कर्मबाट उचाई चुमेको गोकुल

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ चैत्र १, आईतबार (२ महिना अघि)
  • १४३ पटक पढिएको

कर्मबाट उचाई चुमेको गोकुल

बर्खाको मौसम, साउने झरी झमझम परिरहेको छ । त्यही झरीमा भिज्दै आफ्नै काममा तल्लीन देखिनुहुन्छ गोकुलप्रसाद तिमल्सिना । कृषिलाई आफ्नो दैनिक जीवनको मुख्य आधार बनाउनुभएका तिमल्सिनाले करिब एक दशकभन्दा बढी समयदेखि निरन्तर कृषिमा श्रम गर्दै आउनुभएको छ । करिब चार वर्षअघि औपचारिक रूपमा दर्ता गरेर उहाँले आधुनिक तरिकाले कृषि व्यवसाय अगाडि बढाइरहनुभएको छ । यो यात्रामा श्रीमतीको साथ र सहयोगले काम गर्न झन् सहज भएको उहाँ बताउनुहुन्छ ।
अहिले उहाँको फर्ममा दुई वटा गाई र दुई वटा भैंसी छन् । चारै वटा गाईभैंसी दुहुनो अवस्थामै छन् । दैनिक रूपमा करिब ४० लिटरसम्म दूध डेरीमा जाने गरेको छ । उन्नत जातका गाईभैंसी भएकाले दूध उत्पादन पनि सन्तोषजनक रहेको उहाँको भनाइ छ । त्यस्तै खोरमा ४ सय वटा ब्राइलर जातका कुखुरा पनि पालिएका छन् ।
तिमल्सिनाको एउटा मिल पनि छ । मिल सञ्चालन गर्न सुरु गरेको पनि पन्ध्र वर्षभन्दा बढी समय बितिसकेको छ । धान र मकै पिन्ने तथा कुट्ने काम उहाँ आफैंले सम्हाल्दै आउनुभएको छ । अतिरिक्त आम्दानीका लागि मिलले निकै सहयोग गरेको उहाँ बताउनुहुन्छ । त्यसैले यो काम छोड्ने सोच नभएको र बरु यसलाई अझै विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ ।
४९ वर्षका तिमल्सिनाले एसएलसीसम्म अध्ययन गर्नुभएको छ । सामान्य कृषि कार्यलाई विस्तार गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने आत्मविश्वास उहाँमा पहिलेदेखि नै थियो । त्यसैले अरू कामको खोजीमा भौतारिनुभन्दा सिधै कृषिमा लाग्नु उपयुक्त ठानेको उहाँ बताउनुहुन्छ । यस्तै परिस्थितिका कारण धेरै मानिसहरू विदेशिन बाध्य भएको उहाँको बुझाइ छ । आफूले पालेका पशुहरूका लागि धेरै घाँस किनेर ल्याउनुपर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । वर्षायाममा उत्पादन भएको घाँसलाई सुकाएर हिउँदमा प्रयोग गर्ने गरी व्यवस्थापन गरिने भएकाले बाहिरबाट धेरै घाँस किन्नुपर्ने बाध्यता नपरेको उहाँको अनुभव छ ।
तिमल्सिनाको फर्ममा अहिले काम गर्ने मुख्य व्यक्ति श्रीमान् र श्रीमती मात्र भएकाले तरकारी खेती भने सीमित रूपमा गरिएको छ । आफ्नै घरायसी प्रयोजनका लागि मात्र केही तरकारी लगाइएको छ । पशुपक्षी पालनमै बढी केन्द्रित भएकाले तरकारी खेतीलाई कम प्राथमिकता दिइएको उहाँ बताउनुहुन्छ । भविष्यमा काम गर्ने जनशक्ति थप भएपछि तरकारी खेतीलाई पनि व्यावसायिक रूपमा विस्तार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । यही उद्देश्यलाई ध्यानमा राखेर कुलो निर्माण, पोखरी खन्ने र टनेल बनाउने कामको सुरुवात भइसकेको छ ।
करिब तीन लाख रुपैयाँबाट सुरु भएको उहाँको फर्ममा अहिले तीस लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । लामो संघर्षपछि अहिले उहाँले मासिक करिब ७० हजार रुपैयाँसम्म आम्दानी गरिरहनुभएको छ । नेपालमा कृषिको सम्भावना धेरै भए पनि बजारमा मूल्यको सन्तुलन कायम हुन नसक्दा किसानहरू समस्यामा परेको तिमल्सिनाको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘एक बोतल पानीको २५ रुपैयाँ पर्छ, तर हामीले बेच्ने गाईको दूधको मूल्य पनि कहिलेकाहीँ त्यति आउँदैन । यसको अर्थ दूधको मूल्य पानीभन्दा पनि कम जस्तो देखिन्छ । यस्तो अवस्था रहिरह्यो भने किसान भोकै बस्नुपर्ने दिन पनि आउन सक्छ । बजारमा दाना, औषधि लगायतका सामग्रीको मूल्य निरन्तर बढिरहेको छ । यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।’
नमोबुद्ध नगरपालिका वडा नम्बर १० दारेगौडाका तिमल्सिनाको फर्ममा अहिले १० वटा बाख्रा पनि छन् । ती बाख्रा उन्नत जातका हुन् । बोयर र जमुनापारी जातका बाख्रा भएकाले यसबाट पनि राम्रो आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ । फर्मका अधिकांश पक्षहरू व्यवस्थित हुँदै गएकाले अहिले ठूलो समस्या भने नरहेको उहाँको अनुभव छ ।
गाई, भैंसी, बाख्रा र कुखुरा ग्रामीण भेगका लागि आम्दानीका मुख्य आधार हुन् । तर अझै पनि धेरै ठाउँमा परम्परागत कृषि प्रणाली नै प्रचलनमा रहेको उहाँ बताउनुहुन्छ । अहिलेको समयमा कृषिलाई आधुनिक बनाउन नसके भविष्यमा आम्दानी त परै जाओस्, खान पनि कठिन हुने अवस्था आउन सक्ने उहाँको भनाइ छ । कृषिजन्य उत्पादनले सुनिश्चित बजार पाउन नसक्दा कृषि उत्पादन र उत्पादकत्व अपेक्षित रूपमा बढ्न नसकेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार कृषि व्यवसायलाई प्रवर्द्धन गर्न प्रभावकारी बजार व्यवस्थापन प्रणाली आवश्यक छ । विश्व बजारका अवसरहरूलाई उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन र व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणाली विकास गर्नुपर्ने आवश्यकता रहेको उहाँको धारणा छ ।
तिमल्सिनाले माछापालन गर्ने योजना पनि बनाउनुभएको थियो । त्यसका लागि तयार पारिएको माछा पोखरी भने यस वर्षको बर्खाले बगाइदिएको छ । सुरुमा करिब १५ सय वटा माछाबाट व्यवसाय सुरु गर्ने योजना थियो । तर साउने भेलसँगै त्यो योजना बगेर गयो । त्यसका बावजुद पनि उहाँले हिम्मत हार्नुभएको छैन । भविष्यमा पुनः त्यसलाई दीर्घकालीन व्यवसायका रूपमा अघि बढाउने तयारीमा उहाँ लागिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘प्रविधि परिवर्तन र प्रविधिको प्रभावकारी प्रयोगको कमी नेपालमा कृषि उत्पादकत्व बढ्न नदिने प्रमुख कारण हो । वित्तीय समस्याका कारण कृषिमा निजी लगानी पनि सीमित रहेको छ । किसानहरूले आधुनिक उपकरण प्रयोग गर्न, नयाँ प्रविधि अपनाउन र बाली विविधीकरण गर्न सुरुवाती चरणमै पुँजी आवश्यक पर्छ, जुन नेपालका धेरै किसानका लागि सहज हुँदैन ।’
उहाँका अनुसार अनुदान र ऋणको सुविधा धेरैजसो पहुँच भएका व्यक्तिहरूले मात्र पाउने गरेका छन् । वास्तविक किसान भने पछाडि परिरहेका छन् । कृषि ऋण लिन जाँदा शहर बजारका जग्गा मात्र धितो मान्ने र ग्रामीण क्षेत्रको जग्गालाई कम मूल्याङ्कन गर्ने प्रवृत्तिले कृषिमा केही गर्ने सोच बनाएका किसानहरू निरुत्साहित हुने गरेको उहाँ बताउनुहुन्छ । स्थानीय, प्रदेश र संघीय सरकार सबैले यी समस्यातर्फ गम्भीर ध्यान दिनुपर्ने उहाँको आग्रह छ । भविष्यमा ब्रायलरसँगै लेयर्स कुखुरा पनि पाल्ने योजना उहाँले बनाउनुभएको छ । यसबाहेक कृषि र पशुपालनलाई अझ व्यवस्थित र विस्तार गर्ने विभिन्न योजनाहरू पनि उहाँले तयार पारिरहनुभएको छ ।

पलाञ्चोक साप्ताहिकबाट ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस