विपद्को एक वर्ष नपुग्दै बेथानचोकमा ३ सय ७२ किलोमिटर सडक मर्मत, कृषि र पशुपालनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम

  • काभ्रे खबर
  • / अर्थनीति /
  • २०८२ अषाढ १०, मंगलबार (४ महिना अघि)
  • ३३८ पटक पढिएको

विपद्को एक वर्ष नपुग्दै बेथानचोकमा ३ सय ७२ किलोमिटर सडक मर्मत, कृषि र पशुपालनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम

बेथानचोक : गत असोज १०, ११ र १२ गते अविरल वर्षापछि गएको बाढी–पहिरोले क्षतिग्रस्त बनेको बेथानचोक गाउँपालिकाले एक वर्ष नपुग्दै ३ सय ७२ किलोमिटर सडक मर्मत गरेको छ । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस विषयको जानकारी दिएका हुन् । प्रदेश तथा संघ सरकारसँगको समन्वयमा पूर्वाधार निर्माण कार्य थप अगाडि बढाइने उनले बताए ।

मंगलबार सत्रौं गाउँसभामा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । विपद्ले राजश्व संकलनमा कमी ल्याएको र प्रदेश तथा संघीय सरकारबाट प्रतिबद्धताअनुरुप राजश्व बाँडफाँडको रकम तथा समानीकरण अनुदान प्राप्त नभएको हुँदा बेथानचोक सरकार व्यापक बजेट घाटामा रहेको उनले बताए ।
कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिनाले आर्थिक वर्षका लागि बिनियोजित कुल ६४ करोड ७३ लाख ५ हजार ३ सय ४४ रुपैयाँको बजेट प्रस्तुत गरिन् ।
४ प्रतिशत ब्याजदरमा २० लाखसम्म ऋण
सरकारले कृषि र पशुपालनमा सुधार, पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माणमा जोड दिनेगरी बजेट ल्याएको छ । विदेशबाट फर्केका युवालाई ४ प्रतिशत ब्याजदरमा २० लाखसम्म ऋण उपलब्ध गराउने बेथानचोक सरकारको घोषणा छ । त्यस्तै कृषि क्षेत्रको आधुनिकीकरण र बजारीकरणमा टेवा दिनेगरी कोशेली घर स्थापना, माटो परीक्षण गरी वैज्ञानिक खेती, रैथाने बाली प्रवद्र्धन र बिउ बैंक बिस्तार गर्नेजस्ता कार्यक्रम ल्याइएका छन् । छिमेकी स्थानीय तहहरुसँगको समन्वयमा पूर्वाधार निर्माण कार्यलाई थप अगाडि बढाइने, उज्यालो बेथानचोक अभियानअन्तर्गत सोलार बत्ती जडान गर्नेलगायत कार्यक्रम राखिएको जानकारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले दिए । नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि बेथानचोकलाई हाइकिङ सिटीको रूपमा विकास गर्ने, तीनतले झरना र वैश्णव पार्कको स्तरोन्नति गर्ने, पदमार्गहरूको विकास गर्ने जस्ता कार्यक्रमहरू समावेश छन्। ‘बेथानचोक सफारी सञ्चालन गर्ने र गुम्बाडाँडा भ्यू टावर जस्ता पुराना योजनाले पनि यसपटक निरन्तरता पाएका छन् । त्यस्तै श्रमलाई सीपसँग जोड्ने, सीपलाई प्रविधिसँग जोड्ने र प्रविधिलाई उत्पादनसँग जोड्ने गरी एडभान्स तालिम सञ्चालन गरिने तथा महिला उद्यमशीलता विकासमा जोड दिने घोषणा गरिएको छ ।
शिक्षा क्षेत्रमा विद्यार्थीको प्रोत्साहनका लागि छात्रवृत्ति, छोरी बुहारीलाई निशुल्क शिक्षाको व्यवस्थालगायत पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् । शिक्षकको क्षमता विकास, प्रविधिमैत्री शिक्षण, स्वास्थ्य क्षेत्रमा २४ घण्टा सेवा, विशेषज्ञ स्वास्थ्य शिविर, नसर्ने रोग नियन्त्रण जस्ता कार्यक्रमहरूले पनि निरन्तरता पाएका छन् ।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस