
खानीखोला/ काभ्रेको दुर्गम मानिने खानीखोला गाउँपालिकामा स्थानीय युवायुवतीलाई लक्षित गरी सञ्चालन गरिएको एक महिने थाङ्का लेखन तालिम सम्पन्न भएको छ। उद्योग वाणिज्य कार्यालय धुलिखेलको आयोजना तथा खानीखोला गाउँपालिकाको समन्वयमा उद्यमशीलता केन्द्रित उक्त तालिम सञ्चालन गरिएको हो।
ग्रामीण क्षेत्रका युवायुवतीलाई स्थानीय स्तरमै स्वरोजगार बनाउने र परम्परागत कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजित तालिममा उच्च शिक्षा अध्ययनरत १८ जना स्थानीय युवायुवतीको सहभागिता रहेको थियो। एक महिनासम्म सञ्चालन भएको तालिममा सहभागीहरूले थाङ्का कला सम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान हासिल गर्नुभएको छ।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले सहभागी युवायुवतीहरूले छोटो समयमै थाङ्का लेखनको आधारभूत ज्ञान राम्रोसँग हासिल गर्न सफल भएको बताउँदै अब प्राप्त सीपका आधारमा स्वरोजगार बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले गाउँपालिकाले यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तर प्राथमिकतामा राख्ने बताउनुभयो।
उद्योग वाणिज्य कार्यालय धुलिखेलका प्रमुख रविन घिमिरेले सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी रोजगार र आयआर्जनसँग जोड्न आग्रह गर्नुभयो। उहाँले थाङ्का लेखनको आधारभूत सीप हासिल गरेसँगै सहभागीहरूले घरमै बसेर व्यावसायिक रूपमा काम गर्न सक्ने बताउँदै आगामी वर्ष उन्नत (एड्भान्स) तालिम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तालिमका मुख्य प्रशिक्षक विजय लामाले नेपाली थाङ्का कलाको अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको र यसको निर्यातबाट उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना रहेको बताउनुभयो। उहाँका अनुसार एक महिनाको तालिम आधारभूत ज्ञानका लागि पर्याप्त भए पनि पूर्ण दक्षता हासिल गर्न कम्तीमा छ महिनासम्म निरन्तर अभ्यास आवश्यक पर्दछ।
सहभागी युवती सोनी लामाले तालिमले आत्मनिर्भर बन्ने आत्मविश्वास जगाएको बताउँदै थप उन्नत तालिमको अवसर पाए नेपालमै बसेर व्यावसायिक रूपमा अघि बढ्न सकिने विश्वास व्यक्त गर्नुभयो।