
काभ्रेपलाञ्चोक । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संघ–संस्थालाई लक्षित गरी सहकारीको वर्तमान परिवेश, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन, दर्ता तथा आगामी दिशानिर्देश विषयक जिल्लास्तरीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेको आयोजनामा तथा कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेपलाञ्चोकको प्राविधिक सहयोगमा मिति २०८२ माघ २६ गते बनेपा, काभ्रेपलाञ्चोकमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका सभापति जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठ रहनुभएको थियो भने प्रमुख अतिथि तथा प्रशिक्षकका रूपमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य डा. रमेश चौलागाई उपस्थित रहनुभएको थियो। कार्यक्रम सञ्चाल प्रकाश बञ्जाराले गर्नुभएको थियो।
स्वागत मन्तव्यमा महिला उपाध्यक्ष मिरा सत्यालले सहकारी क्षेत्रमा देखिएका चुनौती र सुशासन सुदृढीकरणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
प्रशिक्षक डा. चौलागाईले सहकारीको अवस्था, प्राधिकरणको भूमिका, निर्देशन, दर्ता प्रक्रिया तथा आगामी नीतिगत दिशानिर्देशबारे जानकारी दिँदै कानुनी मापदण्ड, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रणमा जोड दिनुभयो।
कार्यक्रममा जिल्लाका ८० वटा सहकारी संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अन्त्यमा सभापति श्रेष्ठले सहकारी क्षेत्रलाई अनुशासित र दिगो बनाउन यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।