पौरखी पुरुषोत्तम

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ चैत्र १, आईतबार (२ महिना अघि)
  • १६१ पटक पढिएको

पौरखी पुरुषोत्तम
बनेपा नगरपालिका–९, ठकुरी गाउँका किसान पुरुषोत्तम खुलाल अहिले आफ्नै गाउँ मात्र होइन, वरपरका क्षेत्रमा पनि उदाहरणीय कृषकका रूपमा चिनिन थाल्नु भएको छ । । सानै उमेरदेखि कृषि र पशुपालनप्रति उहाँको रुचि बढ्दै गएको थियो । उहाँ मात्र १० वर्षको हुँदा नै खेतबारी र पशुपालनका कामतर्फ आकर्षित हुनुभएको छ । त्यही उमेरदेखि उहाँले कृषिसम्बन्धी अनुभव र ज्ञान बटुल्दै आएका हुन् । त्यसपछिका करिब २०–२२ वर्ष उहाँले निरन्तर यही पेशालाई अपनाउँदै आएका छन् । आजको दिनमा उनको गोठ खाली छैन, खेतबारी पनि बाँझो छैन ।
उनको सम्पूर्ण परिवार नै कृषि तथा पशुपालनमा संलग्न भएकाले बाल्यकालदेखि नै खेतीपाती र पशुपालनका काम सिक्ने अवसर उहाँलाई मिल्यो । त्यसैले यो पेशासँग उनी भावनात्मक रूपमा पनि जोडिएका छन् । लामो समयदेखि व्यवसायिक रूपमा खेतीपाती र पशुपालन गरिरहे पनि कानूनी रूपमा दर्ता गरेर व्यवस्थित ढंगले काम सुरु गरेको भने पछिल्लो पाँच वर्ष मात्रै भएको हो ।
खुलाल भन्छन्, “हामीलाई अहिले दैनिक जीवनका सामान्य खर्च जुटाउन विदेश जानुपर्ने अवस्था छैन । यही गाउँमा बसेर, यही पेशाबाट जीवन चलाउन सकेका छौँ । यसले आर्थिक आत्मनिर्भरता मात्र होइन, गाउँमै बसेर रोजगारी र सुखद जीवन सम्भव छ भन्ने उदाहरण पनि दिएको छ ।” व्यवसायिक खेती लामो समयदेखि गरिरहे पनि दर्तासहित औपचारिक रूपमा काम थालेको पाँच वर्ष मात्र भएको उहाँले बताउनुभयो । अहिले आफूलाई आवश्यक पर्ने सामान्य खर्च जुटाउन अन्यत्र जानु नपरेकोमा उहाँ निकै सन्तुष्ट हुनुहुन्छ ।
हाल खुलालको गोठमा १२ वटा दुहुनो भैंसी छन् । सिजनका बेला उहाँको फार्मबाट दैनिक सय लिटरभन्दा बढी दूध उत्पादन हुन्छ भने बेसीजनमा पनि कम्तीमा ७० देखि ८० लिटर दूध नियमित रूपमा उत्पादन हुँदै आएको छ । अहिले केही गाईभैंसी ब्याउने अवस्थामा भएकाले दूध उत्पादन केही कम भएको उहाँ बताउनुहुन्छ । केही समयपछि उत्पादन फेरि बढ्ने उनको अपेक्षा छ ।
पहिले उनले डेरी व्यवसाय पनि सञ्चालन गर्नुभएको छ । तर अहिले कामदारको अभावका कारण त्यसलाई निरन्तरता दिन सकेका छैनन् । जनशक्ति नपुग्दा तरकारी खेती पनि अहिले सीमित मात्रामा गर्दै आउनुभएको छ । तथापि, मकै र आलु भने नियमित रूपमा लगाउँदै आएका छन् ।
अरूको जागिर गरेर तलबको भरमा बस्नुभन्दा सानो भए पनि आफ्नै व्यवसाय गर्नु राम्रो भन्ने सोचले नै आफू कृषि पेशामा लागेको खुलाल बताउँनुहुन्छ । उहाँ भनुहुन्छ, “यदि जागिर नै खाने हो भने पनि सरकारले तोकेको जस्तो तलब पाइँदैन । धेरै साथीहरूलाई समयमा तलब नआउने, काम गरेको पैसा नै नपाउने समस्या परेको देखेका छौँ । यस्तो अवस्थामा फेरि जागिर खान जाने आँट नै आउँदैन । आफ्नो भएको जमिनको सदुपयोग गरेर सानो कृषि मात्रै गरे पनि यसमा राम्रो सम्भावना छ । यो व्यवसाय कहिले टुङ्गिन्छ कि, घाटा लाग्छ कि भन्ने डर पनि कम हुन्छ ।”
उनी थप्छन्, “विशेषगरी पशुपालन गर्ने हो भने महिनाभरि तलब कुरेर बस्नुपर्दैन । लगानी गरिरहने पैसा १०–१५ दिनकै अन्तरमा फर्किन थाल्छ । पशुहरूलाई खुवाउनुपर्ने दाना, ढुटो लगायतका सामान किन्न पनि बाहिर धेरै खोज्नुपर्दैन । एकैपटक ठूलो रकम हात नपरे पनि किसान खाली हात भने बस्नुपर्दैन । त्यसैले अन्य कामभन्दा कृषि व्यवसाय नै मलाई उपयुक्त लाग्छ ।” उहाँले व्यवसायिक फार्म सुरु गर्दा गोठमा जम्मा पाँचवटा भैंसी मात्र थिए । ती पाँचवटै भैंसीबाट उनले आफ्नो व्यावसायिक पशुपालन यात्रा सुरु गरेका हुन् । समयसँगै लगानी विस्तार गर्दै लगे । अहिले लगानीअनुसारको आम्दानी सन्तोषजनक रहेको उहाँको अनुभव छ । तर व्यवसाय विस्तार गर्न सरल र सुलभ दरमा बैंकबाट ऋण पाइयो भने अझ सहज हुने उनको भनाइ छ । उहाँ भन्छन्, “सुलभ दरमा ऋण पाए व्यवसाय विस्तार गर्न सजिलो हुन्छ भनेर धेरै ठाउँमा धाएको पनि हुँ । तर प्रक्रियाहरू निकै झन्झटिला छन् । सामान्य किसानले अलिकति व्यवसाय बढाउँछु भनेर सोच्दा पनि समस्या आउने रहेछ ।”
स्थानीय सरकार वा सम्बन्धित निकायले यस्ता विषयमा पहल गरिदिए किसानहरूलाई ठूलो सहयोग पुग्ने उहाँको विश्वास छ । उनको सम्पूर्ण परिवार नै यस पेशामा संलग्न भएकाले काम गर्न पनि सहज भएको खुलाल बताउँछन् । माध्यमिक तहसम्म अध्ययन पूरा गरेपछि उहाँले पारिवारिक व्यवसायको जिम्मेवारी सम्हाल्दै यसमा आफ्नो लगाव बढाउँदै लग्नुभयो । सानैदेखि बुबाआमाले यही काम गरेको देखेर उहाँले पनि परिवारलाई सहयोग गर्न थाल्नुभएको थियो । हाल उहाँ ३० वर्षका भएको छ । अहिले फार्मको सम्पूर्ण जिम्मेवारी उनले नै सम्हाल्दै आएका छन् ।
पुरुषोत्तम खुलालको कथा केवल व्यक्तिगत सफलता मात्र होइन, एउटा प्रेरणादायी उदाहरण पनि हो । सानो उमेरदेखि कृषिप्रति गहिरो बुझाइ, निरन्तर मेहनत र पारिवारिक सहयोगले कसरी स्थायी व्यवसाय निर्माण गर्न सकिन्छ भन्ने कुरा उहाँको यात्राले देखाउँछ । आज उनको गोठ र खेतबारी खाली छैनन् । त्यही कारण उनले आफूलाई सफल कृषकका रूपमा स्थापित गर्न सकेका छन् । कृषि ज्ञान केन्द्र र नगरपालिकाबाट उनले सामान्य प्रकारका केही अनुदान पनि प्राप्त गरेका छन् । तर उहाँको विचारमा अनुदानभन्दा पनि लगानी विस्तार गर्न सक्नु व्यवसाय विकासका लागि अझ महत्त्वपूर्ण हुन्छ । गत वर्ष मात्रै उनले फार्मको दायरा थप विस्तार गरेका छन् र केही गाईभैंसी पनि बढाएका छन् । आगामी दिनमा फार्मलाई अझ ठूलो बनाउने लक्ष्यका साथ उनी निरन्तर मेहनत गरिरहेका छन् ।
खुलालले आफ्नो बुझ्ने उमेरदेखि अहिलेसम्मको सम्पूर्ण यात्रा कृषि पेशामै बिताएका छन् । भविष्यमा पनि आफ्नो कृषि फार्मलाई अझ विस्तार गर्दै जाने उनको योजना छ । उहाँअनुसार यदि मन लगाएर काम गर्ने हो भने नेपालमै पनि कृषि क्षेत्रमा प्रशस्त सम्भावना छ । तर अहिलेको युवा पुस्तामा छोटो समयमा छिटो कमाउने मानसिकता बढ्दै गएको उहाँ बताउनुहुन्छ । त्यसैले युवाहरूलाई हतोत्साहित नहुने गरी सरकारले केही नयाँ कार्यक्रम ल्यायो भने कृषि क्षेत्रमा लाग्न थप सहज हुने उनको धारणा छ ।
बेथाञ्चोक साप्ताहिकबाट ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस