
बनेपा/ बनेपामा निःशुल्क छाला परीक्षण शिविर सम्पन्न भएको छ।
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. युवाज्योति सेवा केन्द्र बनेपा र BPW बनेपा शाखाको संयुक्त आयोजनामा तथा CWC पोलीक्लिनिकको प्राविधिक सहयोगमा मंगलबार उक्त शिविर सञ्चालन गरिएको हो।
BPW बनेपा शाखाकी अध्यक्ष सरिता पलाञ्चोकेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा BPW केन्द्रिय सदस्य इश्वरी बादे श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने सहकारीकी उपाध्यक्ष भवानी थापाको विशिष्ट आतिथ्यता रहेको थियो।
शिविरमा आधुनिक मेसिनमार्फत छाला परीक्षण गरिनुका साथै वरिष्ठ छाला रोग विशेषज्ञ डा. सुनौला शाक्यले सहभागीहरूको जाँच तथा आवश्यक परामर्श प्रदान गर्नुभएको थियो।
शिविरबाट ८७ जनाले निःशुल्क सेवा लिएका थिए। जसमध्ये छाला सम्बन्धी समस्या देखिएका बिरामीहरूलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ। साथै थप उपचार आवश्यक पर्ने बिरामीहरूलाई सम्बन्धित निकायसँग समन्वय गरी उपचारका लागि सिफारिस गरिएको थियो।
स्थानीयस्तरमा स्वास्थ्य सेवा पहुँच विस्तार र सचेतना अभिवृद्धिमा शिविरले महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास रहेको छ।