पाँचखाल /जिल्लाको पाँचखाल नगरपालिकाले ८२ करोड ५१ लाख ८४ हजार ८ सय २ रुपैयाँको बजेट ल्याएको छ।
मंगलबार नगर सभाको १७ औं अधिवेशनमा नगरप्रमुख महेश खरेलले नीति तथा कार्यक्रम र उपप्रमुख सूर्यमाया दनुवारले बजेट सार्वजनकि गर्नुभएको हो । जसमा चालुतर्फ १५ करोड, पुँजीगत तथा कार्यक्रम खर्चका लागि २९ करोड ३६ लाख ८८ हजार ८०२ विनियोजन गरिएको छ ।
यस्तै सशर्त योजना कार्यक्रम समपुरक विशेषतर्फ ३८ करोड १४ लाख ९६ हजार विनियोजन भएको उपप्रमुख दनुवारले जानकारी दिनुभयो । जसमा बजेटको अनुमानित स्रोतमा संघीय सरकार सशर्त अनुदान २८ करोड ५२ लाख, संघीय सरकार समपूरक अनुदान पुँजीगतबाट ९० लाख, प्रदेश सरकार सशर्त अनुदानबाट २ करोड ६७ लाख ९६ हजार प्राप्त हुने अनुमान छ।
कृषिलाई उच्च प्राथमिकता
बजेट अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख महेश खरेलले पाँचखाल नगरको मुख्य आर्थिक आधारको रुपमा रहेको कृषि क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाउँदै यान्त्रिकीकरण तथा विशिष्टीकरणमा उच्च प्राथमिकता दिइने बताउनुभयो । नगरको दिगो कृषि विकासका लागि नेपाल सरकार, प्रदेश सरकार एवं सम्बन्धित गैरसरकारी संघसंस्थाहरुसँग सहकार्य गरिने उहाँको भनाइ छ । यस्तै कृषि क्षेत्रमा बढिरहेको विभिन्न रसायन तथा विषादीको विक्रीवितरण तथा प्रयोगलाई नियमन तथा व्यवस्थापन गरिने, नेपाल सरकारले विक्रीवितरण गर्न निषेध गरेका विषादीहरुको प्रयोगलाई कानुनी दायरामा ल्याई नियन्त्रण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
गैरसकारी संघसस्था, कृषि सहकारी संस्था लगायतका संघ संस्थाको सहयोग एवं साझेदारीमा नगरका सबै वडामा थप प्रभावकारीरुपमा आइपिएम पाठशाला संचालन गरिने, रसायन तथा विषादीको प्रयोगबाट माटोको जैविक गुणमा आउने ह्रास, मानव स्वास्थ्यमा पर्ने असरको बारेमा कृषक पाठशाला एवं सार्वजनिक संचारको माध्यमबाट व्यापक जनसचेतना प्रवाहका कार्यक्रम संचालन गरिने उल्लेख छ । कृषिमा जैविक मल, जैविक विषादी लगायत जैविक तथा प्राङ्गारिक प्रविधिमा प्रोत्साहन गर्दै पाँचखाल नगरलाई दिगो कृषि शहरको रुपमा स्थापित गरिने प्रमुख खरेलले बताउनुभयो
कृषियोग्य भूमिको संरक्षण, बाँझो जमिनको उपयोग र करार खेतीलाई प्रवर्द्धन गर्न नेपाल सरकार र बागमती प्रदेश सरकारसँग समन्वय एवं सहकार्य गरिने र रैथाने बाली, बीउ, नश्ल र कृषि जैविक विविधतालाई संरक्षण गरिने पनि प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । युवाहरुलाई कृषि कर्मतर्फ आकर्षित गरी स्वदेशमै कृषि उद्यम गर्न सहयोगको लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सहजिकरण गरिने छ । स्थानीय वित्तीय संस्था, सहकारी संस्थामार्फत विपन्न कृषकहरुलाई ५० हजारसम्मको कृषि ऋणमा निश्चित प्रतिशत व्याज अनुदान दिने व्यवस्था मिलाइने छ । स्थानीय कृषकहरुबाट उत्पादित कृषि उत्पादनलाई सोझै विक्रीवितरण गर्न हाटबजार संचालन गरिने पनि उल्लेख गरिएको छ ।
स्वास्थ्यमा के छ ?
यस्तै पाँचखाल आधारभूत अस्पताललाई आवश्यक जनशक्तिको व्यवस्थापन गरी पूर्वाधार औजार उपकरण सुलभ फार्मेसीसहित अस्पताल संचालनमा ल्याइने छ । नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरुको व्यवस्था गरी तोकिएबमोजिमको निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ ।
जीवनपथको अवधारणाअनुरुप सुरक्षित मातृत्व, वाल स्वास्थ्य, किशोरकिशोरी तथा प्रजनन स्वास्थ्य, प्रौढ तथा जेष्ठ नागरिक लगायतका विशेषज्ञ सेवाको सुलभ पँहुचको लागि सरकारी, निजी र गैरसरकारी संस्थाहरुसँग सहकार्य र समन्वय गरी सुनिश्चित गरिनेछ । वृद्ध अशक्त, असहाय, अतिविपन्न र गर्भवती, सुत्केरी महिलाहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
सामाजिक न्यायको सिद्धान्तमा रही विपन्न नागरिकको पहिचान गरी साथै अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगरपालिकाबाट निःशुल्क स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यलाई निरन्तरता दिइनेछ । साथै स्वास्थ्य बीमामा आवद्ध नभएका नागरिकहरुलाई बीमा कार्यक्रममा आवद्ध हुन प्रचारप्रसार गरी उत्प्रेरणा गरिनेछ । आयुर्वेद, प्राकृतिक चिकित्सा तथा योग कार्यक्रम संचालन गरिने पनि नगरपालिकाको योजना छ ।
विद्यालय स्वास्थ्य कार्यक्रम (स्वास्थ्य शिक्षा र स्वास्थ्य प्रवर्द्धन) र पोषण कार्यक्रमलाई सुदृढीकरण गरिनेछ भने नगरभित्रका ७० वर्षमाथिका जेष्ठ नागरिकहरुको त्रैमासिकरुपमा सम्बन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुमार्फत स्वास्थ्य जाँच गरी उच्च रक्तचाप, मधुमेह लगायतका रोगहरुको निःशुल्क उपलब्ध हुने औषधिहरु वितरण गरिने उल्लेख छ ।