने उनी ठोकुवा गर्छन् ।
हाल उनले १० रोपनी क्षेत्रमा कफि खेती गरिरहनुभएको छ । कोशीपारीस्थित आफ्नै करिब ६० रोपनी जमिनमा पूर्ण रूपमा कफि विस्तार गर्ने योजना छ । त्यसका लागि नर्सरी तयारीको काम अगाडि बढेको छ । महिनाको आधा समय कोशीपारी र आधा समय बनेपामा बिताउँदै उनी खेती र उद्योग दुवै सम्हालिरहेका छन् । वार्षिक १५ टनसम्म उत्पादन पु¥याउने लक्ष्यसहित उहाँ बाँझो जमिनलाई हराभरा बनाउने अभियानमा जुट्नुभएको छ ।
गिरी केवल सफल उद्यमी मात्र होइनन्, प्रेरणाका स्रोत पनि हुनुहुन्छ । उहाँबाट प्रेरित भई पाँच सयभन्दा बढी व्यक्तिले कफि सम्बन्धी काम सुरु गरिसकेको बताइन्छ । संस्थागत तथा व्यक्तिगत रूपमा १५ सयभन्दा बढीलाई तालिम दिइसकेका उहाँले सकेसम्म निःशुल्क प्रशिक्षणसमेत दिँदै आएका छन् । “अरूलाई आर्थिक रूपमा सक्षम बनाउन पाउँदा सबैभन्दा बढी खुशी लाग्छ,” उहाँ भन्छन् । विदेश गएका वा जाने तयारीमा रहेका युवालाई स्वदेशमै अवसर देखाउन सक्दा आफू सन्तुष्ट हुने उहाँले सुनाउनुभयो ।
कफि खेतीमा रोग र कीराको चुनौती पनि उत्तिकै छ । तर स्वयं प्राविधिक भएकाले समाधान खोज्न उनलाई सहज हुन्छ । नेपालका कफिको जापान र अमेरिका लगायत अन्तर्राष्ट्रिय बजारमा माग भए पनि उत्पादन अपर्याप्त रहेको उहाँ बताउँनुहुन्छ । किसानलाई मल, बीउ र प्राविधिक सहयोग उपलब्ध गराई सरकारी स्तरबाट स्पष्ट नीति ल्याउनुपर्ने उनको सुझाव छ । सामुदायिक वन लिजमा दिएर वा बाँझो जमिन उपयोग गरी कफि खेती विस्तार गर्न सकिने सम्भावना उनले औंल्याउनुभयो ।
सानो व्यवसायबाट सुरु भएको यात्रा आज सफल उद्योगमा परिणत भएको छ । बनेपामा घर निर्माणदेखि पाँच सन्तानलाई उच्च शिक्षा दिलाएर विवाह गराउनेसम्मको जीवन यात्रा कफिकै कमाइले सम्भव भएको गिरी गर्वका साथ बताउँनुहुन्छ । उहाँको कथा केवल व्यक्तिगत सफलता होइन, स्वदेशमै सम्भावनाको खोजी गर्ने सम्पूर्ण युवापुस्ताका लागि प्रेरणादायी उदाहरण हो । मिहिनेत, सीप र दृढ संकल्प भए बाँझो जमिनमा पनि हरियाली फुलाउन सकिन्छ भन्ने सन्देश गोविन्दराज गिरीले आफ्नो कर्मले प्रमाणित गरेका छन् ।

पलाञ्चोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस