
बनेपा / बनेपाको अभाष बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाले शेयर सदस्हरूलाई पायक पर्ने पनौती, भकुण्डे र बनेपामा इकाइगत साधारण सभा गरी १६औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो।

संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा साधारणसभा समुद्घाटन गरिएको थियो । साधारण सभाले संस्थाको कार्य प्रगती प्रतिवेदन, आर्थिक प्रतिवेदन, नीति तथा कार्यविधि शंसोधन र उत्कृष्ट शेयर सदस्य र कर्मचारीलाई सम्मान गरेको छ । साधारणसभामा आर्थिक वर्ष २०८१/ २०८२ मा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु सुकदेव लाखे श्रेष्ठ, शारदा श्रेष्ठ, बाल बचतकर्ता प्रणव कायस्थ, ऋण उत्कृष्ट कारोबार गर्ने स्नेहा रानामगर खड्कालाई सम्मान गरियो । शेयर सदस्यका छोराछोरीहरुका तर्फबाट एस. ई. ई परिक्षामा ३ दशमलव ८५ सिजिपिए ल्याउने रोनिशा सञ्जेल र ३ दशमलव ८२ सिजिपिए ल्याउने इशान मानन्धर सम्मानित भएका छन । प्रशासन विभागका अधिकृत श्रीकृष्ण सुवाल उत्कृष्ट कर्मचारी घोषित भएका छन ।

संस्थाले आर्थिक वर्ष २०८१/२०८२ मा ६७ लाख ८ हजार ४ सय ३९ रुपैयाँ खुद नाफा आजर्न गरेको छ । ९३ करोड ९ लाख ४८ ६ सय ३१ रुपैयाँ कारोबार गरेको संस्थाले ८ लाख ४७ हजार ३ सय ४० रुपैयाँ आयकर तिरेको छ । शेयर पुँजी ३ करोड ७६ लाख रहेको सहकारीले ६६ करोड ५७ लाख २ हजार १ सय ९२ ऋण लगानी गर्न सफल भएको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुवास बैद्यले जानकारी दिनु भयो ।
संस्थाका अध्यक्ष गु्रुबेन तौजलेले बचत तथा ऋणको कारोबारसंगै सहकारीले सामाजिक क्षेत्रमा पनि उत्तिकै काम गरेको बताउनुभयो ।
सामाजिक काममा पनि उत्तिकै सकृय सहकारीले २०७४ सालबाट ‘छोरी अभियान’ सञ्चालन गरेर प्रत्येक नयाँ बर्ष र संस्थाको बार्षिक उत्सवका दिन शिर मेमोरियल अस्पतालमा जन्मेका पहिलो छोरीलाई १० हजार प्रदान गर्दै आएको छ । मुटु सम्बन्धी स्वास्थ्य शिविर, रक्तदान, छात्रवृति वितरण, जेष्ठ नागरिक सम्मान लगायतका सामाजिक काम गर्दै आएको छ ।