
काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौतीको ३१ औं वार्षिक साधारण सभा सहकारी विभागबाट जारी सहकारी संस्थाको साधारण सभा संचालन (कार्यव्यवस्था) निर्देशिका, २०७६ एवं सहकारी नियमन प्राधिकरणबाट जारी “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारण सभा संचालन सम्बन्धमा जारी निर्देशन” को पूर्ण पालना गर्दै मिति २०८२ कात्र्तिक २८ र २९ गते एकाइगत रुपमा सातवटा एकाइमा सम्पन्न भएको छ ।
सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम यस वर्ष औपचारीक कार्यक्रमलाई प्राथमिकतामा नराखी पूर्व निर्धारीत समान कार्यसूची अनुुसार साधारण सभाको पहिलो दिन बनेपा एकाइ, काठमाण्डौ एकाइ, पाँचखाल एकाइ र भकुण्डे एकाइमा र दोस्रो दिन पनौती एकाइ, कुशादेवी एकाइ र ढुंखर्क एकाइ गरी सात वटा एकाइमा ६५.८३ प्रतिशत सदस्यहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मुकुन्द शर्माको सभाध्यक्षामा संचालित पनौती एकाइ अन्तर्गत मुख्य कार्यालय पनौती ४, टौखालमा सम्पन्न साधारण सभा कार्यक्रममा संस्थापक अध्यक्ष एवं बागमती प्रदेश सहकारी संघका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, संस्थाका निवर्तमान अध्यक्ष एवं जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकका सचिव प्रकाश बन्जारा, निर्वाचन उपसमिति संयोजक इन्द्र प्रसाद अधिकारी समेतको उपस्थितिमा संस्थाका संस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठ र संस्थापक सदस्य सुरथ थापाद्वारा संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी साधारण सभाको शुभारम्भ गरिएको थियो । संस्थामा रिक्त रहेको लेखा सुपरिवेक्षण समितिको सदस्य (महिला) एक पदमा उपनिर्वाचन मार्फत पनौती ६ की रन्जु सापकोटा निर्विरोध निर्वाचित भएकी छिन् ।
काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाण्डौ, मकानपुर र सिन्धुली गरी ६ जिल्ला कार्यक्षेत्र रहेको संस्थाको आ.व. २०८१÷०८२ को अन्तसम्ममा कुल ६० हजार ८ सय ६६ जना शेयर सदस्य, कुल पुूजी रु. ५,९८,३०,९३,९३१।००, जगेडा कोष रु. ४६,५५,८३,९८२।००, शेयर पूँजी रु. ४९,३८,०८,६००।००, बचत संकलन रु. ४,२७,९८,७४,६९३।००, लगानीमा रहेको ऋण रु. ४,३६,३०,०८,९८६।०० र आ.व. २०८१।०८२ मा रु. ४,०३,१२,१५४ नाफा आर्जन गरेको थियो । संस्थाको आ.व. २०८१।०८२ को प्रति शेयर आम्दानी रु. ७।९२ रहेको छ ।
