
काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ लि. काभ्रे (डिस्कोफ) ले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने भएको छ। “उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथमिकता” भन्ने मूल नाराका साथ सहकारी दिवस मनाउन लागिएको संघले जनाएको छ।
संघद्वारा जारी सूचनाअनुसार नेपालको सहकारी अभियान औपचारिक रूपमा सुरु भएको ६९ वर्ष प्रवेश गरेको सन्दर्भमा जिल्लाभित्र क्रियाशील सम्पूर्ण सहकारी संघ/संस्था, अभियन्ता तथा सहकारीकर्मीहरूलाई लक्षित गरी विविध कार्यक्रमहरू तय गरिएको हो। संघले दिवसलाई औपचारिकतामा सीमित नराखी सहभागीमूलक र उपलब्धिमूलक ढंगले मनाउने लक्ष्य लिएको छ।
कार्यक्रमअन्तर्गत मिति २०८२ साल चैत्र १६ गते “सहकारीमा महिला उद्यमशिलता विकास सम्बन्धी” एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ। यस कार्यक्रममार्फत महिला सदस्यहरूको उद्यमशिलता अभिवृद्धि, स्वरोजगारका अवसरहरूको खोजी तथा सहकारीमार्फत आयआर्जन वृद्धि गर्ने विषयमा छलफल गरिनेछ।
त्यसैगरी, मिति २०८२ चैत्र १८ गते “अन्तर सहकारी मैत्रिपूर्ण फुट्सल प्रतियोगिता” आयोजना गरिनेछ। प्रतियोगितामा जिल्लाभित्रका सहकारी संस्थाहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने तथा सहकार्यको भावना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
मुख्य कार्यक्रम मिति २०८२ चैत्र २० गते विविध गतिविधिसहित सम्पन्न गरिनेछ। उक्त दिन बिहान ८ बजे सहकारी अभियन्ताहरूको तस्बिरमा माल्यार्पण गरिनेछ भने नेपालको राष्ट्रिय झण्डा तथा सहकारीको झण्डा भण्डोत्तलन गरिने कार्यक्रम रहेको छ। साथै संघ परिसरमा वृक्षारोपण कार्यक्रम समेत सञ्चालन गरिनेछ।
सोही दिन बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिनेछ। रक्तदानसँगै सम्पन्न फुट्सल प्रतियोगिताका विजेता तथा उपविजेता टिमहरूलाई पुरस्कार वितरण गरिनेछ। यसका अतिरिक्त सहकारीकर्मीहरूबीच सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि सञ्चालन गरिने संघले जनाएको छ।
संघले जिल्लाभित्रका सम्पूर्ण सहकारी संघ–संस्था, सहकारीकर्मी तथा सरोकारवालाहरूलाई उक्त कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाई सहकारी अभियानलाई थप सशक्त बनाउन अनुरोध गरेको छ।