नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश अध्यक्षमा बेद बहादुर श्रेष्ठ टिमको उम्मेदवार घोषणा

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ चैत्र १८, बुधबार (२ हप्ता अघि)
  • ३३९ पटक पढिएको

नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश अध्यक्षमा बेद बहादुर श्रेष्ठ टिमको उम्मेदवार घोषणा

काठमाडौं /नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवौं अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिएको छ। आगामी चैत २३ र २४ गते हुने अधिवेशनका लागि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समर्थनमा बेदबहादुर श्रेष्ठले बागमती प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
उनले चैत्र १६ गते आफ्नो टिमसहित सबै क्षेत्रमा उम्मेदवारी दर्ता गराइसकेको जानकारी दिँदै बागमती प्रदेशभित्रका जिल्ला/नगर, वस्तुगत तथा एसोसिएट सदस्यहरूबाट साथ, सहयोग तथा मतको अपेक्षा गरेका छन्।
उनको प्रमुख एजेण्डामध्ये प्रदेश कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखिएको छ। यसका साथै उद्योगी–व्यवसायीहरूको हितमा केन्द्रित विशेष योजना सार्वजनिक गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
उनको संगठनात्मक यात्रा २०५८ सालमा साधारण सदस्यबाट सुरु भएको हो। २०६१ सालदेखि निरन्तर सक्रिय रहँदै उनले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा दुई कार्यकाल सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। हाल उनी बागमती भूगोलको प्रतिनिधित्व गर्दै महासंघको केन्द्रीय सदस्यका रूपमा कार्यरत छन्।
नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष तथा आगामी अध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठ नेतृत्वको समूहबाट उनले उम्मेदवारी दिएका हुन्। साथै, ट्रक कन्टेनर व्यवसायी संघमा कोषाध्यक्षको रूपमा समेत भूमिका निर्वाह गर्दै आएका छन्।
कोरोना महामारीका समयमा उद्योगी–व्यवसायीहरूको समस्यामा उनले पुर्‍याएको साथ र सहयोग उल्लेखनीय रहेको भन्दै उनको भूमिकाको उच्च मूल्यांकन गरिएको छ। व्यावसायिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा सक्रिय उनी खेलकुद क्षेत्रमा पनि उत्तिकै संलग्न छन्। भलिबल खेलाडीका रूपमा पहिचान बनाएका उनले जिल्लामा फुटबल विकासमा समेत योगदान पुर्‍याएका छन्।
यसै अधिवेशनअन्तर्गत अध्यक्षमा बेदबहादुर श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा कृष्णकुमार गुप्ता, एसोसिएट उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ (निर्विरोध), वस्तुगत उपाध्यक्षमा राजकुमार दाहाल तथा कोषाध्यक्षमा रुद्रबहादुर खत्री उम्मेदवार रहेका छन्।
त्यसैगरी जिल्ला/नगर सदस्यमा राजकुमार कडेल, विष्णु खनाल, जयप्रकाश श्रेष्ठ, राजन कार्की र कृष्ण मुरारी न्यौपाने रहेका छन् भने एसोसिएट सदस्यतर्फ उत्तम शर्मा ढकाल र नबिन्द्र देव सिंह तथा वस्तुगत सदस्यतर्फ ज्योतीरत्न बज्राचार्य (निर्विरोध) रहेका छन्।
उक्त प्यानललाई साथ र समर्थन गर्न महासंघ बागमती प्रदेश कार्यकारिणी सदस्य तथा मेला सभापति राजन कार्कीले अनुरोध गरेका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस