
धुलिखेल/ ऋण लगानी, असुली व्यवस्थापन तथा देखिएका समस्या र समाधानका उपायहरु सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम कार्यक्रम काभ्रेमा सुरु भएको छ ।
जिल्ला सहकारी संघ लि काभ्रेको आयोजना र बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालय, हेटौडाको लागत साझेदारीमा “ऋण लगानी, असुली व्यवस्थापन तथा देखिएका समस्या र समाधानका उपायहरु” सम्बन्धी दुईदिने तालिम संचालन भएको हो ।
काभ्रेको धुलिखेल स्थित सनराईज रिसोर्टमा माघ ११ र १२ गतेसम्म सञ्चालित तालिममा जिल्लामा सञ्चालित प्रारम्भिक सहकारी संस्थाहरुका ऋण उपसमिति सदस्य तथा ऋण विभागमा कार्यरत कर्मचारीहरु गरी जम्मा ८३ जनाको सहभागिता रहेको छ ।
तालिममा सहकारी क्षेत्रमा लामो अनुभव राख्नु भएका सहकारी विज्ञ कुवेर निरौलाले ऋण लगानी प्रक्रिया, जोखिम मूल्यांकन, प्रभावकारी असुली व्यवस्थापन, देखा परेका व्यवहारिक समस्या तथा तिनको समाधानका उपायहरु सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख व्यक्तित्व जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठ सभापतित्वमा सञ्चालित कार्यक्रममा बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रशासन शाखाका अधिकृत भाष्कर घिमिरे, बागमती प्रदेश सहकारी संघ लि. का कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, संघका पदाधिकारीहरु, सञ्चालक समितिका सदस्यहरु, लेखा तथा सुपरिवेक्षण समितिका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।
सहकारी संस्थाको दिगोपन र वित्तीय अनुशासन कायम गर्न ऋण लगानी तथा असुली व्यवस्थापन प्रभावकारी हुनु अत्यावश्यक रहेको उल्लेख गर्दै यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले सहकारी संस्थाको समग्र कार्यसम्पादनमा सकारात्मक योगदान पुर्याउने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम सञ्चालन संघका सचिव प्रकाश बन्जाराले गर्नुभएको थियो भने स्वागत मन्तव्य संघका कोषाध्यक्ष तथा कार्यक्रम सह–संयोजक अर्जुन प्रसाद सापकोटाले व्यक्त गर्नुभयो। कार्यक्रम संयोजन शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिकी संयोजक शान्ति लामा तामाङले गर्नुभएको हो।
दुई दिनसम्म सञ्चालन हुने यस तालिममार्फत सहकारी संस्थाहरुमा ऋण लगानी तथा असुली व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्य राखिएको संघका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले जानकारी गराउनु भएको छ ।