मुस्कुराएका गोलभेडा, मख्ख सुमित्रा

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ चैत्र १, आईतबार (२ महिना अघि)
  • १३९ पटक पढिएको

मुस्कुराएका गोलभेडा, मख्ख सुमित्रा
पनौती नगरपालिका–४ सिडोलमा बिहान सबेरै टनेलाभित्र छिर्दा राताम्मे गोलभेडाका बोटहरू मुस्कुराइरहेका जस्ता देखिन्छन् । ती बोटहरूको स्याहार–सुसारमा व्यस्त देखिनुहुन्छ ४१ वर्षीया सुमित्रा थापा । गोलभेडा खेती नै उहाँको दैनिकी बनेको छ ।
सुमित्राको जीवन अहिले गोलभेडाका टनेला र गोठका केही बाख्राको हेरचाहमै बित्छ । श्रीमान् जागिरे हुनुहुन्छ भने दुई छोरा अध्ययनरत छन् । घर, खेती र पशुपालनको अधिकांश जिम्मेवारी भने उहाँकै काँधमा छ । तर त्यो जिम्मेवारीलाई उहाँले बोझ होइन, अवसरको रूपमा लिइरहनुभएको छ । पुर्खादेखि नै कृषि पेशामा संलग्न परिवारमा हुर्किएकी सुमित्रालाई खेतीपाती कुनै नौलो विषय थिएन । तर परम्परागत खेतीले मात्र आम्दानी बढाउन नसकिने उहाँले चाँडै बुझ्नुभयो । त्यसपछि उहाँले आधुनिक र व्यवसायिक ढंगले कृषि गर्ने योजना बनाउनुभयो ।
करीब पाँच वर्षअघि सुरु भएको उहाँको यो यात्रा अहिले विस्तारै सफलतामा परिणत हुँदै गएको छ । १० रोपनी क्षेत्रफलमा फैलिएको उहाँको खेतमा धान, मकै, बन्दा, काउली, आलु, प्याज, लसुन र धनिया जस्ता तरकारी लगाइन्छ । तर सबैभन्दा बढी प्राथमिकता भने गोलभेडालाई दिइएको छ । उहाँले टनेलाभित्र विशेषगरी ‘सिर्जना’ र ‘सर्वश्रेष्ठ’ जातका गोलभेडा लगाउनुहुन्छ । सुरुमा केही टनेलाबाट सुरु भएको खेती अहिले बढ्दै गएर १५ वटा टनेलासम्म पुगेको छ । गोलभेडाबाट राम्रो उत्पादन र आम्दानी हुने भएपछि उहाँले अन्य सिजनल तरकारीभन्दा यसैलाई प्राथमिकता दिनुभएको हो ।
बजार खोज्दै हिँड्नुपर्ने बाध्यता पनि उहाँलाई छैन । व्यापारीहरू नै टनेलासम्म आइपुग्छन् र गोलभेडा किनेर लैजान्छन् । केही गोलभेडा भने उहाँ घरमै खुद्रा बिक्री पनि गर्नुहुन्छ । गोठमा केही बाख्रा पनि छन् । केही समयअघि खसीबोका बिक्री गरेपछि अहिले संख्या घटेको भए पनि केही दिनभित्र फेरि बढाउने उहाँको योजना छ । आफ्नै खेतबारीमा प्रशस्त घाँस हुने भएकाले पशुपालनमा खर्चको चिन्ता कम भएको उहाँ बताउनुहुन्छ ।
एसएलसीसम्म अध्ययन गरेकी सुमित्रा थापाका लागि कृषि र बाख्रापालनले घरखर्च चलाउन कुनै समस्या छैन। “आफ्नो कमाइ भएकाले खर्च गर्न पनि कन्जुस्याइँ गर्नुपरेको छैन,” उहाँ मुस्कुराउँदै भन्नुहुन्छ । उहाँको अनुभवमा मेहनत गर्ने हो भने कृषिमा प्रशस्त सम्भावना छ । “विदेशमा गएर जत्तिकै यहाँ मेहनत गर्ने हो भने कृषि पनि राम्रो रोजगारी बन्न सक्छ,” उहाँको विश्वास छ । तर कृषिमा अझै सहज वातावरण बन्न नसकेको उहाँको गुनासो छ । सरकारले किसानलाई कृषि ज्ञान, अनुदान, अनुगमन र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।
“किसानले उत्पादन गरेको बालीको उचित मूल्य पाइँदैन । किसान भाउ नपाएर गरिब हुन्छन्, तर व्यापारी त्यही बाली बेचेर धनी बन्छन्,” उहाँको भनाइ छ । किसान र उपभोक्ता दुवैलाई न्याय हुने खालको मूल्य निर्धारण नीति आवश्यक रहेको उहाँको धारणा छ । गोलभेडा खेती सुरु गर्दा उहाँले एउटा बोटबाट १० किलो उत्पादन गर्ने लक्ष्य राख्नुभएको थियो । अहिले पूर्ण रूपमा त्यो लक्ष्य पूरा नभए पनि एउटा बोटबाट करिब ९ किलोसम्म उत्पादन भइरहेको छ ।
टनेलाको सुरुवाती निर्माणमै करिब तीन लाख रुपैयाँ लगानी भएको थियो । अहिले लगानी केही बढे पनि आम्दानी पनि सन्तोषजनक रहेको उहाँ बताउनुहुन्छ । एउटा टनेलाबाट एक सिजनमा करिब २५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । स्थानीय तहले पशु चिकित्सक र प्राविधिक राखेको भए पनि सबै किसानले समान रूपमा सेवा पाउन नसकेको उहाँको अनुभव छ । “पहुँच भएकाले मात्र सुविधा पाएको जस्तो लाग्छ, त्यसैले हामी धेरै पहल पनि गर्दैनौं,” उहाँ भन्नुहुन्छ ।
सिंचाइ भने उहाँका लागि अझै चुनौती बनेको छ । आकाशे पानी टनेलानजिकै खाल्टो खनेर जम्मा गर्ने र त्यही पानी प्रयोग गरेर सिंचाइ गर्ने व्यवस्था उहाँले आफैं मिलाउनुभएको छ । खेतीको काममा फुर्सदका बेला श्रीमान् र छोराहरूले पनि सहयोग गर्छन् । त्यसैले काम गर्न केही सहज भएको उहाँ बताउनुहुन्छ । सुमित्रा थापाको विचारमा कृषि महिलाहरूका लागि ठूलो अवसर हो । “श्रीमान्को कमाइमा मात्र भर पर्दा कहिले खान पाइने, कहिले नपाइने अवस्था आउन सक्छ । त्यसैले महिलाले पनि केही न केही काम गर्नुपर्छ,” उहाँको सुझाव छ ।
पढेलेखेका युवायुवतीलाई पनि उहाँ कृषिमा लाग्न प्रेरणा दिनुहुन्छ । “शिक्षित भएर कृषि गरे उत्पादन अझै राम्रो हुन्छ । काम सानो–ठूलो हुँदैन,” उहाँको भनाइ छ । छोराछोरीको पढाइ पूरा भएपछि टनेलाको संख्या अझै बढाउने योजना उहाँले बनाइसक्नुभएको छ । गोलभेडाका राताम्मे फलहरूजस्तै उहाँका सपना पनि विस्तारै पाक्दै गएका छन् ।
पलाञ्चोक साप्ताहिकबाट ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस